समाज

सुर्खेतमा दिनहुँ बढ्दो अटोरिक्साको मनपरी

चर्को भाडा तिर्छन् यात्रु, नियमन निकाय बेखबर

जितेन्द्र थापा |
भदौ २७, २०७८ आइतबार १८:४० बजे

सुर्खेत– सुर्खेतको वीरेन्द्रनगर ९ कि मनकला राना दिनको तीनपटक अटो चढेर विरामी आफन्तलाई भेट्न प्रदेश अस्पताल पुग्छिन् । तीनै पटक अटो चढेर अस्पताल पुग्दा फरक फरक तिर्छन् । 

सुर्खेत ऐरिचोकबाट प्रदेश अस्पताल पुगेको कहिले पचास, असी रुपैयाँदेखि एक सय रुपैयाँसम्म तिर्छन् । भाडा यति तोकेको होइन र ? भन्दा अटो व्यवसायीले उल्टै कहाँ यति–उती हुनु भन्दै थर्काउने गरेको मनकला बताउँछिन् । 


त्यस्तै वीरेन्द्रनगर–३ मा कोठा भाडा लिएर बस्दै आएका दैलेखका रुपेश सिजापतीले पनि एकरुपता भाडा कहिलेही तिर्न पाएनन् । मंगलगढीबाट एयरपोर्ट चोक पुगेको एकसय रुपैयाँ तिरेको सुनाउँछन् । ‘दैनिक रुपमा यताउती हिँडिरहनुपर्छ आफूसँग कुनै साधन छैन’, उनले भने, ‘यसरी अटो चढ्दा दिनमा चार पाँच सयदेखि आठ सयसम्म खर्च हुन्छ, अटो नचढौँ भने नि नहुने चढौँ त दिनकै ठग्छन् ।’

वीरेन्द्रनगर–६ का मम्फा पनि यताउती जादा अटो प्रयोग गर्छिन् । उनले पनि अटोमा एकरुपको भाडा कहिले नतिरेको बताउँछिन् । ‘प्रत्येक अटोले फरक फरक पैसा उठाउँदै आएका छन्, ‘उनले भनिन्, ‘वीरेन्द्रनगर नगरपालिकाले अटोसम्बन्धि कार्यविधि बनाएको भन्ने सुनेको अहिलेसम्म कागजमै सीमित छ ।’

अटो व्यवसायीले जथाभावी भाडा लिन्छन् भनेर बारम्बार नगरपालिकाले खबर गरे पनि मुकदर्शक भएर हेरिरहेको छ नगरपालिकाले । उल्टै जवाफ आउँछ, ‘हाम्रो काम होइन ट्राफिकको काम हो ट्राफिकलाई फोन गर्नुस् ।’ ट्राफिकलाई फोन ग¥यो भने जवाफ मिल्छ, ‘हामीले गर्ने जति गरेकै छौँ ।’

वीरेन्द्रनगरमा च्याउ उम्रे जस्तै अटो प्रशस्त मात्रामा देख्न पाइन्छ । दैनिक कामकाजका लागि यताउती गर्ने यात्रुबाट जथाभावी रुपमा भाडा उठाउँदा यात्रु मारमा परेका छन् ।

अटो भाडा व्यवस्थापन र चर्को भाडा उठाउने अटो व्यवसायीलाई कारबाही गर्न बारम्बार आवाज उठ्दा पनि सम्बन्धित निकाए रमिते बनेको वीरेन्द्रनगर–५ का रमेश सिंहको गुनासो छ । ‘अटो व्यवसायले चर्को भाडा उठाउँदा दिक्दार छौँ, भाडाको विषयमा यसअघि पनि धेरै कुरा उठे,’ उनले भने, ‘जति कुरा उठे पनि नियमन निकाय आँखा कान बन्द गरेर बसेका छन् ।’  

वीरेन्द्रनगर सुर्खेतमा अटो चालकले मनपरि भाडा असुल्दा यात्रुहरू मारमा परेका छन् । अटो व्यवसायीले जथाभावी भाडा उठाउँदा पनि सम्बन्धित निकाय भने मौन बसेको छ । 

भाडादर महँगो भन्ने विषयमा बारम्बार कुरा उठ्ने गरे पनि व्यवस्थापनमा कसैको चासो गएको छैन । अटोरिक्साले यसरी मनपरी रुपमा महँगो भाडा उठाउँदा पनि सम्बन्धित निकाय मौन बसेको दैलेखका खम्म शाही बताउँछन् । ‘भाडादर तोकिएको भन्दा डबल लिइरहँदा पनि नियमनकारी निकाय भने बेखबर छ,’ उनले भने, ‘सम्बन्धित निकायले अनुगमन नगरेकै कारण अटो रिक्सा चालकले मनपरी भाडा असुल्छन् ।’ 

भाडादरमा मात्र समस्या नभइ अटोमा यात्रा गर्दा जोखिम पनि उस्तै छ । अधिकांश चालकहरूसँग सवारी लाइसेन्स समेत छैन । लाइसेन्सविनाका चालकले तीव्र गतिमा हाँक्दा दुर्घटनासमेत हुने गरेको छ । 

वीरेन्द्रनगर नगरपालिकाले नगर क्षेत्रमा सञ्चालित अटो तथा ई–रिक्सालाई व्यवस्थित सञ्चालन गर्न निर्देशिका जारी गरेको छ । अटो रिक्सा अव्यवस्थित रूपमा सञ्चालन भइरहेको गुनासो बढेपछि नगरपालिकाले २०७५ सालमै निर्देशिका बनाइ सोहीअनुसार सञ्चालन गर्नु भनेको थियो । 

उक्त निर्देशिकामा उपत्यकाका सबै क्षेत्रमा रुट र भाडादरसमेत तोकिएको छ । निर्देशिका अनुसार, वीरेन्द्रनगर उपत्यकाका जुनसुकै ठाउँमा पुग्न पनि ६० रूपैयाँभन्दा बढी भाडा लिन नपाइने भनिएको छ । तर चालकले तोकेभन्दा धेरै भाडा असुल्दा पनि नियमन निकाए बेखबर छ । 

कच्ची पक्की र फरक छ । पिच र ग्राभेल भएको बाटोमा अटो चढ्दा त्यस्को रेट फरक–फरक रहेको वीरेन्द्रनगरपालिका मेयर देवकुमार सुवेदीले भने । ‘यदि कोही कसैले तोकेको रेटभन्दा धेरै भाडा असुल गरे ट्राफिक प्रहरीलाई अटोको नम्बरसहित खबर गरे कारबाही हुन्छ ।’ 

गत आर्थिक वर्षमा मात्रै ४१ वटा अटोरिक्सा दुर्घटना भएका थिए । ट्राफिक नियमको पालना नगर्ने, तीव्र गतिका कारण ४१ अटो दुर्घटनामा परेका ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख उपेन्द्र आचार्यले बताए । दुर्घटनामा परी ७४ जना घाइते भएका थिए । प्रमुख आचार्यका अनुसार वीरेन्द्रनगरमा पचास प्रतिशत भन्दा धेरै अटो चालकसँग लाइसेन्स छैन । 

‘सवारी चाप बढेसँगै ट्राफिक व्यवस्थापनमा ट्राफिक दिनरात खतिरहेकै छौँ,’ प्रमुख आचार्यले भने, ‘ट्राफिक एक्लैले मात्र गर्न सम्भव नभएकाले यसमा सबैको सहयोगको अपेक्षा गरिएको छ ।’

आचार्य भन्छन्, ‘नगरपालिकाले सहलियतमा अटो रिक्सा दिन्छ । यस्मा नगरपालिकाको पनि विषेश चासो हुनुप्रथ्यो, नगरपालिकाले ट्याक्स लिन्छ र नगरपालिकाले व्यवस्थापनमा पनि चासो देखाउनुपर्छ ।’पछिल्लो समय तोके भन्दा धेरै भाडा उठाउने अटोलाई एकहजार जरिवाना छ । 

सुर्खेतको वीरेन्द्रनगर कर्णाली प्रदेशको राजधानी हो । यहाँका प्रमुख सडकदेखि फोरलोन सडकको अवस्था उस्तै छ । राजधानी भएकाले पनि अत्यधिक सवारी चाप बढेसँगै सडकमा पानि पर्दा हिलाम्मे र घाम लाग्दा धुलाम्मे हुने गरेका छन् । जस्का कारण यात्रुले सास्ती झेल्दै आएका छन् । पुनःनिर्माणको काम समयमा गर्दा नसक्दा सडकमा यात्रा गर्ने यात्रीहरूले पनि सास्ती भोग्दै आएको स्थानीयको भनाइ छ ।

वीरेन्द्रनगरको मंगलगढी, लाटीकोइली हुँदै ऐतिहासिक काके्रबिहार जोड्ने बाटोको पुनःनिर्माणको काम अलपत्र पत्र युत्रुले सस्ती भोग्दै आएको वीरेन्द्रनगर–९ का मोती परियार बताउँछन् । 

पानी पर्दा हिलो सडकमा यात्रा गर्न समेत अप्ठेरो हुन्छ । निर्माणको चरणमा रहेको सडक लामो समयदेखि अलपत्र अवस्थामा छ । लामो समय हुँदा पनि पुनःनिर्माण हुन सकेन के राजधानीको सडकको अवस्था यस्तै भइरहने हो त ? 

सुब्बाकुना –बाङ्गेसिमल,मंगलगढी काक्ेविहार एरर्पोट चोक र नगरपालिकाका वडाहरू जोड्ने सडकको बेजोग अवस्था नागरिकले सास्ती भएको छ । पानी पर्दा हिलाम्मे र घाम लाग्दा धुलाम्मे हुँदा नजिकका बस्तीमा बस्नै नसकिने अवस्था रहेको अर्का स्थानीय प्रमोद पाण्डे बताउँछन् । बजेट हुँदा हुँदै पनि सरकारी क्षेत्रको ठुलो कमजोरीका कारण सडक निर्माणको काम अघि बढ्न नसक्नु प्रदेश र स्थानीय सरकारको कमजारी हो ।

ऐतिहासिक क्षेत्रका सडको नाजुक अवस्था देखेर यहाँ आउने पर्यटकलाई पनि दिक्क लाग्ने गरेको वीरेन्द्रनगर ६ का नमन शाहीको भनाइ छ । 

चालु आर्थिक वर्षमा राजधानी एकिकृत पूर्वाधार विकास कार्यक्रम अन्र्तगत ५० करोड छुट्याएको भौतिक पुर्वाधार विकास मन्त्रालयका प्रशासन योजना तथा अनुगमन महाशाखाका सिडिइई गोपाल शर्माले जानकारी दिए । उनका अनुसार मंगलगढी काक्रेविहार सडकको काम लगत्तै संचालन हुने र अरु सडकको काम पनि तत्काल संचालन गर्नेगरी ठेकेदार कम्पनीहरूलाई ताकेता गरिएको छ । 
 


Author

थप समाचार
x