समाज

विपद् र दुर्घटनामा परेकाको उद्धारमा सेनाको सक्रियता

इकागज |
भदौ १३, २०७८ आइतबार २१:४७ बजे

काठमाडौँ – नेपाली सेनाले प्राकृतिक विपद् र दुर्घटना नियन्त्रणको कार्यलाई सक्रियतालाई जारी राखेको छ । अविरल वर्षाका कारण हाल देशका विभिन्न जिल्लामा बाढी, पहिरो, डुबान र यसप्रकारका विपद्मा परेका नागरिरको उद्धारमा सेना निरन्तर खटेको छ ।

यसैबीच सेनाले इलाम नगरपालिका– ६ गढी निवासी कमला विश्वकर्मा परिवारको शनिबार उद्धार गरेको छ । गढी निवासी विश्वकर्माको २ तले घरको गाह्रो चर्किएपछि सेनाको टोलीले परिवार सदस्यसहित घरमा रहेका सामानहरू सुरक्षित स्थानमा सारी उनीहरूलाई अस्थायी बसोबासको व्यवस्था मिलाएको सेनाले जनाएको छ । 


यस्तै सिरहा नगरपालिका –६ र १२ जोड्ने पुललाई बाढीले क्षतिग्रस्त पारेपछि अन्य सुरक्षा निकाय र स्थानीय बासिन्दाको सहयोगमा सेनाको टोलीले शुक्रबार करिब ३ सय बोरा माटो भरेर पुललाई सुचारु गरिएको सेनाले जनाएको छ । शुक्रबार नै बाँके कोहलपुर नगरपालिका – १२ स्थित सरस्वती वन इलाकामा खयरको रूख ढलेर अवरुद्ध महेन्द्र राजमार्ग खुलाइएको सेनाले जानकारी दिएको छ ।

‘शुक्रबार नवलपरासी, मध्यबिन्दु नगरपालिका – १० मा रहेको हुलाक कार्यालय डुबानमा परेपछि त्यहाँ रहेका पुण्यकान्त पोखरेल परिवारका सदस्यसहित त्यहाँ रहेका सरसामानहरू सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । शुक्रबार नै कैलाली, गौरीगंगा नगरपालिका– ३ पूर्व–पश्चिम राजमार्गमा रहेको शिवगंगा धार्मिक सामुदायिक वन इलाकामा घाँस, दाउरा गर्न गएका स्थानीय  दुई जना नदीमा आएको बाढीका कारण चारैतिरबाट थुनिएको हुँदा नेपाली सेनाको उद्धार टोलीद्वारा निजहरूको उद्धार गरिएको छ । शुक्रबार नै सोही जिल्लाको मोहन्याल गाउँपालिका – ५ स्थित मसुरियातर्फ जाने कच्ची मोटरेबल बाटो पहिरोले अवरुद्ध पारेपछि सेनाको उद्धार टोलीले पहिरो हटाउन सहयोग गरिएको छ,’ सेनाले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । 

शुक्रबार नै कैलाली, गोदावरी नगरपालिका –४ भिमदत्त राजमार्ग खण्डमा पहिरोले राजमार्ग अवरुद्ध पारेपछि ढलेको रूख हटाई राजमार्ग सुचारु गरिएको सेनाले जनाएको छ । सुनसरीस्थित रामधुनी नगरपालिका – ५ झुम्का बजारमा रहेको म्याजिक सिनेमा हलको चौथो तलामा शनिबार भएको आगलागी स्थानीय सहयोगी निकायको साथमा सेनाको विपद् व्यवस्थापन टोलीले नियन्त्रणमा लिएको सेनाले बताएको छ ।


Author

थप समाचार
x