समाज

रैथाने संस्कृति र शिल्पकला केन्द्र स्थापनाका लागि बहसको थालनी

पूर्वसचिव मानबहादुर बिकेको संयोजकत्वमा ९ सदस्यीय समिति गठन

इकागज |
भदौ ३१, २०७८ बिहीबार २०:१५ बजे

तस्बिर : डीबी नेपाली

काठमाडौँ - मजबुत शैक्षिक र आर्थिक अवस्थाले नै समाजमा व्यक्तिको स्तर निर्धारण गर्छ । सरकारी तथ्यांक अनुसार नेपालको १३ दशमलव ८ प्रतिशत जनसंख्या रहेको अति सिमान्तकृत शिल्पी अर्थात दलित समुदाय तथा ५० प्रतिशत भन्दा बढी संख्यामा रहेका मुस्लिम, जनजाति, पिछडावर्ग लगायत समुदायको गरिबी र शैक्षिक अवस्था अहिले पनि दयनीय अवस्थामा छ । उनीहरुको पुख्र्यौली ज्ञान परम्परामा आधारित रैथाने मौलिक सँस्कृति, सम्पदा र सभ्यता ओझेलमा पारिएको छ । यी समुदायहरुको इतिहास र पहिचान आजका दिनसम्म सकारात्मक बन्न सकेको छैन । 

विगत लामो समयदेखि राज्यबाट नै नीतिगत रुपमै उनीहरुलाई बहिष्करणमा पारिएका छन् । यो सबै प्रभाव, प्रभुत्व र वर्चस्वशाली शासकीय एकाधिकारकै कारणले गर्दा भएकोमा द्धिविधा छैन । यि र यस्ता विविध विषयहरुका साथै सामूहिक आत्मसम्मान, पहिचान, इतिहास, कलासँस्कृति, सम्पदा, सभ्यताको संरक्षण, खोज, सम्वद्र्धन गरिनु आजको आवश्यकता हो । त्यसका लागि ज्ञानको खोजी, प्रवद्र्धन र जीवनोपयोगी प्रयोगको खाँचो महसुस विगत केही समयदेखि गरिँदै आइएको थियो । 


त्यसका लागि सामुदायिकस्तरमा विद्यालय, क्यापसदेखि उच्च शैक्षिक संस्था विश्वविद्यालयको स्थापनाका सन्दर्भमा के कसरी अगाडि बढ्न सकिन्छ ? भन्ने विषयमा यस सम्बन्धी रुचि र चासो राख्ने केही व्यक्तिहरुका बिचमा बहसको थालनी भएको छ । नेपाल सरकारका पूर्व सचिव डा. मानबहादुर बिकेको अध्यक्षतामा बुधबार प्रारम्भिक छलफल सुरु भएको हो । कुपण्डोलस्थित फेडोको सभाहलमा भएको कार्यक्रममा अध्येता, अभियान्ता र दलित तथा शिल्पी समूदायका व्यक्तित्वहरुको उपस्थिती थियो । 

अधिवक्ता तथा आमसञ्चारकर्मी चक्रमान विश्वकर्माले कार्यक्रमको पृष्ठभूमिसहित कार्यक्रमको सहजीकरण गरेका थिए । इतिहास, सँस्कृतिविद्ध डा. गोविन्द नेपालीले अवधारणपत्र पेश गरेका थिए । उनले  रैथाने शिल्पकलालाई आधुनिकीकरण, व्यवसायीकरणमार्फत जीवनयापनका लागि जोड्न सकिने, सामुदायिक पुख्र्यौली ज्ञान परम्परामा आधारित शिल्पकलाको संरक्षण गर्दै भावी पुस्तालाई हस्तान्तरण गरिनुपर्ने बताए । यसले दलित समूदायको पहिचान र आत्मसम्मानलाई समेत माथि उठाउने कुरा प्रारम्भिक अवधारणमा प्रस्तुत गरेका थिए । 

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका उप–प्राध्यापक डा. सलिम धोबी, सामाजिक अभियन्ता कमला हेमचुरी, जातीय विभेदविरुद्धको अन्तराष्ट्रिय मञ्चका तीर्थ वर्मा, समाजसेवी इन्दिरा घले, विद्यालय सञ्चालक राजन विश्वकर्मा, लेखक तथा अध्येता डिबि.नेपाली (दमु), सङ्गीत थेरापिष्ट केदार गान्धारी, एभरेष्ट कलेजका सञ्चालक समितिका अध्यक्ष शंकर दुलाल, शोधकर्ताहरु नन्द नेपाली, गोपाल बादी, देवीसरा बादी लागायत विभिन्न क्षेत्रका विद्धान, वुद्धिजीविहरुको उपस्थिती थियो । सहभागिहरुले प्रारम्भिक छलफललाई आगामी दिनमा अझै विस्तृत रुपमा अगाडि लैजानुपर्ने राय व्यक्त गरेका थिए । 

आगामी दिनमा छलफललाई निरन्तरता दिन डा.मानबहादुर बीकेको संयोजकत्वमा ९ सदस्यीय समिति समेत गठन गरिएको छ । डा.गोविन्द नेपाली सदस्य सचिव रहेको समितिमा चक्रमान विश्वकर्मा,  डा.सलिम धोबी, राजन विश्वकर्मा, इन्दिरा घले, डिबि. नेपाली (दमु), गोपाल नेपाली, देवीसरा बादी रहेका छन् । संयोजक बीकेले यसलाई जतिसक्दो छिटो विभिन्न विकल्पसहित एउटा खाका बनाई बहस, छलफलबाट प्राप्त रायसुझाव अनुसार अगाडि बढाइने बताएका छन् । सो अनुसार सम्बन्धित सरोकारवाला निकायहरुसँगको सहकार्यमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए । 


Author

थप समाचार
x