समाज

रोजगारीको खोजी

छाक टार्न भारत भरोसामा कर्णालीका युवा

मजदूरीका लागि परदेश जान भाडा खोज्दै !

जितेन्द्र थापा |
भदौ ११, २०७८ शुक्रबार १६:२६ बजे

सुर्खेत - वीरेन्द्रनगर नगरपालिका–१३ का नमन विश्वकर्मा २३ वर्षका भए । भारत नगए उनको रोजीरोटी चल्दैन । करिब पाँच वर्ष भारतको एक होटेलमा कुकको काम गरी समय बिताए । महिनामा २० देखि २५ हजार कमाउने कोरोनाका कारण उनको रोजगारी गुम्यो ।

रोजगारी गुमाएपछि स्वदेशमै केही गर्ने जोश–जाँगरका साथ नेपाल फर्के । उनी गाउँमा फर्केको पनि नौ महिना भइसक्यो । उनलाई परिवार पाल्न मुस्किल छ । घरको जेठो छोरो भएकाले पनि उनलाई धेरै जिम्मेवारी थपिएको छ । यसरी बेरोजगार भएपछि भाइबहिनी र आमाबुबा कसरी पाल्ने भिन्ने चिन्ताले रातो दिन पिरोल्छ । 


स्वदेशमा गरिखाने उपाय केही नपाएपछि कोरोना जोखिममै उनी भारत जान गाडी भाडा खोजिरहेको बताउँछन् । ‘भारतको गुजरातको एक होटेलमा काम गर्थे, कोरोनाले छाडेर आए,’ उनले भने, ‘नेपालमा गरी खाने उपाए केही ननिस्केपछि भारत जान गाडी भाडाको खोजीमा छु ।’

आफूसँग भएको सीप स्वदेशमै सदुपयोग गर्न चाहे । तर कामका लागि ठाउँ–ठाउँमा धाए । तर कतै काम पाउन सकेनन् । कालिकोटको रास्कोट नगरपालिका भीमबहादुर बिक पनि स्देशमै जागीरका लागि भौतारिरहेका छन् । विगतमा उनको आय–आर्जनको मुख्य स्रोत भनेको भारत हो । 

कोभिड १९ का कारण गाउँ फर्केका उनको दैनिकी गोरु गोठाला गएर साथी–भाइका कुरा सुन्दैमा दिन बित्छ । ‘म भारत जान थालेको पनि ८÷९ वर्ष भयो, त्यहीको आम्दानीले रोजीरोटी चल्थ्यो’ उनी भन्छ्न् ‘कोरानापछि गाउँमा बेरोजगार छु, दिउँसो गाई–गोरु हेर्न जंगलतिर त साँझ साथीभाइका गफ सुन्न ठिक्क हुन्छ ।’

सात जनाको परिवार पाल्नुपर्ने उनलाई बाध्यता छ । तर, यहाँ बेरोजगार भएर पाल्न नसक्ने भएपछि भारत जान खोज्दैछन् । केही दिन त मुख्यमन्त्री रोजगारबाट काम गरेको चार–पाँच हजार भएको थियो केही दिनमै सकियो । 

सुर्खेतका कमल बादी बेरोजगार भएकै कारण मानसिक तनावमा छन् । भारतबाट कमाएर ल्याएको कमाइले केही महिना चले पनि घरमा चामल खाने पैसा नभएको गुनासो गरे । ‘अलि–अलि कमाएर ल्याएको पैसाले केही महिना त धान्यो, तर अब त भोकै मरिन्छ कि भन्ने चिन्ता मनमा खेलिरहन्छ’ उनले भने, ‘झन् तिज नजिकै आइरहेको छ, छोराछोरीले नयाँ कपडा र खाने–कुरा भनेर सताउँछन् । यतै केही काम गरौँ त काम पाइन मुस्किल छ ।’

बिरु र भिम एक प्रतिनिधि पात्र मात्र हुन् । गाउँमा रोजगारीको पर्खाईँमा हजारौँ युवा छन् । कर्णालीका अधिकांश नागरिक भारत लगायत तेस्रो मुलुकमा छन् । अधिकांश नागरिकको भारत नगए चुलो बल्दैन । 

वीरेन्द्रनगरपालिका उपप्रमुख मोहनमाया ढकालका अनुसार, कोभिड–१९ प्रभावित हुँदै भारतबाट फर्केका नागरिकका लागि नगरपालिकाभित्र हुने विकास निर्माणका काममा मेसिनरी मानव स्रोत साधनबाटै काम लगाउने नीति ल्याएको छ । ‘हामीले साना–तिना योजनामा मेसिन बन्द गराएका छौँ, त्यस्ता योजनामा युवालाई काम दिन्छौँ’, उनले भनिन्, ‘बेरोजगार युवाका लागि उद्यमशीलतासम्बन्धी विभिन्न सीप सिकाउने नीति तथा कार्यक्रममा उल्लेख गरेका छौँ ।’

कोभिडबाट प्रभावित भएका र बेरोजगार युवाका लागि प्रदेशबाट सहुलियतमा अनुदान दिने कार्यविधि तयार हुन लागेको उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयका प्रवक्ता मुनबहादुर रावतले बताए । उनले भने, ‘कोरोनाका कारण, बन्द भएका उद्योग, रोजगारी गुमाएका युवाहरुलाई फोकस गरी कार्यक्रम ल्याउँदैछौँ । त्यसबाट प्रवावित युवाहरु समेटिनेछन् ।’


Author

थप समाचार
x