समाज

घर-घरमा कुश भित्र्याएर मनाइयो कुशे औँसी

इकागज |
भदौ २२, २०७८ मगलवार १४:५५ बजे

काठमाठौँ - प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व मंगलबार वैदिक सनातन धर्मावलम्बीले पवित्र कुश घर–घरमा भित्र्याएर मनाएका छन् । 

शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पु-याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । यस दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कुश त्यसै दिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता छ । सनातन धर्मावलम्बीले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्दछन् । 


सृष्टिकर्ता ब्रह्माजीले विवेकशील प्राणीसँगै पवित्र कुश पनि उत्पन्न गरेको धार्मिक विश्वास छ । आजका दिन घर–घरमा राखिएको कुश वर्षभर हुने देवकार्य एवं पितृकार्यमा प्रयोग गरिन्छ । यसै दिनमा बाबुको मुख हेर्ने दिनका अवसरमा छोराछोरीहरू परम्पराअनुसार आ–आफ्ना बाबुलाई मन पर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गर्दछन् ।

बाबु नहुनेहरू विभिन्न पवित्र स्थानमा गई आफ्ना बाबुको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिने गर्दछन् । बाबु दिवंगत भइसकेका सन्ततिले भाद्रकृष्ण औँसीका दिन गोकर्णेश्वर महादेव मन्दिर गई तर्पण, सिदादान र पिण्डदान गर्ने परम्परा छ । यस दिन गोकर्ण आई श्राद्ध गरे २१ कुलसम्मका पितृले मुक्ति पाउने धार्मिक विश्वास छ ।  

औसीका अवसरमा मंगलबार गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा मेला लागेको छ । अघिल्लो वर्ष कोरोनाका कारण मेला स्थगित गरिएकोमा यस वर्ष सबै क्षेत्र खुलेकाले टाढा टाढाबाट भक्तजन मन्दिर दर्शन गर्न आएका छन् । गोकर्णेश्वर महादेव मन्दिर छिर्ने सबै नाकामा भक्तजनको भिड बढेपछि भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर पितृप्रति श्रद्धा प्रकट गर्न दिइएको मन्दिर क्षेत्र प्रबन्ध समितिले जनाएको छ ।  


Author

थप समाचार
x