समाज

काठे पुलमा फर्कियो दार्चुला

बाढीले झोलुंगे पुल बगायो, युएनडीपीको सहयोगमा वारपार

दीपक उपाध्याय |
भदौ २३, २०७८ बुधबार १८:५२ बजे

कैलाली - भदौ १३ गते आएको बाढिपहिरोका कारण दार्चुलामा करौंडो मूल्य बराबरको क्षति भएको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाले तयार पारेको प्रारम्भिक प्रतिवेदन अनुसार बाढीपहिरोका कारण तीन जनाको मृत्यु भएको छ । यस्तै दुई जना वेपत्ता भएका छन् । केहि झोलुंगेपुल समेत बाढीले बगाएको छ ।

बाढीपहिरोको कारण सबैभन्दा धेरै दुहुँ गाउँपालिकामा क्षति भएको छ । त्यस्तै महाकाली नगरपालिकामा समेत व्यापक क्षति भएको छ । यसैगरि बाढीपहिरोका कारण नौगाड गाउँपालिका, अपि हिमाल गाउँपालिका र मार्मा गाउँपालिकामा समेत क्षति भएको छ । 


अविरल वर्षापछि आएको बाढीपहिरोले झोलुंगेपुल समेत बगाएपछि ओहोरदोहरमा निकै समस्या भएको छ । बिरामी, सुत्केरी र वृद्धवृद्धाहरु सबैभन्दा बढी मारमा परेका छन् । झोलुंगे पुल नै बगाएपछि स्थानीयहरुलाई निकै समस्या भएको छ । 

युनडीपीको सहयोगमा काठे पुल निर्माण 

बाढीले झोलुंगे पुल बगाएपछि नेपाल स्थित संयुक्त राष्ट्र विकास कार्यक्रम युएनडीपी सुदूरपश्चिम प्रदेश कार्यालयले समाज कल्याण कार्यालय दार्चुलासंग सहकार्य गर्दै काठे पुल निर्माण गरिरहेको छ ।

समाज कल्याण परिषद् दार्चुलाका अध्यक्ष रघुबिर सिंह ठगुन्नाले युएनडीपीको आर्थिक सहयोगमा स्थानीय जनप्रतिनिधि र नेपालसंगको सहकार्यमा अहिलेसम्म दुहु गाउँपालिकाको नौ स्थानमा काठेपुल निर्माण गरेको बताए । उनले काठेपुल निर्माण पश्चात यहाँका करिब ८२५ घरघुरीलाई आवतजावतमा सहज भएको बताए ।

दुहु गाउँपालिकाको वडा नम्बर १ र ५ मा रहेका भलभले डडालुगाड, सिमारसुत खोला, नानीगाड खडिखान खोला, घट्टेगाउ खोला, भाडीका लागाडी खोला, बाङसेरा समैजी कालागाड खोला, कालागाड खोला, नाजाङ खोला र दुर्ला खोला गरि नौ स्थानमा काठेपुल निर्माण गरेको अध्यक्ष ठगुन्नाले बताए । 

दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले काठेपुल निर्माण पश्चात मानिस लगायत पशु चौपायालाई समेतलाई निकै सहज भएको बताए । उनले विभिन्न गैरसरकारी संस्था, नेपाली सेना, नेपाल प्रहरी, सामुदायिक वन लगायतको सहयोगमा काठेपुलको निर्माण गरिएको बताउदै अहिले खाद्यान्न ढुवानी लगायत आवतजावतमा कुनै बाधा नरहेको समेत बताए ।


 


Author

दीपक उपाध्याय

उपाध्याय इकागजका सुदूरपश्‍चिम प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x