समाज

जंगली हात्तीले उदयपुरमा तीन घर भत्कायो

इकागज |
असोज ३, २०७८ आइतबार १८:४५ बजे

विराटनगर - उदयपुरको बेलका नगरपालिका–९ भचुवामा गएराती प्रवेश गरेको जंगली हात्तीको समुहले तीन जनाको घर भत्काएको छ । हात्तीले घरको बेरा भत्काएर धान लगायतका किसानको अन्नबाली खाइदिएको छ ।

६ वटाको समुहमा रहेको जंगली हात्तीले भचुवाकी दिलकुमारी राई, बलवीर राई र सविना राईको घर भत्काएको हो । हात्तीको समुहले प्यारसिंह राईको ६ कठ्ठामा पसाएको धानबाली माडेर नष्ट गरिदिएको बेलका नगरपालिकाका मेयर दुर्गाकुमार थापाले बताए । 


थापाका अनुसार दिलकुमारीको घर पूर्ण रुपमा क्षति गर्नुका साथै ५० किलो चामल समेत खाइदिएको छ । त्यसैगरी बलवीरको १० क्वीन्टल धान, ६४ किलो कोदो, १२० किलो चामल र १०० किलो मकै खाइदिएको जनाइएको छ ।

सविना राईको भान्सा घरमा क्षति पु¥याएको उनले बताए । नगरपालिकाले आइतबार हात्ती आतंकबाट पीडित भएका स्थानीयलाई खाद्यान्न लगायतका राहत सामग्री उपलब्ध गराइएको उनले जानकारी दिए ।

हात्तीको समुह गाउँ पसेर आतंक मच्चाएपछि स्थानीयहरु रातभर सुत्न नपाएको र बिहान भएपछि नजिकैको कोसीटप्पुको खयरघारीमा बसेका कारण हात्तीको समुह फेरी आउने आशंकाले स्थानीयहरु त्रसित बनेका छन् । 
 


Author

थप समाचार
x