समाज

तनहुँमा पाँच दिनदेखि खानेपानी अवरुद्ध

इकागज |
भदौ २४, २०७८ बिहिवार ६:२४ बजे

फाइल फोटो

दमौली - ब्यास नगरपालिका–१ स्थित भादगाउँ करादी खिरखाँदी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले वितरण गर्दै आएको पानी अवरुद्ध भएको पाँच दिन बित्दा पनि सञ्चालन हुन सकेको छैन । सदरमुकाम दमौलीदेखि करिब १३ किलोमिटर दूरीमा पर्ने ब्यासनगरपालिका–१३ खिरखाँदीबाट ल्याएको खानेपानीको पाइप सोही वडास्थित धारापानीमा ठूलो पहिरा खस्दा अवरुद्ध भएकाले पानी सञ्चालन हुन नसकेको हो । 

गत भदौ १७ र १८ गते दुई दिन परेको अविरल वर्षापछि उक्त स्थानमा डाँडो नै खसेर क्षति हुँदा अस्थायी रूपमा पानी सञ्चालन गर्न प्रयास भइरहेको समितिका व्यवस्थापक ईश्वर श्रेष्ठले जानकारी दिए ।


पहिराले क्षति भएको स्थानहरूमा पाइप जडान गर्ने कार्य गरिए पनि पानी नझरेकाले अझै मर्मत गर्नुपर्ने देखिएको उनले बताए । पहिराले खानेपानीको पाइप बगाएर सेतीनदी किनारसम्म पुराएकाले पानी आपूर्तिमा कठिनाइ हो । डोजरले पनि पल्टाउन नसक्ने किसिमका ठूलाठूला ढुङ्गा थुपारेका कारण अस्थायी रूपमा भए पनि पोलिथिन पाइपको प्रयोग गरी पानी सञ्चालन गर्न प्रयास थालिएको हो । 

पहिरोले खानेपानीको २०० एमएम ६५ मिटर जीआई पाइप बगाएर क्षति हुँदा करिब पाँच लाख बराबरको क्षति भएको खानेपानी संस्थाले जनाएको छ । उक्त खिरखाँदीको मुहानबाट ल्याइएको पानीको क्षमता प्रतिसेकेन्ड नौ लिटर क्षमता रहेकामा पहिराले बगाएर अवरुद्ध हुँदा पानी वितरणमा समस्या देखिएको छ ।

उक्त खानेपानी संस्थाले ब्यासनगरपालिका–१ र १२ वडाका करिब दुई हजार ५०० घरधुरीमा पानी वितरण गर्दै आएको समितिका सचिव राजेश्वर हड्खलेले बताए । पहिराले क्षति बनाएपछि अस्थायी रूपमा पोलिथिन पाइप प्रयोग गरेर भए पनि चाँडो पानी सञ्चालन गर्न समितिले छलफल गरी निर्माण अघि बढाएको हो । रासस 


Author

थप समाचार
x