समाज

बेनीको क्याम्पसचोक पहिरोको उच्च जोखिममा

इकागज |
भदौ २२, २०७८ मगलवार ७:५ बजे

फाइल तस्‍बिर

म्याग्दी - बस्तीमाथिको पाखो भासिएर पहिरो चल्न थालेपछि म्याग्दीको सदरमुकाम बेनीको क्याम्पसचोक क्षेत्र उच्च जोखिममा परेको छ । खरेनी र आँपरुखको पाखोमा पहिरो चल्न थालेपछि बेनी नगरपालिकाको वडा नं ८ मा पर्ने क्याम्पसचोक, गणेशटोल, पिपलचोक र कालीपुल जोखिममा परेको हो । गणेशटोल सुधार समितिका संयोजक ठाकुरप्रसाद शर्माले पहिराको फेदीमा रहेको बजारमा बाढी आउने खतरा रहेको बताए ।

'करिब ५०० मिटर लम्बाइ र ५०० मिटर चौडाइ क्षेत्रफल भएको पाखो चिराचिरा परेर बग्न तयार भएर बसेको छ', उनले भने, 'यो पहिराले चारवटा टोल र म्याग्दी बहुमुखी क्याम्पस जोखिममा परेको छ ।' करिब ३०० घर पहिरो र बाढीको जोखिममा रहेका शर्माले बताए ।


क्याम्पसचोकबाट करिब ८०० मिटरमाथिको पाखोमा दुईवटा पहिरो छन् । पहिराको फेदीदेखि क्याम्पसचोक हुँदै कालीपुलको मोटरेबल पुलसम्म नहर बनाएर खोल्साको पानी र बाढी व्यवस्थापन गरिएको छ । पहिरोले साबिकको ठाउँभन्दा करिब तीन मिटर तल जमिन लच्किएको क्याम्पसचोकका बासिन्दा यामबहादुर बानियाँले बताए।

बलौटे माटो भएको पाखोमा सल्लाको रुखको जङ्गल छ । 'जमिन धाँजा फाटेर डेढ सयभन्दा बढी सल्लाका रुख ढलेका छन्', बानियाँले भने, 'पहिरो गएको छेउछाउमा टेक्दा जमिन खुट्टा गाडिन्छ । ठूलो वर्षात् हुँदा ढलेका रुख, ढुङ्गा र माटोसहित बाढीले क्याम्पसचोकमा क्षति पुग्ने जोखिम छ ।'

पहिरोका कारण सामान्य वर्षात् हुँदासमेत क्याम्पसचोक र कालीपुल क्षेत्रमा बाढी आउन थालेको छ । गत असारमा यो ठाउँमा सुरु भएको पहिरो चल्न अझै रोकिएको छैन । क्याम्पसचोक क्षेत्रमा बाढीको निकासका लागि बेनी नगरपालिकाले घर खरिद गरेर नाली बनाएको छ । तर सो नालीको क्षमताभन्दा ठूलो बाढी आउने गरी नयाँ पहिरो सिर्जना भएपछि क्याम्पसचोकवासी चिन्तित भएका स्थानीय रेमबहादुर विश्वकर्माले बताए । उनले बेनी नगरपालिकाको वडा नं ६ मा पर्ने आँपको रुखदेखि सार्कीटोल जोड्ने सडकका कारण पहिरो सिर्जना भएको बताए।

सडक खन्दा डोजरले पाखोमा फालेको माटो बगेर सिर्जना भएको पहिराले ठूलो रूप लिन थालेको विश्वकर्माको भनाइ छ । सल्लाको जङ्गलको बीचमा खनिएको सडकको तल र माथि दुवैतर्फ पहिराले जमिन भासिएको छ । क्याम्पसचोकका बासिन्दासमेत रहनुभएका बेनी नगर कार्यपालिकाको सदस्य कृष्णकुमार विश्वकर्माले जोखिमयुक्त ठाउँको स्थलगत निरीक्षण गरेर थप क्षति हुन नदिन र पहिरो नियन्त्रण गर्न पहल गर्ने बताए । रासस
 


Author

थप समाचार
x