समाज

दश हजार नेपाली कामदार कहिले जान पाउँछन कोरिया ?

कोरियाले शर्त राखेको दुई महिना पुग्दासमेत प्रक्रिया अघि बढेन

अतिन आचार्य |
असोज १, २०७८ शुक्रवार १८:१५ बजे

फाइल तस्बिर

काठमाडौँ- नियमित रुपमा नेपाली कामदार कोरिया जान नपाएको करिब १८ महिना भइसकेको छ । खाडी मुलुकतर्फ धमाधम नेपाली कामदार जान थाल्दा पनि सबैभन्दा बढी आकर्षक मानिएको मुलुक कोरिया जान पाएका छैनन् । इजरायल जान आवेदन लिएको एक महिनामै परीक्षा पनि सम्पन्‍न भइसकेको र कामदार छनौटका लागि अन्तर्वार्ताको मिति समेत तय भइसकेको छ । तर, कोरियातर्फ  कामदार लैजान  अझैसम्म प्रक्रिया अगाडि बढेको छैन ।

कोभिड-१९ महामारीको अन्त्य नहुँदा कामदार पठाउन अन्यौल कायमै छ । एक वर्ष अघिदेखि नेपाली कामदार नियमित रूपमा कोरिया जान पाएका छैनन् । कामदार जान नपाउदा प्रत्यक्ष रुपमा नेपाली कामदार प्रभावित हुन थालेका छन् । मुलुकलाई भित्रिने रेमिटयान्समासमेत यसको प्रभाव पर्न थालेको छ । कोरियाबाट महामारीभन्दा अघि वर्षेनी १८ अर्ब ४३ करोड रुपैयाँ रेमिटयान्स भित्रिने गरेको थियो ।


नेपाललाई कोरियाले कोभिडको उच्च जोखिमयुक्त मुलुकमा राखेपछि कामदार जानबाट बञ्‍चित बनेका हुन् । कमिटेडेड, श्रम सम्झौता र नियमित भाषा परीक्षा गरी कुल १० हजार कामदार कोरीया जाने दिनको पर्खाइमा छन् ।

कोरिया र नेपाल सरकारको बिचमा कामदार पठाउन वार्ता भए पनि त्यसले मुर्तता पाउन सकेको छैन । नेपालमा भिसा प्राप्‍त गरी बसेका कामदारलाई कोरिया पठाउन सदनमा पनि आवाज उठन थालेका छन् ।

व्यवस्थापन तथा सरकारी आश्‍वासन समितिको निर्देशन कार्यान्वय भएन

साउन १७ गते राष्ट्रिय सभा अन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्‍वासन समितिको बैठकले इपिएस परीक्षा पास गरेर बसेका कामदारलाई तत्काल दक्षिण कोरिया पठाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌ कार्यालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, परराष्ट्र मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको थियो । इपिएस परीक्षा पास गरेर बसेका करिब १० हजार कामदारहरुले दक्षिण कोरिया पठाउने काममा सरकारले आलटाल गरेको भन्दै समितिमा उजुरी दिएका थिए । 

पछिल्लो समय कोरियन पक्ष र नेपाली सरकारी अधिकारीबीच कामदार पठाउन वार्ता हुन थालेको छ । दुवै पक्षबीच वार्ता भएका कारण कोरियाले नेपाली कामदार लान शर्तसमेत राखिसकेको छ । शर्तमा सिधा उडान, बीमा, क्‍वारेन्टीन खर्च कामदारले व्यहोर्ने र कोभिड नेगेटिभ रिपोर्ट साथमा लिएर जानुपर्ने छ । 

असारको तेस्रो साता कोरियाले नेपाली कामदार लैजान शर्त राखेको थियो । कोरियाले शर्त राखेको करिब अढाई महिना भइसक्दा पनि कामदार लैजाने पक्रिया अगाडि बढेको छैन ।

कोरियन पक्षसँग निरन्तर संवादमा भइरहेकाले कातिको पहिलो सातासम्म कामदार कोरिया जान सक्ने सम्भावना रहेको इपीएस कोरिया शाखाका निर्देशक सुरेश राउतले बताए । नेपालमा कोभिड संक्रमितको संख्या कम हुँदै गएकाले पनि कोरियाली पक्ष नेपाली कामदार लाने विषयमा सकरात्मक बन्दै गएको उनले दाबी गरे ।

'कोरियाले राखेको शर्तअनुसार काम गरिहेका छौ,' राउतले भने,' बीमा गर्न कम्पनीको छनौट, सिधा उडान गर्न वायुसेवा कम्पनीलाई आवेदन दिइसकेका छौ ।' कम शुल्कको टीकटमा जसले कामदारलाई लान्छन ती कम्पनीले अनुमति पाउने उनको भनाइ छ ।

आगामी साता कुन एयरलायन्सले कामदार लान पाउने त्यसको छनौट प्रक्रिया सम्पन्‍न गरिसक्ने राउतले जानकारी दिए । नेपालकै एयरलायन्सले कामदार लान पाउने छन् । 'कामदारका लागि टीकटको मूल्य अहिले सार्वजनिक गर्न मिल्दैन,' उनले थपे ।

कामदार पठाउन सुरु गरेसँगै भाषा परीक्षा लिन तयार गरिने

सरकारले 'कमिटेडेड' भिसा प्राप्‍त गरेकालाई पहिलो प्राथमिकतामा राखेर कोरिया पठाउन लागेको छ । (पाँच वर्ष कोरियामा भिसा अवधि सकी रोजगारदाता कम्पनीबाट लेबर कन्ट्रयाक लिएर आएकाहरू) कमिटेडेड भिसाबाहक कामदार तीन हजार छन् । श्रम सम्झौता र भाषा परीक्षा गरी कुल १० हजार कामदार तत्कालै कोरिया जान पर्खेर बसिरहेका छन् ।

कामदार कोरिया जान थालेपछि भाषा परीक्षाका लागि आवेदन लिने प्रक्रिया अघि बढाइने ईपीएस शाखाको तयारी छ । अबदेखि कम्प्युटर विधिबाट परीक्षा लिने भएको हो । यस अघि परीक्षार्थीले पेपरमा परीक्षा दिने गरिएको थियो ।

श्रम स्वीकृति प्राप्‍त गरी ६५ हजार नेपाली कामदार कोरिया गइसकेका छन् । नेपालीहरू कृषि र औद्योगिक क्षेत्रमा काम गर्न गइरहेका छन् । सन् २००७ देखि वैधानीक रूपमा भाषा परीक्षा गरी नेपाली कामदार कोरिया जान थालेका थिए । सन् २०२० को मार्चदेखि कोभिडका कारण नेपाली कामदार जान पाएका छैनन् ।   

 

 

 


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x