समाज

वैदेशिक रोजगारीले दिएको पीडा:

बालखमै आमा गुमाए, बुवालाई बाकसमा देखे

अतिन आचार्य |
असोज २, २०७८ शनिबार १३:५१ बजे

काठमाडौँ- दुवै सानो र अबोध थिए । आमाको काखमा बसे । ठूलो हुँदै गएपछि सबै गुमाउँदै गए । आमाको काख सबैलाई प्यारो लाग्छ तर, त्यही काख पनि बालखमै बिरानो बन्‍यो ।

आमाको सहारामा डेल्सन थापा मगर हुर्कदै थिए । ऋण पनि बढ्दै गयो । घरको ऋण तिर्न नसक्दा उनी तीन वर्ष र दाजु ५ वर्ष छदा आमाले आत्‍महत्‍या गरिन् । आमाको मृत्युपश्‍चात दाजुभाइ अभिभावकविहीन भए । किनभने घरमा लागेको ऋण तिर्न उनका बाबा मलेसिया गएका थिए ।


डेल्सनको बाबा मलेसियाको विमानस्थलमा नेपाल फर्कने तयारी अवस्थामा रहेको समयमा ढलेका थिए । विमानस्थलले बिरामी अवस्थामा नेपाल पठाउन नसकेपछि उनलाई उपचार गर्न अस्पताल लग्‍यो । उपचार गर्दागर्दै उनको तीन दिनमा मृत्यु भयो ।

अभिभावकविहीन भएपछि फुपुकोसँगै उनीहरू हुर्के । गर्भमा छोडी गएका गोविन्दले छोराहरूलाई खोजी गरेनन् । बिस्तारै उनीहरूको उमेर बढ्दै गयो । सबै कुरा भुल्दै गइरहेका थिए । डेल्सनले भदौको दोस्रो साता बाबा बिरामी भएको खबर पाए । बिरामी बाबालाई झिकाउन उनले विभिन्‍न ठाउँमा पहल पनि गरे तर सफल भएनन् ।

लमजुङ दुधपोखरी गाउँपालिका ६ का डेल्सनलाई आमाको गर्भमा छोडी बाबा गोविन्द थापा मलेसिया हानिए । उनले घरमा लागेको ऋण तिर्न र परिवारलाई सुखमा राख्‍ने लालसा बोकी मलायामा धन कमाउने आशामा विदेश जान खुट्टा उचाले ।

गोविन्द धन कमाउन विदेश गएसँगै केही महिना परिवारमा उत्साह थपियो । परिवारमा खुशियाली छायो । उनले मासिक पैसा पठाउन पनि थालेका थिए । घरमा लागेको ऋण पनि तिर्दै गए । उनी बिस्तारै घर-परिवारबाट सम्पर्कविहीन भए ।

डेल्सन आमाको कोखबाट धर्तीमा आए तर, बाबालाई देख्‍न पाएनन् । उनी जन्मदा गोविन्द मलेसियामा श्रम गरिरहेका थिए । यतिखेर २४ वर्षमा डेल्सन हिडिरहेका छन् । बाचुन्जेल नदेखेको अनुहार शनिबार बागमतीको किनारामा उनले सदाका लागि छोडेर गएका बाबालाई देखे ।

'हामी सानो छदा आमाको मृत्यु भयो,' डेल्सनले भावुक हुँदै भने,' बाबा मलेसिया हुनुहुन्थ्यो भन्‍ने थाहा पाएको थिएँ । तर,कहिले पनि दोहोर वार्ता भएन ।' उनको बाबाले फेसबुकमा म्यासेज गर्दा पनि पाँच दिनपछि हेरेर रिप्लाइ दिने गरेका थिए । त्यतिखेर उनलाई म्यासेज गर्नुभन्दा पनि नगरेको भए हुन्थ्यो जस्तो लाग्दोरहेछ ।

पशुपतिमा अन्त्येष्‍टि गरेपछि आजै गाउँको घरमा गएर किरिया कर्म गर्न जाने डेल्सनले बताए । गाउँमा सबै आफन्तहरू हुने भएकाले पनि अन्तिम काज किरिया गर्न गाउँतिर जान लागेका हुन् ।

डेल्सन कलंकीको एक आल्मुनियम फ्याक्ट्रीमा काम गर्छन् । मासिक २० हजार रुपैयाँ कमाएर परिवारको गुजारा टारिरहेका छन् । उनी मात्र परिवारमा छैनन् । श्रीमती र ५ वर्षको छोरा पनि साथमा छ । 'बाबाले बाचुन्जेल अनुहार नदेखाए पनि म मेरो सन्तानलाई बाबाको अभाव हुन दिन्न,' उनले निहुरेर भने,'  दाजु दुवईमा छन् । दाजुलाई बाबाको मृत्यु भएको खबर पनि गरिसकेको छु ।'

गोविन्द २० वर्ष अगाडि मलेसिया गएका थिए । 'सुरुमा बैंकमा काम गर्न भनेर गएको थियो भाइ,' गोविन्दको जेठा दाजुले भने,' गएको केही वर्ष पैसा पनि पठायो तर बिस्तारै सबै परिवासँग सम्पर्कविहीन भयो ।' समय-समयमा फेसबुकमा कुरा हुन्थ्यो उनको भाइसँग ।

गोविन्दले जेठा दाजुको छोरीको विवाहमा आउने वाचा गरेका थिए । 'विवाह पनि हेर्न पाएन, आफूले जन्म दिएको छोरासमेत कहिले नदेख्‍ने गरी आयो,' दाजुले आँसु पुछ्दै् भने । उनी दुई दाजुको कान्छो भाइ थिए । गाउँ-घरमा आएर बस भन्दा कहिले पनि नमान्ने गरेको उनले बताए ।

शनिबार बिहान मलेशियाबाट ६ शवसहित १५ वटा अस्तु आएको थियो । वैदेशिक रोजगारीमा गएकै कारणले नेपाली सन्तानले अनाहकमा वर्षेनी एक हजार अभिभावक गुमाउने गरेका छन् । कतार, साउदी अरब, कतार, दुबई,ओमन र कुवेत जस्ता मुलुकबाट शव भित्रिने गरेका छन् । अघिल्लो साता मात्र ८ शव र १४ अस्तु ल्याइएको थियो ।

बिरामी, सडक दूर्घटना, आत्महत्या र सुतेको ठाउँमा पनि मृत्यु हुने गरेको छ । तर, धेरैजसो कामदारको मृत्यु सुतेको ठाउँमा हुने भएकले के कारणले भएको हो भनेर अहिलेसम्म पत्ता लगाउन सकिएको छैन ।


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x