समाज

पशुपतिनाथ मन्दिर शुक्रबारदेखि खुला

इकागज |
भदौ २३, २०७८ बुधबार २०:५९ बजे

काठमाडौँ – पशुपतिनाथ मन्दिर शुक्रबारदेखि खुला गरिने भएको छ । हरितालिका तीजमा महिला भक्तजनलाई मध्यनजर गरेर मन्दिर खुला गरिने भएको हो । बुधबार बसेको सुरक्षा समितिको बैठकले शुक्रबारदेखि मन्दिर खोल्ने निर्णय गरेको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले बताए  ।

कोभिड जोखिम कम हुन थालेपछि शुक्रबार बिहान ५ः३० बजेदेखि मन्दिर खुला गरिने भएको कोषका कार्यकारी निर्देशक खतिवडाको भनाइ छ । कोभिड जोखिम पूर्णरूपमा नहटेकाले दिउँसो १ बजेसम्म मात्र मन्दिर खुला गरिने उनले बताए । 


‘मन्दिर दर्शन गर्न जान चाहने भक्तजनले अनिवार्यरूपमा मास्क लगाउनुपर्नेछ ।  एउटा ढोकाबाट मन्दिर प्रवेश गरेपछि अर्को ढोकाबाट निस्कनुपर्ने साथै भक्तजनले भौतिक दूरी कायम गरेर लाममा बस्नुपर्ने र एकपटकमा २५ जना भक्तजनलाई मात्र मन्दिर प्रवेश दिइने छ,’ उनले भने । विशेष पूजा भने केही सातापछिदेखि खुला गरिने कोषले जानकारी दिएको छ ।  कोभिड महामारीका कारण ०७६ चैतमा पहिलोपटक बन्दाबन्दी हुँदा भक्तजनका लागि नौ महिनासम्म मन्दिर बन्द गरिएको थियो ।

११ चैत ०७६ देखि बन्द गरिएको मन्दिर १ पुस ०७७ देखि बिहान ६ बजेदेखि दिउँसो एक बजेसम्म खुला गरिएको थियो । विशेष पूजा भने २५ फागुनमा रहेको महाशिवरात्रिदेखि सुरु गरिएको थियो ।


Author

थप समाचार
x