समाज

नेपाली भूमि लिमी लाप्चाबाटै मानसरोवर कैलाश दर्शन, भारतीय तीर्थालु हुम्लामा

इकागज |
भदौ ७, २०७८ सोमबार १८:४७ बजे

तस्बिर सामाजिक सञ्‍जाल

सिमकोट - झण्डै एक वर्षसम्म विदेशी पर्यटक आगमन नभएको हुम्लामा केही दिनदेखि पर्यटक पुग्न थालेका छन् । मानसरोवर कैलाश दर्शनका लागि भारतीय तीर्थालु हुम्ला पुग्न थालेका हुन् । कोरोना सङ्क्रमणले चीनसँगको हिल्सा नाकाको रुट खुल्ला नभए पनि जिल्लाको उत्तरी नाम्खा गाउँपालिकाको लिमी लाप्चाबाटै मानसरोवर कैलाशको दर्शन गर्न मिल्ने भएकाले भारतीय तीर्थालु आउन थालेका हुन् । 

भारतीय तीर्थयात्री हुम्लाबाटै मानसरोवर दर्शनका लागि काठमाडाैँबाट हवाईजहाजमार्फत जिल्ला पुग्न थालेपछि पर्यटन व्यवसायीले कोरोना सङ्क्रमणबाट बच्नका लागि स्वास्थ्य मापदण्ड पूर्णरूपमा पालना गरेर तयारी थालेका छन् । नेपाली भूमि लिमी लाप्चाबाट मानसरोवर कैलाशको दर्शन र पूजापाठ  गर्न सकिने भएपछि भारतीय तीर्थयात्रीका लागि नेपाली खाना पकाउने र पथप्रदर्शकको टोली जिल्लामा पुगेका छन् । 


भारतीय पर्यटक नेपालगञ्ज हुँदै हुम्ला आउन सुरु भएको छ । आन्तरिक तथा बाह्य पर्यटक जिल्लामा आउन थालेपछि हुम्लाका होटेल व्यवसायीमा खुसीयाली छाएको छ । हालसम्म ४३ जना व्यवसायी सिमकोट पुगिसकेको र अझै १२  जना आउने तयारीमा रहेका छन् । पहिलो चरणमा कुक(खाना पकाउने), पथप्रदर्शक र सामग्री सिमकोट आइपुगेका छन् । आइतबारदेखि भारतीय सद्गुरु जग्गी वासुदेवसहित ५० जनाको भारतीय टोली हुम्ला आउने भएको छ । 

केही दिनमा जिल्ला पुग्ने भारतीय सद्गुरुको टोली नेपालगञ्जबाट सिमकोट पुगेपछि पैदल मार्ग हुँदै लाप्चा पुगेर मानसरोवरको दर्शन गर्नुका साथै लिमी लाप्चाबाट पूजापाठ गर्ने योजना रहेको सोही टोलीका र्दोर्ज शेर्पाले बताए । सद्गुरुको टोलीमा ५० भारतीय तीर्थालु र अन्य नेपाली गरी करिब १५० जना रहेको शेर्पाले बताउँछन्  । सामान लिमी लाप्चा पुर्‍याउनका लागि १२ वटा बोलेरो बुकिङ गरेको  उनको भनाइ छ । 

अन्य तीर्थालु सबै पैदल हिँडेर लाप्चा जाने भएको शेर्पाले जानकारी दिए । अहिले सद्गुरु बस्नका लागि सदरमुकामको खेलमैदानमा ५०/६० वटा पालको व्यवस्था गरिएको गरिएको छ । यसअघि भारतीय तीर्थयात्रीको एक टोली हुम्ला पुगेर नोपाली भूमि लिमी लाप्चाबाट मानसरोवर दर्शन गरेर फिर्ता भएको छ । 

सङ्क्रमण बढ्न सक्ने भन्दै असन्तुष्टि 

ठूलो सङ्ख्यामा स्वदेशी तथा विदेशी पर्यटक हवाईमार्गबाट हुम्ला पुग्न थालेपछि यहाँका स्थानीयवासीले असन्तुष्टि जनाएका छन् । जिल्लामा अझै कोभिड सङ्क्रमणको दर घटिनसकेका कारण ठूलो सङ्ख्यामा विदेशी आउँदा उनीहरूको कोभिड परीक्षण नगरेको भए थप सङ्क्रमण बढ्न सक्ने सिमकोट–६ निवासी दशरथ रावतले बताए । 'विदेशी पर्यटक आउनु राम्रो कुरा हो, हाम्रो आयस्रोतसमेत बढ्छ तर यस्तो महामारीको समयमा हुल बाँधेर जिल्ला पुग्नु राम्रो कुरा होइन । भारतमै पनि सङ्क्रमणको अवस्था भयावह छ, उनीहरु जिल्ला पुग्दा थप जटिल समस्या निम्तिन सक्छ' उनले भने ।   रासस


Author

थप समाचार
x