समाज

खुला सीमाको प्रभाव

रोहिंग्यालाई शरणार्थी बनाउन प्रतिव्यक्ति ५० हजार टाका लिएर कसले नेपाल भित्र्याउँदैछ ?

मुलुकभर रहेका रोहिंग्या मुस्लिमको संख्या सरकारलाई थाहा छैन

अतिन आचार्य |
भदौ ३१, २०७८ बिहिवार १९:३७ बजे

काठमाडौँ- म्यानमारबाट भागेर बंगलादेशमा शरण लिएका रोहिंग्या समुदायका मुस्लिमहरू शरणार्थी बन्‍न पाइने लालसामा पैसा तिरेर नेपाल भित्रिन थालेका छन् । पछिल्लो समय दलालको प्रलोभनमा परेर उनीहरूले प्रतिव्यक्ति बंगलादेशी रुपैयाँ ५० हजार टाका तिरेर नेपाल प्रवेश गर्न थालेका हुन् ।

खुला सीमाका कारण पुर्वी नेपालको काकडभिट्टा र जोगबनी नाकाबाट निर्वाध रूपमा रोहिंग्याहरू प्रवेश गर्ने गरिरहेका छन् । कोभिड-१९ को महामारीमा पनि भारत र बंगलादेशको रोहिंग्या शरणार्थी बसेको शिविरमा दलालहरू जाने गरेका छन् । नेपाल जान पाएमा शरणार्थी बन्‍न राम्रो सेवा-सुविधा प्राप्‍त गर्न सक्ने प्रलोभन दिलाउने गरेका छन् । सातामा १५ जनाको संख्यामा रोहिंग्याहरू भित्रिन थालेका छन् ।


नेपालमा जान पाएमा विभिन्‍न मुलुक अमेरिका , क्यानडा र अष्ट्रेलिया जस्ता मुलुक जान पाउने आश्‍वासन पाएकाले उनीहरू भारी रकम तिरी नेपाल छिर्ने गरेका छन् । उनीहरूलाई भारत, बंगलादेश र नेपालमै शरण लिएर बसिरहेका रोहिंग्या समुदायका मानिसहरू ल्याउन संलग्‍न छन् । नेपालमा राष्ट्र संघीय शरणार्थी उच्चायोगकाे कार्यालय रहेका कारण दलालहरुले त्यस्तो आश्वासन दिएका हुन् । 

काठमाडौँमा प्रवेश गरिसकेपछि रोहिंग्यालाई व्यवस्थापन गर्न तीन जना दलालहरू सक्रिय रहेको कपनमा शरण लिइरहेका जाहिद आलमले जानकारी दिए ।उनकाअनुसार एक बंगलादेशी र दुई जना रोहिंग्या छन् । बंगाली नागरिक आजमौद कालीमाटीमा व्यापार गरेर बस्छन् । दुई जना रोहिंग्या युवा सफीक आलम र मुबारक हुसेन आफ्ना समुदायका मानिसलाई सहयोग गर्नका लागि काठमाडौँमा सक्रिय रूपमा लागेका छन् ।

भारतबाट नेपाल छिराउन पनि तीनै जना दलाल सक्रिय छन् । बंगलादेशी नागरिक हृदय, रोहिंग्या मुस्लिम समुदायका मौलाना जुबेर र अर्का नुरुल अमीन भने अहिले बौद्ध प्रहरी वृत्तमा हिरासतमा छन् । अमीनका अन्य सहयोगी पाँच जना सहयोगी भने फरार छन् । नेपाल प्रवेश गरेपछि काठमाडौँमा रहेका उनीहरूकै सहयोगीले व्यवस्थापन गर्ने गरेका छन् । उनीहरूले बालाजु र कालीमाटीमा अस्थायी बसोबास गर्न प्रबन्ध गरिरहेका छन् ।

भारतको शरणार्थी शिविरबाट ४० वर्षीय खुसन अहमद ४ दिनमा काठमाडौँ आइपुगे । उनले काठमाडौँसम्म आइपुग्‍न बंगलादेशी ५० हजार टाका बुझाएका थिए । दुई दम्पत्तीसहित ६ जना बालबालिका लिएर आएका उनले शरणार्थी बन्‍ने सपना पूरा नहुने थाहा पाए । रोहिंग्या समुदायमा साथीको विवाहमा गएको समयमा खुसनले आफू ठगिएको थाहा पाए ।

शरणार्थी बनेर अमेरिका र क्यानडा जाने प्रलोभनमा आएका थिए, उनी । ठगिएको थाहा पाएपछि शरणार्थी आयोग नेपाल स्थित कार्यालयमा पुगेका थिए । दलालले ठगेर काठमाडौँ ल्याएको थाहा पाएपछि शरणार्थी आयोगले अध्यागमन विभागमा लगेर उनलाई जिम्मा लगाएको थियो । आयोगले साथमा विभागमा उनीहरूलाई पनि लिएर गएको थियो ।

देशभरका जिल्ला प्रशासन कार्यालयलाई भारतबाट प्रवेश गर्नेहरूलाई कडाइ गर्न  निर्देशन गरिसकेको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोख्रेलले जानकारी दिए । बाहिरबाट आएका मानिसमा शंका लागेमा कडाइका साथ अनुसन्धान गर्न पनि निर्देशन दिएको उनले बताए । 'परिचय पत्र देखाएर मात्र उनीहरूलाई प्रवेशको अनुमति दिन भनेका छौ,' उनले भने ।

कति छन् रोहिंग्या ?

गृह मन्त्रालयलाई देशभर रोहिंग्या समुदायका मानिस कति बस्छन थाहा छैन । बुढानिलकण्ठ नगरपालिकामा बसोबास गरिरहेका रोहिंग्याहरूको गणना गर्न अध्यागमन विभागलाई निर्देशन दिएको प्रवक्ता पोख्रेलले जानकारी दिए । लुकीछिपी प्रवेश गरेका रोहिंग्याहरूलाई पक्राउ गरिने पोख्रेलको भनाइ छ । '१४ जना रोहिंग्यालाई पक्राउ गरिसकिएको छ, ' उनले भने ।

सन् २०१२ देखि रोहिंग्या समुदायका मानिसहरू नेपाल प्रवेश गर्न थालेका हुन् । म्यानमारबाट आफ्नो ज्यान बचाउनका लागि स्वदेश छोडेका थिए । फरक धर्म समुदायका मानिसलाई राज्यले अभद्र व्यवहार गर्ने र मार्न थालेपछि उनीहरू आफ्नो जन्मथलो छोडी पराई भूमिमा बसिरहेका छन् ।

बुद्धिस्ट धर्म अवलम्बन गरेकाहरूले उनीहरूलाई ज्यान मार्ने तथा देश निकाला गर्न थालेपछि उनीहरू भारत हुँदै नेपाल प्रवेश गरेका थिए । काठमाडौँको विभिन्‍न ठाउँमा गरी १७१ घर परिवार बसोबास गरिरहेका छन् । कपनको राम मन्दिरमा ८५ र लसुनटारमा ८६ घरपरिवार बसोबास गरिरहेका छन् ।


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x