समाज

भारतबाट फर्कने नेपालीलाई सीमामै खोप

दीपक उपाध्याय |
भदौ १७, २०७८ बिहीबार १४:० बजे

कैलाली - भारतबाट घर फर्किने नेपालीलाई सीमा नाकामै कोभिड-१९ विरुद्धको खोप दिन थालिएको छ ।भाद्र १० गतेदेखी जिल्ला स्वास्थ्य कार्यालय कंचनपुरको सहयोगमा भिमदत्त नगरपालिकाले गड्डाचौकी नाका भएर नेपाल फर्कनेहरूलाई सीमामै कोभीड-१९ विरुद्धको खोप दिन थालेको हो । 

गड्डा चौकी हेल्थ डेस्कका प्रमुख डाक्टर सन्तोष भट्टले भाद्र १० गतेदेखि आज (१७) गतेसम्म ६७२ जनालाई कोभीड-१९ को खोप लगाइसकेको बताए । भारतबाट नेपाक फर्कनेहरूको एन्टिजेन टेस्ट गरेर नेगेटिभ आएकालाई अस्ट्राजेनेकाको खोप लगाइएको डाक्टर भट्टले बताए । उनले सरकारको निर्णय अनुसार भारतबाट फर्किनेलाई अहिले अस्ट्राजेनेकाको खोप दिइरहेको बताउदै पहिलो डोज नाकामा लगाएकाहरूले दोस्रो डोज भने सम्बन्धित पालिकामै लगाउनु पर्ने बताए । 


सीमामै खोप लाउन पाएपछि दंग

रोजगारीका लागि भारतको सिमला पुगेका डोटीका झलक सार्कीले थप काम केही नपाएपछि नेपाल फर्कने निधो गरे । तर, ४/५ महिना भारत बसेर नेपाल फर्कँदै गरेका सार्कीलाई काम नपाएको भन्दा बढी कोभिड-संक्रमित त हुने होइन भन्ने चिन्ताले भने निकै पिरोलेको थियो । 

तर, नेपाल छिर्ने बित्तिकै सीमानामै खोप लाउन पाएपछि भने आफू ढुक्क भएको सार्कीले बताए । उनले आफूले काम गर्ने ठाउँको साहुलाई नभनेको पनि होइन । तर, नेपाली भनेर खोप लाउन नपाएको बताउँदै सार्कीले काम गर्न बोलाउने साहुले खोप लगाउन भने पहल नगरेको बताए ।

त्यस्तै बझाङका हिक्मत बिष्ट पनि सीमामै खोप लाउन पाएपछि दंग थिए । उनी आफूले त खोप लाउन पाइयो उता परिवारका सदस्यले खोप लगाउन पाए कि पाएनन् भनेर चिन्ता व्यक्त गर्दै थिए । 

सरकारले खोपको व्यवस्था गर्दैछ भन्ने सुनेका बिष्ट त्यहिबेला कामको लागि मथुरा पुगेको बताउँछन् । मथुरामा आफूसंगै काम गर्ने अधिकांश भारतीयहरूले खोप लगाए पनि नेपाली भएकै कारण आफूले खोप लाउन नपाएको बिष्टको गुनासो छ ।  तर, सीमा नाकामै भेटिएका केहिले भने उतै (भारत) खोप लगाएको पनि बताएका थिए ।


Author

दीपक उपाध्याय

उपाध्याय इकागजका सुदूरपश्‍चिम प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x