समाज

सेवाग्राही र प्रविधिमैत्री जिल्ला प्रशासन कार्यालय मकवानपुर

इकागज |
भदौ १६, २०७८ बुधबार १३:१४ बजे

हेटौँडा – सरकारी कार्यालय त्यसमाथि पनि जिल्ला प्रशासन कार्यालय भन्ने बित्तिकै तपाईंले के सम्झनुहुन्छ ? भद्रगोल व्यवस्थापन, कार्यालयका फाँटमा कर्मचारी नभई सेवाग्राहीको घुइँचो, ढड्डा खोज्दाको हैरानी, कर्मचारीको हप्काइ, शौचायको दुर्गन्ध आदि पक्कै स्मरणमा आउँछन् । तर, मकवानपुर जिल्ला प्रशासन कार्यालयले भने आफ्नो कार्यालयबाट हुने सेवा प्रवाहलाई व्यवस्थित गर्दै प्रविधिमैत्री मात्रै बनाएको छैन । सेवाग्राही मैत्री सेवा पनि सुरु गरेको छ ।  


कार्यालयमा सेवा लिन आउने सेवाग्राहीहरूलाई सेवा प्राप्तिको क्रममा प्रतिक्षा गर्नका लागि व्यवस्थित रूपमा बस्नको लागि प्रतिक्षालयको व्यवस्था गरिएको छ । त्यस्तै कोभिड–१९ संक्रमणको जोखिमबाट बँच्नको लागि भिडभाड नहुने गरी टोकन प्रणालीको व्यवस्था गरिएको छ । 

प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे कार्यालयको सेवा प्रवाहलाई चुस्त बनाउन प्रविधिमैत्रीसँगै सेवाग्राही मैत्री बनाइएको बताउँछन् । ‘यहाँ सेवा लिन आउनेहरु ठेलमठेल गरेर बस्न नपरोस् भनेर हामीले टोकनको सिस्टम विकास गरेका छौँ,’ प्रजिअ पाण्डेले भने, ‘अशक्त, अपांग, जेष्ठ नागरिक, गर्भवतीलाई सहज होस् भनेर छुट्टै ठाउँमा सेवा लिने व्यवस्था मिलाएका छौँ ।’ पाण्डेका अनुसार यस्ता सेवाग्राहीले सास्ती नपाउन भनेर कार्यालयका कोठा नम्बर १० स्थित प्रशासकीय अधिकृतलाई सम्पर्क गरेर  सेवा लिने व्यवस्था गरिएको छ ।

त्यस्तै कार्यालय परिसरमा फ्रि वाईफाईको व्यवस्था पनि मिलाइएको छ । प्रशासन कार्यालयबाट उपलब्ध हुने सेवाका विषयमा जानकारी दिन डिजिटल नागरिक बडापत्र पनि राखिएको छ ।   

त्यस्तै सेवाग्राहीहरूलाई मध्यनजर गर्दै कार्यालयले विभिन्न स्थानमा स्वच्छ फिल्टर गरिएको पिउने पानीको प्रबन्ध मिलाउनुका साथै सेवा प्राप्तिका क्रममा नियमानुसार बुझाउनुपर्ने राजश्व बुझाउन सेवाग्राहीहरूलाई सहज होस भन्ने उद्देश्यका साथ प्रभु बैंकसँगको समन्वयमा कार्यालय परिसरभित्रै प्रभु बैंकको काउन्टर स्थापना  गरिएको छ । 

वैदेशिक रोजगारीमा जाने उद्देश्यले राहदानी बनाउन आउने सेवाग्राहीलाई लक्षित गरेर सुरक्षित वैदेशिक रोजगारीका सम्बन्धमा कार्यालय परिसरभित्रै परामर्श सेवा केन्द्र स्थापना गरी नियमितरूमा परामर्श सेवा प्रदानमा थप सहजता मिलाइएको छ ।  

गर्भवती महिला र बच्चालाई सेवा लिन आउँदा असहज नहोस् भनेर प्रशासन परिसरमै स्तनपान कक्ष स्थापना गरिएको छ । नयाँ नागरिकता बनाउने क्रममा पेश हुन आएका अनुसूची लगायतका सम्पूर्ण कागजातहरू तत्काल स्क्यान गरी राख्ने व्यवस्था मिलाइएको प्रजिअ पाण्डे बताउँछन् ।

यस्तै नागरिकता तथा राहदानी बनाउने क्रममा नागरिकताको अभिलेख भिडाउन अन्य जिल्लाहरुबाट प्राप्त पत्रहरूलाई प्राथमिकतामा राखी प्राप्त भएको आधा घण्टाभित्र सम्बन्धित कार्यालयमा जवाफ पठाउने व्यवस्था गरिएको छ । 

कार्यालयको वेबसाईट र फेसबुक पेजलाई सूचनामूलक जानकारीहसहित नियमित अपडेट गर्ने गरिएको छ । यस्तै कार्यालयबाट प्रवाह गरिने सेवा, कर्मचारीको व्यवहार एवं समग्र कार्यालयसँग सम्बन्धित गुनासोहरूको सुनुवाई र सम्बोधनका लागि सहायक प्रमुख जिल्ला अधिकारीलाई गुनासो सुन्ने अधिकारी तोकिएको छ । सेवाग्राही पनि प्रशासन कार्यालयका व्यवस्थापनबाट खुसी छन् ।  


Author

थप समाचार
x