समाज

अनाहकमा साउदीको जेलमा १ वर्ष बिताएका तपेन्द्रको कथा

घर फर्कन हत्ते गर्दा जेलको कालकोठरी

विनोद देवकोटा |
भदौ १५, २०७८ मगलवार १२:२७ बजे

काठमाडौँ - उज्ज्वल भविष्यको झिनो आशा बोकेर विदेशिन बाध्य नेपालीमध्ये कति उतै विलीन हुन्छन् । मरुभूमिमा पसिनाको आहालसँग पैसा साट्न पुगेका कतिको उतै समाधि बन्‍छ । सुन्दर भविष्य बनाउने अनगिन्ती सपना बोकेर जहाज चढेकाहरू लास बनेर बाकसमा फर्किन्छन् । विदेशी भूमिमा उनीहरूले पाउने दुःखको लेखाजोखा त कसले गरोस् !

यस्तै सपना र उज्यालो भविष्यको खोजीमा तीन वर्षअघि (२०७५ साउन २६ गते)  साउदी अरब उडेका थिए कैलालीको मोहन्याल–६ का तपेन्द्र रावल । धेरै ठूलो सपना र आकांक्षा थिएन । दुई वर्षमा फर्केर गाउँमै केही गर्ने अठोट थियो । उनको लक्ष्य थियो १० लाख कमाउने । 


अनन्त आकाश छिचोलेर खाडी पुग्दा सपना पनि छिचोलिदा रहेछन् । सपना र विपनाबीच ठूलो अन्तर देखिँदो रहेछ । दुई वर्ष काम गरेपछि उनले जाँदा लागेको खर्च उठाउनबाहेक खासै कमाउन सकेनन् । घर फर्किने तयारी हुँदै थियो कोभिड आइदियो । कोभिड महामारीका कारण जारी लकडाउनले उनी साउदीमै रोकिए । न काम थियो न नेपाल फर्किने टुंगो । ‘दुई वर्ष काम गरेँ । सोचेजस्तो कमाइ भएन,’ जाँदा भएको खर्च उठाउनेबाहेक घर खर्चसम्म चलाइयो । तीन वर्षपछि नेपाल फर्किएका उनले भने, ‘नेपाल आउन ठिक्क परेको बेला कोभिड महामारी फैलियो । नेपाल फर्किन पाइएन ।’

उसो त घर फर्किन ठिक्क परेका उनी एक्लै थिएनन् । लामो समय न बस्ने/खाने टुंगो न फर्किने निश्चय, उनीहरूको आक्रोश बढ्यो । कम्पनीमा कुरा गर्‍यो दूतावासले अनुमति दिएन भन्ने जवाफ आउँथ्यो । नेपाली दूतावासमा कुरा गर्‍यो कम्पनीले टिकट दिएन भनेर टार्थे । यो क्रम निकै दिन चल्यो । 

‘कतैबाट नेपाल फर्किने टुंगो नभएपछि हामी निकै समस्यामा पर्‍यौँ । नेपाल सरकारले चार्टर फ्लाइटमार्फत विदेशमा समस्यामा परेको नेपालीलाई उद्दार गरिरहेको बताउँथ्यो । तर, हामीलाई न नेपाल सरकारले कुनै पहल गर्‍यो न दूतावासले । विभिन्न बहानामा दिन कटाउँदै गए । भाका सार्दै गए,’ उनले भने, ‘हाम्रा समस्या र आक्रोश पनि बढ्यो । हामीले कम्पनीभित्रै सरकार र दूतावासविरुद्ध नाराबाजी गर्‍यौँ । हाम्रो कुनै नियत थिएन । नेपाल फर्किन नपाएको आक्रोश मात्रै थियो । नेपाल फर्किन नपाएको आवेग मात्रै थियो । नेपाल फर्किन पाउँ मात्रै भनेका थियौँ । तर, जे सोचेर नाराबाजी गर्‍यौँ, नतिजा ठीक उल्‍टो भइदियो ।’

एक वर्ष साउदीको जेलमा 
विडम्बना त्यही एकछिनको नाराबाजी उनका लागि अभिसाप बनिदियो ।  दूतावासलाई दबाब दिन गरिएको नाराबाजी मिडियामा आयो । नाराबाजी गर्नेमा अग्रपंक्तिमा थिए उनी । उनलाई त्यहाँको प्रहरीले नियन्त्रणमा लियो । अरु कता गए,उनीहरूलाई के गरियो अहिलेसम्‍म उनलाई थाहा छैन । 

सुरुमा ४० दिन अन्धकारमय कोठामा राखियो । हिरासतका दिन सम्झिँदै उनले भने, ‘अब मृत्युदण्डै दिन्छ जस्तो लागेको थियो । ४० दिन नेपालका एटिएम बुथभन्दा पनि सानो अँध्यारो कोठामा राखियो । न झ्याल थियो न ढोका । बाहिर लैजादा आँखा छोपेर लैजान्थ्यो । कहाँ लग्यो, के गर्‍यो केही अत्तो पत्तो हुन्थेन । खाना दिन्थ्यो । तर, खानै मन लाग्थेन ।’

मृत्युको मुखबाट फर्किएको बताउने उनलाई हिरासतमा एउटै पिरले सताइरह्यो, मष्तिस्कले काम गर्न नछोडोस् । चेत नगुमोस् । स्मरण नहराओस् । ४० दिनसम्म उनले न बाहिरी उज्यालो (साघुँरो कोठामा बत्ती भने बल्थ्यो) देख्न पाए न कसैसँग कुराकानी । ‘खुट्टा तन्काएर पल्टिन पनि नमिल्ने साँघुरो कोठामा ४० दिन काटेँ । कहाँ राखेको छ र के गर्दैछ भन्नेसम्म थाहा भएन । त्यहाँ बस्दा मैले कमिलासँग कुरा गरेँ । आफैसँग कति बोले । परिवार आफन्त र देश के के सम्झिनँ । केके सोचिनँ ।  उकुसमुकुसमा एउटै डर लाग्थ्यो, मेरो स्मरण शक्ति नै गुम्यो भने के होला ?’ उनले इकागजसँग दु:खका दिन सम्झिए । 

४० दिनको कष्टकर हिरासतपछि उनलाई कारागारमा सारियो । जहाँ अरु कैदी पनि थिए । त्यसपछि भने बाँच्ने आश पलायो । कष्टकर दैनिकी त्यहाँ पनि थियो । नेपाल फर्किन पाउने/नपाउने अनिश्‍चित पनि थियो नै । ‘एउटा सानो हलमा ८० जना बन्दी । न सुत्न मिल्थ्यो न बस्न । आलोपालोगरी सुत्थ्यौँ । केही उभिन्‍थ्यौँ केही सुत्‍थ्यौँ । झण्डै एक वर्ष त्यही कोठामा बिताइयो । एक वर्षमा कहिल्यै पेटभरी खाना पाइएन । कहिले एक रोटीमा दिन वित्थ्यो त कहिले चार गाँस भातमा । न दाल न तरकारी,’ कष्टकर दैनिकी उनले सम्झिए, ‘बाँच्ने र नेपाल फर्किने आसा भने पलाएको थियो । आफन्त र घर परिवारसँग कुरा गर्न पाएँ ।’ एक पटक दूतावासका कर्मचारीले पनि आएर भेटेको उनले बताए । 

६ महिनापछि उनलाई दुई महिनाको सजाय हुकुम (फैसला) भयो । कसूर थियो साइबर अपराधको । जबकि ६ महिना उनले जेलजीवन विताइसकेका थिए । तर, त्यसपछि पनि उनले थप ६ महिना अनाहकमा जेल जीवन विताउनु पर्‍यो । अनेक बहानामा थुनेरै राखियो । 

अब कहिल्यै विदेश जान्नँ 
सरकारविरुद्ध नाराबाजी गर्दा एक वर्ष जेलजीवन बिताउनु परे पनि उनलाई कसैप्रति कुनै गुनासो छैन । बरु नेपाल फर्कन पाएकोमा दंग छन् । भन्छन्, ‘ सरकारलाई धेरै धन्यवाद । यसअघिको सरकारसँग पनि मेरो खासै गुनासो छैन । दूतावासप्रति पनि धेरै दुखेसो छैन । म नेपाल फर्किनुमा धेरैले पहल गर्नुभयो ।  रिहाइका लागि पहल गर्ने सरकारी, गैर सरकारी सबै व्यक्तिप्रति आभारी छु । उहाँहरूको सहयोग मैले शब्दमा व्याख्या गर्दा कम हुन्छ ।’ विशेषगरी नेपालमा नयाँ सरकार बनेपछि रिहाइ र नेपाल फिर्ति सहज भएको उनको बुझाइ छ ।

‘तिम्रो टिकट पक्का भयो भनेर सुन्दा मात्रै पनि मेरो खुसीले आँशु झरेको थियो । शव मात्रै नेपाल जान्छ होला भन्ने लागेको थियो ज्युँदै आइपुगियो,’ खुसी हुँदै उनले भने ।एक वर्ष जेल जीवन विताएर फर्किएका उनी अहिले काठमाडौँको एक होटेलमा क्वारेन्टिन बसिरहेका छन् । आउँदा उनीसँग एक जोर लुगा पनि थिएन । अरुको लुगा मागेर लाएको उनले सम्झिाए । 

भन्छन्, नि ‘पढेरभन्दा परेर धेरै कुरा सिकिन्छ’ । उनले पनि तीन वर्षे(एक वर्ष जेलजीवनसहित) साउदी बसाइले धेरै कुरा सिकेको सुनाए । उनले प्राप्त गरेको पहिलो ज्ञान हो जति सुकै दुःख होस् आफ्नो देश भनेको आफ्नै हुँदो रहेछ । ‘अब कहिल्यै विदेश जान्नँ । अरुलाई पनि भन्छु, नेपालमै दुःख गरौ । घर पुग्नेवित्त्तिकै कुनै काम सुरु गर्छु । अहिले त सरकारले पनि विभिन्न व्यवसायमा अनुदान र सहयोग गर्छ ’ उनले भने। 


Author

विनोद देवकोटा

समसामयिक/राजनीतिक विषयमा कलम चलाउने देवकोटा सिनियर करेस्पोन्डेन्ट हुन्।


थप समाचार
x