एक क्वीन्टल कुहिएको मासु जफत गरी नष्ट
फाइल फोटो
जुम्ला - जिल्ला प्रशासन कार्यालय जुम्लाले विभिन्न मासु पसलबाट बिग्रिएको करिब एक क्विन्टल मासु जफत गरी नष्ट गरेको छ । व्यापारीले कुहिएको अस्वस्थ मासु बिक्री–वितरण गर्ने गरेको अनुगमनका क्रममा पाइएको थियो । सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाईँको नेतृत्वको टोलीले हालै बजार अनुगमन गर्दा अस्वस्थ मासु बिक्री–वितरण गर्ने गरेको भेटिएको हो ।
अनुगमन टोलीले भारतीवाडा, कार्कीवाडा, कालेखोली र विमालस्थल लाइनमा सञ्चालित फ्रेसहाउस, मासु पसल र दैनिक खाद्यवस्तुको अनुगमन गरेको थियो । यसक्रममा खुला र अव्यवस्थितरूपमा बिक्री गर्दै गरेको अवस्थामा चार व्यवसायीको पसलबाट माछा र मासु जफत गरिएको सहायक प्रजिअ चौलागाईँले जानकारी दिए ।
उनले भने, ‘खुला ठाउँमा मासु बिक्री गर्दै गरेका तीन व्यवसायीको पसलबाट राँगा र भैँसीको एक क्विन्टल मासु तथा आठ किलो माछा जफत गरी सो मासु नष्ट गरिएको छ । हामीले यसअघिको अनुगमनका क्रममा खुला नालामाथि माछामासु बिक्री नगर्न भनेका थियौँ । व्यापारीले अटेर गरेपछि जफत गरिएको हो । सडेगलेको र कुहिएको मासु बिक्री गरेको पाइएपछि उपभोक्ताको हितका लागि जफत गरिएको हो । सडेगलेको मासुले बजार नै दुर्गन्धित बन्दै गएको छ ।’
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख अमृतसुमन भूषणका अनुसार बजारका छ मासु पसलसहित १८ खाद्य पसल अनुगमन गरी रु ६९ हजार ७४० बराबरको सामान नष्ट गरिएको थियो । व्यापारीले खुलारूपमै कुहिएको मासु बेच्दा र महिनौँदेखि नगरपालिकाले फोहर नउठाउँदा बजार दुर्गन्धित बनेको सहायक प्रजिअ चौलागाईँले बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया