समाज

विमानस्थलमा दाजुको शव खोजिरहेका भाइका पाइला

अतिन आचार्य |
भदौ २६, २०७८ शनिबार १३:५८ बजे

काठमाडौँ-  'मासिक पेन्सन आइरहेको छ । विदेशभन्दा नेपालमा सेक्युरीटी गार्डको काम गर्नु न दाजु भनेको थिएँ, दाजुले सुनेनन्,' एक भाइले वेदना सुनाए । पीडा र गुनासो दुवै छ । त्यति बेला सुझाव नसुनेका दाजु अब कहिले पनि सुन्ने छैनन्। सपनाको भारी बोकेर विदेसिएका दाजु आएनन् । उनको शव आएको छ ।  जसले न बोल्‍छ न सुन्‍छ । उनले  दाजु गुमाए । उनी दाजु मात्रै थिएनन् एक असल साथी पनि थिए । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार बिहानै भाइ मलिन अनुहार बनाएर ओहोरदोहोर गरिरहेका थिए । कैलाश यादवका माइलो दाजु डेढ वर्षअघि मलेसिया गएका थिए । दाजु जाँदा सकुशल गएका थिए, बिरामी पनि थिएनन् । स्वास्थ्य अवस्था राम्रै थियो । तर, फर्किदा लास बनेर फर्किए । 


कैलाशका दाजु राकेश कुमार यादवको ब्रेन हेम्ब्रेजका कारण १५ दिनअघि निधन भयो । कामबाट आएर कोठामा बसिरहेको समयमा उनी ढलेका थिए । त्यसपछि उठेनन् । 'उपचार गर्न पुर्‍याएको केही समयमा अस्पतालले दाजुलाई मृत्यु भएको घोषणा गर्‍यो,' भाइले भने ।

सप्‍तरी विष्णुपुर गाउँपालिका १ का राकेश वैदेशिक रोजगारीमा जानुअघि नेपाली सेनामा कार्यरत थिए । उनले २२ वर्ष नेपाली सेनामा बिताए। पेन्सन पाएको करिब १ वर्षभित्रमा उनी मलेसिया पुगे।

सशस्त्र युद्धका समयमा देशका विभिन्न ठाउँमा राकेशले आफ्नो जागिरे जीवन बिताए । 'जनयुद्धमा पनि दाजु लाहुरे भएर बाँचे,' भाइ कैलाश भन्छन्,' धन कमाउन मलायको लाहुर हुन गएको दाजु बाँचेर आएनन् ।'

राकेशको जेठा दाजुबाहेक सबै नेपाली सेनामा  थिए । उनी मात्र सेनामा थिएनन् । उनीसहित अरु दुई भाइ साइँला र कान्छासमेत सेनाको जागिरमा छन् । त्यसैगरी बाबाबाहेक उनीहरूका तीनै जना काकाहरू पनि सेनाबाट बिदा भइसकेका छन् ।

'दाजुको पेन्सन मासिक १५ हजार आइरहेको थियो । नजानु भनेँ, मानेनन्,' भाइ कैलाशले थपे,' घर-सल्लाहमा विदेश गएका होइनन् । विदेश जाने अघिल्लो दिन मात्र खबर गरेको थियो ।'

स्वदेशमा लाहुर बनेका राकेश मलेसियामा लाहुरे बन्न गएका थिएनन् । नाभासिल सर्भिसिङ कम्पनीमा सेक्युरीटी गार्डको रूपमा काम गर्थे । मासिक १८ सय रिङ्गेट पाउने शर्तमा उनी मलेसिया गएका थिए । विदेश गएको लगानी उनले उठाइसकेका थिए । सेनामा जागिर खाएकाले उनले विदेश जान ऋण खोज्नु परेको थिएन । आफूलाई ऋण नलागे पनि आफ्नो कमाइको पैसा उनले लगानी गरेर गएका थिए ।

शनिबार राकेशसहित ६ जनाको शव र ११ वटा अस्तु मलेसिया र साउदी अरबबाट २ वटा शव आएको थियो । मलेसियाबाट सप्‍तरी, भोजपुर, मोरङ,बैतडी, रोल्पा र महोत्तरीका कामदारको शव ल्याइएको थियो ।


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x