समाज

धामी घटना छानबिन समितिको प्रतिवेदन

दार्चुला घटनामा एसएसबीको संलग्‍नता, क्षतिपूर्ति दिलाउन कुटनीतिक पहल गर्न सिफारिस

मन्त्री खाणले भने : प्रतिवेदन कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छ

इकागज |
भदौ १५, २०७८ मंगलबार २०:४१ बजे

काठमाडौँ - दार्चुलामा महाकाली नदीको तुइन चुँडिएर जयसिंह धामी बेपत्ता भएको घटना छानबिन गर्न बनेको समितिले घटनामा भारतीय सीमा सुरक्षा बल (एसएसबी)को संलग्‍नता रहेको बताएको छ । समितिले मंगलबार गृहमन्त्री बालकृष्ण खाणलाई छानबिन प्रतिवेदन बुझाएको थियो । साथै समितिले प्रतिवेदनमा जयसिंह धामीका परिवारलाई उचित क्षतिपूर्ति र राहत उपलब्ध गराउन भारतीय पक्षसँग कुटनीतिक माध्यमबाट पहल गर्न सिफारिस गरेको छ ।

प्रतिवेदनमा ‘घटना भारतीय एस.एस.बी.का सुरक्षाकर्मीको उपस्थितिमा घटेको देखिएकोले निजहरुको संलग्नता सम्बन्धमा अनुसन्धान गरी दोषी उपर कानुनी कारवाही गर्न र जयसिंह धामीका परिवारलाई उचित क्षतिपूर्ति र राहत उपलब्ध गराउन भारतीय पक्षसँग कुटनीतिक माध्यमबाट पहल गर्न साथै आश्रित परिवारलाई नेपाल सरकारका तर्फबाट पालन पोषण र शिक्षादीक्षाको व्यवस्थापन गर्न सिफारिस गरेको छ,’ गृहमन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।


समितिले धामीका परिवारलाई पालन पोषण र शिक्षादीक्षाको व्यवस्था गर्न सिफारिस गरेको छ । १५ साउनमा दार्चुलाको व्याँस गाउँपालिका - २ खाङदाङ माल बस्ने जयसिंह धामी सोही गाउँपालिका वडा नं. २ मालघाटबाट तुइनको प्रयोग गरी भारततर्फको बाटो हुँदै सदरमुकाम खलंगा आउने क्रममा तुइनको तारसंगै महाकाली नदीमा बगी बेपत्ता भएका थिए । घटनाको सम्बन्धमा सत्यतथ्य छानविन गर्न १७ साउनमा मन्त्री स्तरीय निर्णयमा गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा पाँच सदस्यीय छानविन समिति गठन भएको थियो ।

समितिको प्रतिवेदन बुझ्दै गृहमन्त्री खाणले प्रतिवेदन कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताए । र आजैबाट कार्यान्वयनको प्रक्रिया थालनी गर्न गृहसचिव टेकनारायण पाण्डेलाई निर्देशन दिए । ‘छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छ,’ खाणले प्रतिवेदन बुझ्दै भने, ‘प्रतिवेदन कार्यान्वयन गर्न म गृहसचिवलाई निर्देशन दिन्छु ।’ छानबिन समितिको प्रतिवेदन मन्त्री खाणले आजै गृहसचिवलाई बुझाए । 


Author

थप समाचार
x