समाज

पशुपति क्षेत्रमा तेस्रो विद्युतीय शवदाह

इकागज |
भदौ २२, २०७८ मगलवार २०:७ बजे

फाइल फोटो

काठमाडौँ - पशुपति क्षेत्र विकास कोषले तेस्रो विद्युतीय शवदाह यन्त्र सञ्चालनमा ल्याएको छ । विसं २०७२ माघ १२ गतेदेखि दुईवटा विद्युतीय शवदाहयन्त्र सञ्चालनमा ल्याएको कोषले आजदेखि तेस्रो यन्त्र सुरु गरेको सदस्य सचिव डा मिलनकुमार थापाले राससलाई जानकारी दिए । यन्त्र सुरु गरी परीक्षणस्वरुप तीनवटा शवसमेत जलाइएको उनले बताए । 

यसअघि सञ्चालनमा रहेका विद्युतीय यन्त्रमा शवदाह गर्न एक घण्टा लाग्ने गरेकामा नयाँ यन्त्रमा ३५ मिनेटमा शवदाह हुन्छ । रु दुई करोड ८५ लाखको लागतमा नयाँ यन्त्र जडान गरिएको कोषले जनाएको छ । 


यसअघि भवनसहित दुई यन्त्र सञ्चालन गर्दा रु ११ करोड खर्च लागेको थियो । नयाँ यन्त्र सञ्चालनमा आएसँगै छ वर्षअघि जडान गरिएको एक नं यन्त्र मर्मतसम्भार गरिने छ । एक महिनामा मर्मतसम्भार सम्पन्न हुनेछ । कोषले एउटा हाइब्रिड शवदाहयन्त्र पनि गत वर्षदेखि सञ्चालनमा ल्याएको छ । 

विद्युतीय शवदाह यन्त्रमा गत वर्षदेखि नै कोरोनाबाट निधन भएकाको शवदाह भइरहेको छ । हाल दैनिक सातदेखि आठ वटासम्म कोरोनाबाट निधन भएकाको शवदाह हुने गरेको कोषले जनाएको छ ।

पशुपति क्षेत्रको आर्यघाट, भष्मेश्वरघाट र विद्युतीय शवदाहयन्त्रमा गरी हाल १५ वटा शवदाह यन्त्र छन् । दाउराबाट सञ्चालन हुने ११ वटा घाट छ । सामान्य अवस्थामा पशुपति क्षेत्रमा २५ देखि ३० वटा शवदाह हुने गरेको छ । कोरोनाबाट निधन हुने बढेका बेला यसै वर्ष डेढ सयसम्म शवदाह पशुपति क्षेत्रमा भएको कोषले जनाएको छ । रासस


Author

थप समाचार
x