समाज

‘चामे जान काम पर्छ, पुल छैन’

इकागज |
भदौ १६, २०७८ बुधवार १०:३५ बजे

मनाङ - सडक सञ्जालबाट टाढा रहेको नार्पाभूमि गाउँपालिका पुग्न समस्या  भएको छ । मस्र्याङ्दी नदीमा गत असार १ गते आएको बाढीले गाउँपालिका पुग्ने एक मात्र झोलुङ्गे पुलमा क्षति पुर्‍याएपछि आवातजावतमा कठिनाइ भएको हो । 

बाढीले सदरमुकाम चामेसँग जोड्ने एक मात्र पुलमा क्षति पुगेपछि अहिले गाउँपालिकावासी ज्यान जोखिममा राखेर सामग्री ल्याउन बाध्य छन् । पुलको अधिकांश भाग भत्केको छ ।  त्यही पुलबाट नारफुका बासिन्दा सदरमुकाम आवतजावत गर्न बाध्य भएका छन् ।


बाढीले पुल भत्किएपछि चामे गाउँपालिका–२ कोतोस्थित मस्र्याङ्दी नदीमाथिको पुलकै भरमा ओहोरदोहोर गर्न बाध्य भएको फुगाउँका स्थानीय सोनाम तेजे लामाले जानकारी दिए । 'जोखिम मोलेर हिँडेन भने काम गर्न सकिँदैन । सधैँ हेलिकोप्टर आउने कुरा भएन, सदमुकाममा काम पर्छ । जानुपर्‍यो, पुगेर फर्किन सक्ने हो कि होइन चिन्ता र त्रास त्रासैमा हिँड्नुपर्छ', उनले भने ।

गाउँसँग जोड्ने अन्य पुल पनि छैन । नार्पाभूमि गाउँपालिका सडक सञ्जालसँग समेत जोडिएको छैन । 'गाउँपालिकासँग जोड्ने एक मात्र पुल पनि जीर्ण छ । यसलाई काठ राखेर जसोतसो हिँड्न मिल्ने बनाएका छौँ । यसलाई सहज बनाउनका लागि अझै मर्मत गरी सहज बनाउने प्रयास गरिरहेका छौँ । सदरमुकाममा काम पर्छ पुल छैन', नार्पाभूमि गाउँपालिकाका अध्यक्ष मिङ्मारछिरिङ लामाले भने । खाद्यान्न हेलिकोप्टरमार्फत ल्याए पनि सदरमुकामबाट गर्नुपर्ने अन्य कामका लागि जोखिम मोलेर हिँड्न बाध्य भएको उनले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद लामिछानेले पुल मर्मत गर्न प्राविधिक जनशक्ति र आवश्यक सामग्रीसमेत अभाव रहेको बताए । सो  नदीको वहाव कम भए पनि जोखिम भने कम नभएको बताइएको छ । रासस


Author

थप समाचार
x