समाज

संयुक्त राष्ट्र संघ अगाडि धर्ना दिन डा. केसी न्यूयोर्क पुग्दै (डा. केसीको अपील सहित)

इकागज |
असोज ३, २०७८ आइतवार १९:४२ बजे

काठमाडौँ– सामाजिक अभियान्ता एवं चिकित्सक डा. गोविन्द केसी मानवीयताका लागि संयुक्त राष्ट्र संघको मुख्यालय अगाडि धर्ना दिने भएका छन् । न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघ मुख्यालय अगाडि उनीसहितको टोलीले २० र २१ (सोमबार र मंगलबार) मा दुई दिन धर्ना दिने भएको छ । डा. केसी अहिले बोस्टन पुगिसकेका छन्, उनी धर्ना कार्यक्रमका लागि आज न्यूयोर्क जान लागेको उनका सहयोगीले बताए । 

अफगानिस्तान, सोमालिया लगायतका मुलुकमा मानवीय सहायताका लागि संयुक्त राष्ट्र संघको ध्यानाकर्षण गराउन डा. केसी न्यूयोर्क पुगेका हुन् । केही समयअघि उनी मानवीय सहायताका लागि भन्दै स्वयंसेवी भएर द्वन्द्वग्रस्त यमन पुगेका थिए । 


उनले नेपालमा चिकित्सा शिक्षा सुधारका लागि पनि लड्दै आएका छन् । पटक–पटक अनसन गरेर सरकारसँग सहमति गरेपनि सरकार आफूसँगको सहमति कार्यान्वयनमा प्रतिवद्ध नभएको डा. केसीले बताउँदै आएका छन् । 

यस्तो छ भोलिदेखि गरिने दुईदिने धर्नाको लागि गरिएको अपील 

आदरणीय नेपाली दाजुभाइ–दिदीबहिनी तथा सञ्चारकर्मी मित्रहरु,

विषय- विश्व शान्ति, सद्भाव र समानताका लागि संयुक्त राष्ट्र संघको कार्यालय, न्यूयोर्कमा आयोजना गरिने शान्तिपूर्ण प्रदर्शनमा सहभागिताका लागि अनुरोध ।

हामी एक दशकदेखि नेपालको स्वास्थ्य तथा चिकित्सा शिक्षाको सुधार र सुशासनका लागि लडिरहेको विदितै छ । हाम्रो सत्याग्रह आन्दोलनमा नागरिका समाजका सदस्यहरुको पनि सहयोग र सद्भाव रहदैं आएको छ । सबैका लागि गुणस्तरीय स्वास्थ्य सेवा र चिकित्सा शिक्षामा न्यायोचित पहुँच सुनिश्चित गर्नु नै हाम्रो आन्दोलनको उदेश्य रहेको छ ।

नेपालका पछिल्ला सरकारहरुबाट भएका अनेक अवरोध र धोखापूर्ण कार्यका बावजुद पनि हाम्रो सत्याग्रह मार्फत स्वास्थ्य तथा शिक्षा क्षेत्रहरुमा केही महत्वपूर्ण उपलब्धिहरु हासिल गर्न देश सक्षम भएको कुरा म निवेदन गर्न चाहन्छु । यसै क्रममा १९ औं पटकमा २५५ दिन अनशन आन्दोलनका रूपमा सत्याग्रह गर्नु परेको थियो । नेपालको समग्र स्वास्थ्य शिक्षा तथा सेवाको सुधारका अभियानलाई निरन्तरता दिदैं विगत दुई दशकदेखि विश्वका अन्य धेरै देशहरुमा भएका प्राकृतिक र मानव निर्मित प्रकोपका बेला मानवीय राहत कार्यमा पनि म निरन्तर संलग्न रहदै आएको कुरा पनि म स्मरण गराउन चाहन्छु । यसै क्रममा युद्धग्रस्त यमनका जनताहरुलाई तीन महिना सेवा दिएर भर्खरै फर्किएको छु ।

म्यानमारबाट विस्ताफित रोहिंग्या शरणार्थीहरुलाई बंगलादेशमा सन् २०२०–२०२१ मा सेवा गर्ने अवसर पनि पाएँ । सन् २०१९ अफ्रिकाको मोजाम्विकमा आएको साइक्लोन इदाइका पीडित जनतालाई एक महिना राहत-सेवा पुर्याउने अवसर पाएँ । भारतको बद्रीकेदार बाढीपहिरो (सन् २०१३) पीडितको सेवामा रहँदा मृत्युको मुखबाट बच्न सफल भएँ । अन्य मानवीय कार्यमा फिलिपिन्सको टाक्लोबान, टाइफुन हैयान (सन् २०१३), हेटीकोविनाशकारी भूकम्प (सन् २०१०) भारत गुजरातको महाभूकम्प (सन् २००१), पाकिस्तान नियन्त्रित कास्मिरको महाभूकम्प (सन् २००५), वर्माको आँधिबेरी (सन् २००८) र पाकिस्तानको बाढीको विपद् (सन् २०११)का बेला पनि मावनसेवा–धर्म गर्नु मेरो कर्तव्य ठाने ।

यो पनि स्मरण रहोस्, नेपाल आफैंले एक दशक लामो सशस्त्र संघर्षको सामना गर्नुपरेको थियो । जसमा हजारौं मानिस मारिए, धेरै घाइते र लाखौं विस्थापित भए । त्यो दुर्दान्त सयममा पनि घाइतेहरुको उपचारमा म संलग्न भएको कुरा पनि विदितै छ भन्ने लागेको छ । विश्वमा घटेका कहालिलाग्दा त्रादस घटनाको प्रत्यक्षदर्शी बन्नुले मानविय द्वन्दका कुरुपतासँगै दैवीय विनाश र त्यसबाट सृजित पीडा, निराशा र भयावहताको नजिकबाट अनुभव गर्ने मौका पाएँ । यस्तै बेलमा हामीले अनुपम मानवीय करुणा, माया र आशाको दीयो बाल्नु पर्छ भन्ने ठानेर देश–देशावर पुगेँ ।

 मैले नेपालका सुगममात्र हैन अनेक दूर्गम ठाउमा बसोवास गर्ने निसहाय जनताको सेवाका लागि पटकपटक भ्रमण गरेँ । राहत-सेवा र अध्ययन भ्रमणका क्रममा संसारमा भएको वातावरणीय विनाश र जलवायु संकटको प्रभावलाई पनि नजिकबाट नियाल्ने मौका पाएँ ।

संसारका सम्पूर्ण मावन तथा पशुप्राणीका लागि विनाशक बन्दै गएको जलवायु विनाशको यो विश्वव्यापी समस्याको सबैभन्दा बढी कष्ठ गरीवीमा बाँच्न वाध्य मानिसले नै भोग्नु परेको अनुभव गरेँ । म यहाँ अर्को एउटा कुरा पनि ध्यानाकृष्ट गराउँन चाहन्छु– म आफैं पनि ‘कोभिड निमोनिया’ संक्रमित भएको थिएँ । आज म जस्तै धेरै डाक्टर, स्वास्थकर्मी र सर्वसाधरण मृत्युवरण गर्न वाध्य भए । यसको प्रमुख कारण खोपको अभाव नै थियो । अहिले पनि विकासशील देशहरुमा ९०% भन्दा बढी मानिस अझै पनि कोभिड खोपको पहुँचबाट वञ्चित छन् ।

यो निराशाजक अवस्थामा विकसित देशहरु आफ्ना नागरिकका लागी ‘बूस्टर जाब’ तिर लागेका छन् । खोप वितरण प्रणालीको यो असमानतालाई अन्याय मात्र हैन रंगभेदको रूपमा पनि तुलना गर्न सकिन्छ । आज संसार एक ग्लोबल गाउँमा परिणत भएको छ । संसारको एक कुनामा जे भए पनि त्यसले हरेक कुनामा सबैलाई प्रभावित गर्छ । यो कुरा पनि कोभिड–१९ले पनि प्रमाणित गरेका छ तर मानवीय र प्राकृतिक साधन–स्रोतको वितरणमा निराशा लाग्दो असमानता छ । आज विश्वभरिका मानिसहरु द्वन्दको अन्त्य, जलवायु कार्य, जलवायु न्याय, स्वास्थ्य र सबैका लागी शिक्षा तथा कोभिड खोपका लागि वकालत गर्दै आएका छन् ।

मलाई विश्वास छ- हामी सबैको सामूहिक प्रयासले मात्र मानवता र हाम्रो गृहग्रह पृथ्वीलाई बस्ने ठाउँको रूपमा बचाउन सकिन्छ । आज हामीले देशव्यापीभन्दा माथि उठेर विश्वव्यापी नागरिकको हैसियतले केही गर्न जरुरी ठानेको छु । त्यसैले नेपालमा मात्र हैन यी मुद्दाहरु ग्लोबल फोरममा उठाउनु हाम्रो पनि दायित्व हो भन्ने लाग्छ । अत: २१, २०२१ विश्व शान्ति दिवस हो । यसै समयमा संयुक्त राष्ट्र संघको महासभा पनि बस्दै छ । विश्वमा फैलिएको द्वन्द, पर्यावरणीय विनास, सबैका लागि स्वास्थ र शिक्षा तथा कोभिडको खोपका विषयमा विश्वको ध्यानाकर्षण गराउने उदेश्यले अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्र संघको मुख्यालय भवन नजिकैको क्षेत्रमा शान्तिपूर्ण प्रदर्शन गरिने भएको हुँदा सक्रियतापूर्वक भाग लिन म अमेरिकामा रहेका सम्पूर्ण नेपाली समुदायलाई संस्थागत तथा व्यक्तिगतरूपमा हार्दिक अपील गर्छु ।

 यो प्रदर्शनी एउटा नेपालीका तर्फबाट नभई संसारभर छरिएर रहेका सबै नेपालीको भावनात्मक प्रदर्शनी पनि हुने विश्वास मैले लिएको छु । प्रदर्शनीका क्रमा हामी संयुक्त राष्ट्रको नियमका साथै कोभिड–१९ का लागि सिडिसी, अमेरिकाका प्रोटोकलको कडाईसंग पालन गर्नेछौं ।

कार्यक्रमको दिन र समयः २० र २१ सेप्टेम्बर २०२१, बिहान ९ बजेदेखि ४ बजेसम्म प्रदर्शनका विषयहरुः

– जलवायु कार्य र जलवायु न्याय

 – सबैका लागि कोभिड खोप सहित सबैका लागि स्वास्थ्य र शिक्षा

– यमन, सोमालिया, दक्षिण सुडान, इथियोपिया, सिरिया, र मध्य अफ्रिकी गणतन्त्र लगायत युद्धग्रस्त देशहरुमा स्थायी शान्ति स्थापना गर्न सबै देशले भूमिका खेल्नु पर्ने ।

– म्यानमार, अफगानिस्तान, यमन इथियोपिया सोमालिया दक्षिण सुढान लगायत अन्य देशका शरणार्थीहरुलाई न्यायिक र मानवीय सहायता गर्नु पर्ने ।

अन्त्यमा, विगतका सत्याग्रह तथा आन्दोलन भएको तपाइँको सक्रिय सहभागित, विश्वास, समर्थन र एकताका लागि सबैप्रति सादर धन्यवाद भन्न चाहन्छु ।

 

डा. गोविन्द केसी

सोलिड्यारिटी फोर डा. केसी अलाइन्स

 


Author

थप समाचार
x