समाज

काबुलबाट रातारात यसरी भागियो लन्डन

सन्तोष अधिकारी |
भदौ १, २०७८ मंगलबार १५:१२ बजे

 काठमाडौँ - तालिबानले अफगानिस्तानलाई चारैतिरबाट घेरिसकेको थियो । अफगानिस्तानको राजधानी काबुलमा मात्र तालिबान आइपुगी सकेका थिएनन् । तर जतिबेला पनि आउन सक्छन् भन्ने अनुमान चाहिँ थियो । नभन्दै एक दुई दिनमै तालिबान काबुल छिरिसकेको सूचना ब्रिटिस एम्बेसीमा आयो । सूचना दिँदै गर्दा हामीलाई जति बेला पनि यहाँबाट जानुपर्ने हुन सक्छ भनेर तयार रहन भनिएको थियो । अफगानिस्तानको  ब्रिटिस एम्बेसीमा हामी नेपाली मात्रै १ सय ११ जना कार्यरत थियौँ ।  

१४ तारिखको दिन हो । तालिबानले अफगानी सरकारलाई सत्ता छोड् नत्र आक्रमण गर्छाैँ भनेको थाहा पाएपछि हामीलाई १४ गते राति ९ः३० बजे नै एम्बेसीले  इमर्जेन्सी प्लेन चार्टर गरेर दुबई पुर्‍यायो । त्यहाँ हामी ब्रिटिसकै क्याम्पमा १२ घण्टा बस्यौँ । हामीसँग लन्डनको भिसा थिएन तर आपतकाल भएर होला भिसाको मतलब पनि गरेनन् । अहिले हामीलाई ब्रिटिस सरकारले नै लन्डनमा राखेको छ । यहाँ हाम्रो खाने बस्ने सबै व्यवस्था, हामीलाई लैजाने कम्पनी गार्डवर्ल्ड कम्पनी (सेक्युरिटी कम्पनी) ले मिलाएको छ ।  हामीलाई नेपाल एफसीओ कम्पनीले पनि ठूलो सहयोग गरेको छ ।


अफगानिस्तानमा रहेको जर्मन एम्बेसीमा रहेका नेपालीहरू चाहिँ त्यतै अड्किएका छन् । उनीहरूसँग हाई-हेल्लो चाहिँ हुन पाएको छ । तर, उनीहरुलाई खान लाउन, बस्न असाध्यै अप्ठ्यारो छ । उनीहरू तालिबानले कब्जा गरेको ठाउँमा अड्किएकाले कष्टमा छन् । कोही चाहिँ काबुल एयरपोर्टमा छन् भन्ने सूचना अहिले पाइएको छ ।
अफगानिस्तानमा सबै नेपालीहरू हामी जस्तै लिगल रुपमा गएका छैनन् । धेरै 'इलिगल' पनि छन् । उनीहरूको अवस्था चाहिँ अहिले नै के कस्तो छ भन्न सकिँदैन ।
म अफगानिस्तान २०१६ को डिसेम्बरमा आएको हुँ । त्यो क्रममा कयौँ पटक तालिबानले आक्रमण गरेको देखियो । एक पटक त हामी बसेको ठाउँ नजिकै पनि आक्रमण भयो । त्यो बेला मेरो ड्युटी बाहिर थियो । पछि एम्बेसीले हामीलाई सुरक्षित ठाउँमा एम्बेसीभित्रै राख्यो । 

तालिबानीको सबैभन्दा डरलाग्दो पक्ष भनेको आत्माघाती बम हमला हो । उनीहरू कहाँ कति बेला त्यस्तो हमला गर्छन् पत्तै नहुने । उनीहरूका टार्गेट ठूला मानिस र कूटनीतिक नियोगका पदाधिकारी हुन्थे तर त्यस्ता मानिसले पहिले नै सूचना पाएर भाग्ने वा सुरक्षित हुने । अन्तिममा ज्यान गुमाउने चाहिँ निर्दोष जनता पर्थे । 

लन्डनमा खान बस्ने सबै व्यवस्था हामीलाई लैजाने कम्पनी गार्डवल्र्ड कम्पनीले मिलाएको छ । अब हामीलाई आज साँझ ७ः३५ बजेको कतार एयरवेजको फ्लाइटमा नेपाल पठाउन लागेको छ । टिकट सबै उसैले काटिदिएको छ । कहिले घर पुगौँला र लामो सास फेरौँला भएको छ ।

अहिले त हामी लन्डन एयरपोर्टमै बसिरहेका छौँ । यहाँ लक्ष्मण गुरुङले रातभर नसुतेर हाम्रोबारे चासो लिने, खाने बस्ने कस्तो व्यवस्था छ सोध्ने, नेपाल फिर्ता गर्न आवश्यक सबै प्रक्रिया मिलाउने काम गर्नु भएको छ । कम्पनीले २ महिनाको तलब नेपाल गएपछि पनि हालिदिने भनेको छ । पछि शान्ति भयो भने ब्रिटिस एम्बेसीले फेरि हामीलाई सेक्युरिटीमा राख्छु पनि भनेको छ । के हुन्छ थाहा छैन । आज यहाँ भएका २६ जना दुबई हुँदै आउने कुरा छ भने ८४ जना कतार हुँदै आउँछौँ । काबुलबाट लन्डन पुगेका गाेरखा अजिरकोटका ढुन्डीराज अधिकारीसँगको गरिएको कुराकानीमा आधारित   


Author

सन्तोष अधिकारी

अधिकारी राजनीति तथा अन्य समसामयिक विषयमा कलम चलाउँछन् ।


थप समाचार
x