समाज

तनहुँमा भदौ ३१ गतेसम्म निषेधाज्ञा

इकागज |
भदौ २१, २०७८ सोमबार १९:४० बजे

तनहुँ - तनहुँमा यही भदौ ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गरिएको छ । जिल्ला कोभिड व्यवस्थापन समितिको आज बसेको बैठकले कोभिड-१९ को जोखिम अझै कम नभएको अवस्थालाई मध्यनजर गर्दै निषेधाज्ञा अवधि बढाएको हो । 

कोभिड-१९ व्यवस्थापन सम्बन्धमा व्यवस्था बनेको अध्यादेश, २०७८ को दफा ४ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ र सङ्क्रमण रोग ऐन, २०२० को दफाले दिएको अधिकार प्रयोग गरी यसअघि जारी गरिएको निषेधाज्ञालाई निरन्तरता दिँदै थप १० दिन निषेधाज्ञा बढाइएको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले जानकारी दिए।  


कोभिड-१९ सङ्क्रमण जोखिम नियन्त्रणका लागि स्मार्ट लकडाउनसम्बन्धी कार्यविधि-२०७८ मा उल्लिखित सूचकअनुसार जोखिमको स्कोरिङ गर्न सकिने अवस्था देखिएमा स्वास्थ्य प्रोटोकलको पूर्णपालन गरी २५ जनाभन्दा नबढ्ने गरी न्यूनतम सहभागितामा तालिम तथा प्रशिक्षणका कार्यक्रम सञ्चालन गर्न गराउन सकिने छ ।

पार्टी प्यालेसको हकमा स्वास्थ्य प्रोटेकलको पूर्णपालना गरी कूल क्षमताको ५० प्रतिशत मा नबढ्ने गरी बेलुका ६ बजेभित्र मात्र सञ्चालन गर्ने गराउने, रेस्टुरेन्ट बेलुका ९ बजेसम्म स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी सञ्चालन गर्न गराउन अनुमति प्रदान गरिएको छ । अन्य सञ्चालन गर्न अनुमति दिइएका सेवा तथा व्यवसाय बेलुका ७ बजेसम्म मात्र सञ्चालन गर्न अनुमति दिइएको छ । 

सवारी साधानहरुले सिट क्षमताभित्र रही अनिवार्यरूपमा सबै यात्रीले मास्क लगाउने, चालक, सहचालकले मास्क फेससिल्ड, पञ्जा लगाउने, गाडीको ढोकामा स्यानिटाइजर राख्ने र प्रयोग गर्नेलगायतका स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाई सञ्चालन गर्न गराउन लगाउने निर्णय गरिएको छ । 

शैक्षिक संस्थाहरूमा भौतिक उपस्थितिमा पठनपाठन गर्न गराउन विद्यालय सिकाइ सहजीकरण निर्देशिका-२०७७ र कोभिड-१९ सङ्क्रमण जोखिम नियन्त्रणका लागि स्मार्ट लकडाउनसम्बन्धी कार्यविधि-२०७८ मा उल्लिखित सूचकअनुसार जोखिमको अवस्था हेरी विद्यालय व्यवस्थापन समितिको सिफारिसका आधारमा स्थानीय तहको निर्णयानुसार आवश्यक व्यवस्थापन गर्न गराउन सकिने निर्णय गरेको छ । (रासस)
 


Author

थप समाचार
x