समाज

पर्वतका स्वास्थ्य चौकीमा एशिया नेपालद्वारा स्वास्थ्य सामग्री सहयोग

इकागज |
भदौ २३, २०७८ बुधबार १५:५७ बजे

काठमाडौँ - एशिया नेपालले पर्वत जिल्लाका स्वास्थ्य चौकीहरूमा स्वास्थ्य सामग्री सहयोग गरेको छ । जिल्लाको कुश्‍मा नगरपालिका-१२ स्थित ठुलीपोखरी प्राथमिक स्वास्थ्य केन्द्र र कुश्मा नगरपालिका-१३ स्थित खौलालाकुरी स्वास्थ्य चौकीमा एशिया नेपालले कोभिड-१९ प्रतिकार्यको लागि स्वास्थ्य सामग्री तथा उपकरणहरू हस्तान्तरण गरेको हो । 

स्वास्थ्य चौकीहरूलाई ८ लाख रुपैँया बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको एशिया नेपालका कार्यक्रम प्रबन्धक योगेश सुवेदीले जानकारी दिए । अक्सिजन कन्सन्ट्रेटर, सि-क्याप डिभाइस, हस्पिटल मास्क, अक्सिमिटरलगायत विभिन्‍न १८ प्रकारको कोभिड प्रतिकार्य सामग्री प्रदान गरिएको उनको भनाइ छ । 


संस्थाले खौलालाकुरी स्वास्थ्य चौकीमा व्यवस्थापन समितिका अध्यक्ष तथा कुश्मा नगरपालिका-१३ का वडा अध्यक्ष जंगबहादुर केसी र स्वास्थ्य चौकी प्रमुख श्यामकुमार यादव र ठुलीपोखरी प्राथमिक स्वास्थ्य केन्द्रमा व्यवस्थापन समितिका अध्यक्ष कुश्मा नगरपालिका-१२ का वडा अधक्ष राजेन्द्र पौडेल र प्राथमिक स्वास्थ्य संस्था प्रमुख डा. गायत्री पौडेललाई संयुक्त रुपमा सामग्री हस्तान्तरण गरिएको हो । 

प्राप्त सहयोग सामग्री बुझ्दै स्वास्थ्य संस्था प्रमुख र व्यवस्थापन समितिका अध्यक्षले स्वास्थ्य संस्थाबाट दिने सेवामा यस्ता सामग्रीहरूले महत्वपूर्ण सहयोग गर्ने बताए । स्वास्थ्य संस्थाका प्रतिनिधिहरूले अत्यावश्‍यक स्वास्थ्य सामग्री सहयोग गरेको भन्दै एशिया नेपाललाई धन्यावाद दिए । उनीहरूले आगामी दिनमा पनि यस्ता सहयोग गर्न आग्रह गरे ।  

सो कार्यक्रममा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. गायत्री पौडेलले यस्ता सामग्रीहरू कोभिड–१९ र श्वासप्रश्वासका बिरामीहरुको लागि निक्कै उपयोगी हुने बताइन् । 'अहिले प्राप्त भएको कोभिड प्रतिकार्य सामग्रीले विकट क्षेत्रबाट आएका विरामीहरूलाई उपचारका लागि थप सहज बनाउनेछ । यसले हाम्रो स्वास्थ्य केन्द्रबाट थप स्वास्थ्य सेवा दिन पनि सहयोग पुग्ने आशा राखेका छौँ' उनले भनिन् ।


Author

थप समाचार
x