समाज

ललितपुरस्थित पाटन दरबार संग्रहालय खुला

इकागज |
भदौ २३, २०७८ बुधबार २१:४९ बजे

ललितपुर – पाटन दरबार क्षेत्रमा अवस्थित पाटन संग्रहालय बुधबारदेखि खुलेको छ । कोभिड महामारी बढेसँगै १६ वैशाखदेखि बन्द गरिएको  संग्रहालय सर्वसाधारणका साथै आगन्तुकका लागि खुला गरिएको हो ।

बिहान १० देखि साँझ ४ः४५ बजेसम्म संग्रहालय खुला गरिएको निमित्त कार्यकारी निर्देशक सुरेशमान लाखेले बताए । ‘बुधबार ७० जनाले संग्रहालय भ्रमण तथा अवलोकन गर्नुभायो । जसमा धेरैजसो युवायुवती उपस्थित हुनुहुन्थ्यो,’ उनले भने । महामारीअघि दैनिक बिहान साढे ७ देखि साँझ ६ बजेसम्म संग्रहालय खुलाइने गरिएको लाखेले जानकारी दिए ।


ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले सोमबार एक सूचना जारी गरी बुधबारदेखि खुलाउन अनुरोध गरेसँगै आफूहरु अघि बढेको लाखेको भनाइ छ । ललितपुरमा संग्रहालयसहित पाटन दरबार क्षेत्रका साथै अन्य पर्यटकीयस्थलसमेत खुला भएका छन् ।

यसैगरी केही दिनअघिदेखि बंगलामुखीका साथै छेउमै रहेको कुम्भेश्वर महादेव मन्दिरसमेत खुला गरिएको कुम्भेश्वर टोल सुधार समितिका अध्यक्ष अरोजकुमार खड्गीले बताए । कुम्भेश्वर मन्दिर भर्खरै जीर्णोद्धार सम्पन्न भएकाले सो अघि लामो समय बन्द गरिएको खड्गीले जानकारी दिए ।


Author

थप समाचार
x