समाज

हरितालिका तीज : पशुपतिनाथ मन्दिरमा भक्तजन र वर्तालुको बाक्लो उपस्थिति [फोटो फिचर]

इकागज |
भदौ २४, २०७८ बिहीबार २१:२० बजे

काठमाडौँ – हरितालिका तीजको अवसरमा काठमाडौंस्थित पशुपतिनाथ मन्दिरमा भक्तजन र वर्तालुको बाक्लो उपस्थिति देखिएको छ । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने तीज पर्वका अवसरमा बिहीबार पशुपतिनाथ मन्दिरमा पुगेर भक्तजन र वर्तालुहरूले भगवान शिवजीको दर्शनसहित पूजाआजा गरेका छन् ।


कोभिड– १९ संक्रमणको जोखिमलाई मध्यनजर गर्दै पशुपतिनाथ मन्दिर बन्द गरिए पनि सौभाग्यको प्रतीक रातो पहिरनमा सजिएर महिलाहरूले पशुपति क्षेत्रमा बिहानैदेखि जम्मा भई पूजाआजा गरेका छन् ।

कोभिड–१९ संक्रमणको जोखिम कायमै रहेकाले दुईवर्षअघि जतिको संख्यामा उपस्थिति नभए पनि बाक्लै संख्यामा महिला भक्तजनहरू पशुपति क्षेत्रमा उपस्थित भएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले बताए ।

 

पशुपति क्षेत्र आउने महिलालाई भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर तीज पर्व मनाउन दिइएको उनको भनाइ छ । अटल सौभाग्यको कामनाका लागि, सन्तान प्राप्तिका लागि, अविवाहितले असल वर र वधु प्राप्तिका लागि पनि तीजको व्रत बस्ने शास्त्रीय मान्यता रहँदै आएको छ ।

 नारीले परिवारको अभिभावकका रूपमा प्रतिनिधित्व गरी व्रत बस्ने भएकाले नसकेको अवस्थामा अथवा रजस्वला भएका बेलामा पुरुषले पनि व्रत बस्ने गरेका छन् । तीज व्रत गरेका वर्तालुले भाद्र शुक्ल चतुर्थीका अवसरमा (यो पटक भोलि शुक्रबार) व्रत उद्यापन गरेरमात्र  भोजन गर्ने परम्परा छ ।

 

स्वास्थ्य समस्या हुनेले भने आजै फलाहार गर्छन् । विगतमा तीज आउन महिना दिन बाँकी रहँदै गाउँदेखि सहरसम्म तीजका गीत गुञ्जिसक्थे । सामूहिक रूपमा भेला भएर रातो पहिरनमा नाचगान गरेर र दर खाएर महिलाहरू रमाउने गर्थे । कोभिड संक्रमणका कारण  यसपालि भने तीजमा खुला रूपमा नाचगान गर्ने चलन प्रभावित बनेको छ ।

 

यसैबीच बिहीबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रपति विद्यादेवी भण्डारीले देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली नारीहरूलाई तीजको शुभकामना व्यक्त गर्दै सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालना गरेर तीज मनाउन आग्रह गरेका थिए ।

 


Author

थप समाचार
x