समाज

पशुपतिको जलहरीमा अनियमितता भएको छैनः पशुपति क्षेत्र विकास कोष

इकागज |
भदौ २६, २०७८ शनिबार १६:४६ बजे

काठमाडौं - पशुपतिनाथको शिव लिंगमा राखिएको सुनको जलहरिमा कुनै अनियमिता नभएको पशुपति विकास कोषले जनाएको छ । कोषले नेपाल सरकार तथा कोषको लागतमा स्थापना गरिएको जलहरी कोषका पदाधिकारी, मूलभट्ट, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको विशेष निगरानीमा सीसी क्यामेराहरूको समेत प्रयोग गरी जलहरी निर्माण तथा स्थापना गरिएको प्रेस विज्ञप्ति मार्फत जनाएको छ । 

कोषका कार्यकारी निर्देशक डा.घनश्याम खतिवडाद्धारा जारी प्रेस विज्ञप्तिमा यसरी सम्पन्‍न गरिएको जनहरीमा कुनै पनि किसिमको अनियमितता नभएको उल्लेख छ ।  
विज्ञप्तिमा जलहरीलगायत विविध विषयलाई लिएर पशुपति क्षेत्र विकास कोष तथा सम्बन्धित पदाधिकारीहरूको व्यक्तिगत मान मर्यादामा समेत आँच पुग्ने किसिमको तथ्यहीन, भ्रमपूर्ण र कपोलकल्पित समाचार विभिन्न सञ्चार माध्यमबाट प्रसारण तथा प्रकाशन गरेको प्रति कोषको ध्यानाकर्षण भएको उल्लेख छ ।


'भगवान् पशुपतिनाथको गरिमालाई अझ समुच्च बनाउनु हामी सबैको परम दायित्व हो भन्ने कुरामा हामी सदैव सचेत रहँदै कार्यसम्पादन गर्दै आएका छौँ । तसर्थ, यस्ता अर्नगल प्रचारको भ्रममा नपर्न सम्पूर्ण सञ्चारकर्मी तथा सम्बन्धित सबैमा जानकारीका साथ अनुरोध गर्दछौँ,' विज्ञप्तिमा उल्लेख छ ।

पशुपतिनाथमा रहेको शिवलिंगको जलहरिबारे उजुरीका आधारमा अनुसन्धान भइरहेको र अनियमितता भएकै छ भने स्थिति अहिले नरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिए ।   


Author

थप समाचार
x