समाज

को हुन् मुठी खोलेर सरप्राइज दिने एन्जल ? (भिडियो)

सृजना खड्का |
भदौ १६, २०७८ बुधबार ६:५० बजे

उनी अपरिचित मानिससामु मुठी बनाउँदै जान्छन् । मुठीमा मुड्की हान्‍न लगाउँछन् । उनको मुठीबाट केटाकेटीका लागि चकलेट, वृद्धहरूका लागि ढाका टोपी र वृद्धाहरूका लागि पछ्यौरा निस्किन्छ । यसैगरी उनी कसैलाई टिसर्ट दिन्छन्, कसैलाई चप्पल, कसैलाई खानेकुरा अनि कसैलाई पैसा । 

यसरी मुठी खोलेर अपरिचितलाई सरप्राइज दिने व्यक्ति हुन्, काठमाडौँ, कलंकीका ३३ वर्षीय एन्जल महर्जन । टिकटक चलाउने प्रायःले एन्जललाई चिन्छन् । उनी टिकटकमा मुठी खोलेर सरप्राइज दिने व्यक्तिका रूपमा परिचित छन् । एन्जल यतिबेला नेपाल टुरमा छन्- मुठी खोलेर सरप्राइज दिन, नचिनेका मान्छेहरूलाई भेट्न, उनीहरूका कथा सुन्‍न । केही महिनायता मात्रै थालनी भएको उनको यात्राले २० जिल्ला टेकिसक्यो ।


एन्जल यसअघि अस्ट्रेलिया बस्थे । कोभिड सुरु भएपछि उनी नेपाल आए । उनी नेपाल आएको भोलिपल्टै लकडाउन सुरु भयो । लकडाउनमा घरभित्रै बस्नुपर्दा उनी दिक्क भइसकेका थिए । सबै कुरा ठप्प थियो । त्यो बेलामा उनले थुप्रै किताब पढे । मोटिभेसनल भिडियोहरू हेरे । लकडाउन खुलेपछि उनको पुनः अस्ट्रेलिया फर्किने योजना थियो । तर, अस्ट्रेलिया जाँदा उता क्वारेन्टिनमा बस्नुपर्ने नियम बन्यो । जुन एकदमै महँगो थियो । त्यो पैसा क्वारेन्टिनमा बसेर खर्च गर्नुभन्दा उनले नेपाल घुम्‍ने योजना बनाए । भिडियो बनाउनु उनको रुचिको विषय थियो । पहिलादेखि नै उनी ट्राभल भिडियोहरू बनाउँथे ।

टिकटक एप उनले हरेकको मोबाइलमा देख्थे । तर, टिकटकका भडियोहरू सकारात्मकभन्दा बढी नकारात्मक पाउँथे उनी । ‘नेपालमा टिकटक दोस्रो फेसबुक जस्तै बनिसकेको थियो,’ उनले भने, ‘यसका भिडियोलाई कसरी मोटिभेसनल र सकारात्मक बनाउन सकिएला भनेर सोच्‍न थालेँ ।’

यही क्रममा उनले एकदिन टिकटकमा एउटा भिडियो देखे । हातमा ट्याटु नै ट्याटु भएको एकजना व्यक्तिले नचिनेका मान्छेलाई चकलेट दिएको भिडियो बनाइरहेको थियो । एन्जललाई त्यो आइडिया मन पर्‍यो । तर, यो काम उनले सोचेजस्तो सजिलो थिएन । किनभने, उनी मानिसहरूसँग घुलमिल हुन असाध्यै अप्ठ्यारो मान्थे । टिकटक अभिनय गर्ने र लिप्सिङ गर्ने प्लेटफर्म हो । यो दुबै गर्न आउँदैनथ्यो एन्जललाई । अन्त्यमा चकलेटवाला आइडिया नै फलो गरे । 

एकदिन उनी आफ्ना भाइ समीरसँग ललितपुरको श्रीकाली गए । उनलाई केही ड्रोन सटहरू लिनुपर्ने थियो । त्यही मौकामा केही टिकटक बनाउने सोचेका थिए । ‘फर्किंदै गर्दा तीनजना युवती आइरहका थिए,’ उनले भने, ‘मलाई उनीहरूलाई चकलेट दिएको भिडियो बनाउन मन लाग्यो । तर आँट आएन ।’ त्यतिबेला समीरले एन्जलको हौसला बढाए । चकलेट दिएको भिडियो तयार भयो । सामान्य एडिट गरेर उनले त्यो भिडियो टिकटकमा हाले । 

भोलिपल्ट बिहान उनी उठ्दा भिडियो भाइरल भएको थियो । उसले सरसर्ती कमेन्ट पढे । कमेन्टमा लेखिएको थियो- गएर बुवालाई दिनुस्, गएर आमाहरूलाई दिनुस्, गएर प्रहरीलाई दिनुस्, गएर बालबालिकाहरूलाई दिनुस् । उनलाई ती प्रतिक्रिया मन परे । तर, चकलेटवाला कन्सेप्ट भने परिवर्तन गर्ने विचार गरे । ‘बूढाबूढीलाई चकलेट दिएर त्यसको के अर्थ जस्तो लाग्यो,’ उनले भने, ‘मैले उनीहरूका लागि प्रयोग गर्न मिल्ने केही सामान दिने योजना बनाएँ । र, केही थान ढाका टोपी र पछ्यौरा किनेँ ।’

यसको पनि त्यसरी नै भिडियो बनाएर टिकटकमा हाले । धेरै राम्रा प्रतिक्रिया आए जसले उनलाई यो काम गर्न झनै हौस्यायो । बिस्तारै यो नै उनको दैनिकी बन्‍न थाल्यो । सुरुवाती दिनमा भ्युज आएर फुर्किएर हिँडेका उनी अब भने साँच्चै नचिनेका मान्छेहरूको कथा सुन्‍न हिँडे । आफूले दिएको स-साना सामानबापत उनीहरूको अनुहारमा देखिने मुस्कान खोज्‍न हिँडे । नचिनेका मान्छेहरूले पनि उनलाई आफ्नै मान्छे जसरी आफ्ना व्यथा सुनाउन थाले । 

पात्रहरूसँग भेट्ने क्रममा केही समयअघि कलंकीमा एकजनासँग उनको भेट भयो । उनको नाम थियो, कुलमान थिङ । उनले एन्जललाई आफ्नो कथा सुनाए । आधा पाउ चिउरा र थोरै दालमोठ किनिदिन आग्रह गरे । धुलिखेलदेखि हिँड्दै कलंकीसम्म आएका उनी हेटौँडा जाने तयारीमा थिए । उनले ती व्यक्तिको भिडियो खिचेर टिकटकमा हालेका थिए । भिडियो हालेपछि उनले धेरै गाली खाए । ‘मान्छेको गरिबीलाई लिएर मजाक उडाएको, मान्छेको प्राइभेसीलाई ध्यान नदिएको भनेर धेरै कमेन्ट आए,’ उनले भने, ‘एकछिन त मैले गर्नै नहुने काम गरेछु कि क्या हो जस्तो पनि लाग्यो ।’

तर, त्यही भिडियोमा अर्को कमेन्ट पनि थियो । लेखिएको थियो- १० वर्षदेखि हराएको मेरो ठूलोबुवा तपाईंले कहाँ भेट्नुभयो ? कमेन्ट गर्नेसँग उनको सम्पर्क भयो । भेट भयो । टिकटकमै उनीहरू मिलेर एउटा हेल्प पोस्ट बनाए, ती व्यक्तिलाई देख्नेले सम्पर्क गर्न आग्रह गर्दै । केही समयमै उनी हेटौँडामा भेटिएको खबर आयो । उनीहरू हेटौँडा गए । १० वर्षपछि भेटेको बाबु-छोराको मिलनको भिडियो खिचे । टिकटकमा हाले । यो भिडियो धेरैले रुचाए । उनलाई धन्यवाद दिए । त्यसपछि एन्जललाई लाग्‍न थाल्यो, टिकटकलाई यसरी पनि प्रयोग गर्न सकिँदो रहेछ ।

उनी जति भिडियोहरू बनाउँदै छन्, उनीमाथि उति नै धेरै प्रश्न तेर्सिंदैछन् । यसरी सहयोग गर्ने पैसा कहाँबाट आयो ? अहिले उनलाई सबैभन्दा धेरै सोधिने प्रश्न नै यही हो । ‘एकचोटि साथीहरूसँग बसेर खाँदा हजारौँको बिल आउँथ्यो,’ उनले भने, ‘त्यो पैसाले मलाई मानिसहरूको मुस्कान किन्‍न मन लाग्यो । एउटा टिसर्ट, एउटा ढाका टोपी, एउटा पछ्यौरा पाउँदा कोही खुसी हुँदैन भने किन नगर्ने भन्‍ने लाग्यो । अहिले मैले खर्च गरिरहेको पैसा सात वर्षसम्म अस्ट्रेलिया बसेर दुःख गरेर कमाएको पैसा हो ।’

नेगेटिभ कमेन्टमा उनी खासै ध्यान दिँदैनन् । ‘१० जनामा पाँच जनाले तिम्रो काम राम्रो छ भन्छन्,’ उनले भने, ‘तीन जनाले तिमीले गरेको जस्तो काम म पनि गर्न चाहन्छु भन्छन् । बाँकी दुईजनाले नेगेटिभ कमेन्ट गरेका हुन्छन् । मलाई खासै फरक पर्दैन ।’ उनको बैंकको बचत बिस्तारै निख्रिँदै छ । तर, उनलाई चिन्ता छैन । जबसम्म सम्भव छ, तबसम्म उनी यो काम गरिरहन चाहन्छन् । किनभने, एन्जललाई लाग्‍न थालेको छ, घरबाट निस्किएपछि मात्रै बल्ल संसार देखिने रहेछ । संसारका मानिस भेटिने रहेछ । ‘हामी सबै आफ्नो दुःखलाई ठूलो मानेर घरभित्र दुःखी भएर बन्छौँ,’ उनले भने, ‘तर, घरबाहिर निस्किएर अरुको कथा सुन्दा थाहा भयो हाम्रो दुःख दुखै होइन रहेछ ।’ 

 


Author

सृजना खड्का

सामाजिक विषयमा कलम चलाउने खड्का संवाददाता हुन्।


थप समाचार
x