समाज

उपत्यकाका बाढीपीडितलाई सेनाद्वारा उद्धार

इकागज |
भदौ २१, २०७८ सोमबार १९:२ बजे

काठमाडौँ - सोमबार बिहान राति उपत्यकाका विभिन्न नदीमा आएको बाढीका कारण डुबानमा परेका पीडितलाई नेपाली सेनाले उद्धार गरेको छ । उपत्यकाका बागमती, विष्णुमती तथा मनोहरा नदीमा आएको बाढी प्रभावितलाई नेपाली सेनाको तालिम प्राप्त जनशक्तिले उद्धार गरेको हो ।

थापाथलीनजिक बागमती किनारको सुकुम्बासी बस्तीमा बाढी पसेकाले घरहरूमा रहेका महत्वपूर्ण सामान सुरक्षित स्थानमा स्थानान्तरण गर्न सहयोग गरेको सेनाले जनाएको छ ।


काठमाडौं महानगरपालिका- २० स्थित विष्णुमती नदीको किनारमा रहेका स्थानीयको घरमा पानी छिरेपछि स्थानीयलाई आवश्यक सहयोग गर्दै परोपकार पुल इलाकामा जम्मा भएको फोहरको कारण पानीको बहाव अवरोध भएकोमा फोहोर हटाएर नदी सुचारु गरिएको पनि सेनाले जनाएको छ ।

‘त्रिपुरेश्वरदेखि कालिमाटी इलाकासम्म बागमती नदीको किनारमा पानीको बहाव उच्च भएकाले स्थानीयहरूलाई आवश्यक सहयोग गरिएको छ । यस्तै भक्तपुरस्थित मध्यपुर ठिमि नगरपालिका- १ लोकन्थलीको सुकुम्बासीबस्ती तथा दिव्यश्वरी प्लानिङक्षेत्रका बस्तीहरू डुबानमा परेको हुँदा प्रभावितहरूलाई आवश्यक सहयोग गरिएको छ,’ सेनाले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ,‘तारकेश्वर नगरपालिका- ११ नेपालटार हाइटस्थित स्वास्थ्य चौकी भवनमा अविरल वर्षापश्चात पहिरो गएको हुँदा सम्भावित जोखिम नियन्त्रण र रोकथाम गरेको तथा सोही वडाको नेपालटारस्थित स्थानीयबासीको घरमा पानी पसेको हुँदा पानी हटाउने कार्यमा सहयोग गरिएको छ ।’

केही घन्टामात्रै आएको वर्षाका कारण बागमती, विष्णुमती तथा मनोहरा नदीमा पानीको बहाव उच्च हुँदा  किनार आसपासका बस्ती डुबानमा परी जनजीवन प्रभावित बनेको थियो । 


Author

थप समाचार
x