समाज

मादी हत्याकाण्डको अनुसन्धान गर्ने खतिवडा र खड्का सर्वोत्कृष्ट प्रहरी घोषित

इकागज |
असोज ४, २०७८ सोमबार १४:५२ बजे

विराटनगर -  संखुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोलागाउँमा एकै परिवारका ६ जनाको सामूहिक हत्याको घटनामा उत्कृष्ट अनुसन्धान गरेको भन्दै एक इन्सपेक्टर र एक सईलाई सर्वोत्कृष्ठ प्रहरी घोषित गरिएकाे छ । प्रदेश १ प्रहरी कार्यालयले भदौ २१ गते भएको उक्त घटनाको अनुसन्धानमा संलग्न रहेर उत्कृष्ठ काम गरेको भन्दै प्रहरी निरीक्षक योगराज खतिवडा र प्रहरी नायव निरीक्षक रुद्र बहादुर खड्कालाई भदौ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरेको हो ।

खतिवडा इलाका प्रहरी कार्यालय चैनपुरको प्रमुखका रुपमा कार्यरत रहेका छन् । त्यसैगरी इलाका प्रहरी कार्यालय दोभान, ताप्लेजुङमा दरबन्दी भएका खड्का अहिले १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरमा अपराध अनुसन्धान शाखामा कार्यरत रहेको जनाइएको छ । 


खतिवडा अहिले पनि घटनास्थल उम्लिङ खोलागाउँ मै कमाण्ड सम्हालेर घटनाको अनुसन्धानमा संलग्न भइरहेका छन् । खड्का घटनाको अनुसन्धानका लागि विराटनगरबाट टोलीसहित घटनास्थलमा खटिएका थिए ।

उनीहरुले विभागिय मुल्य–मान्यताको पालनाका साथै आदेश–निर्देशनको पालना गरी उच्च मनोवल र साहसका साथ आफ्नो कर्तव्य निर्वाह गरी एकै परिवारका ६ जनाको सामूहिक हत्याको घटनामा लुकिछिपी बसेका अपराधमा संलग्न व्यक्तिहरुलाई अनुसन्धान र पक्राउ गरेको भन्दै सर्वोत्कृष्ठ प्रहरी घोषित गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । 

अपराधमा संलग्न रहेका व्यक्तिहरुलाई पक्राउ गर्नुका साथै कानूनी कारवाहीको दायरामा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेको, नागरिक समक्ष प्रहरीको छवि उचो बनाएर प्रशंसनीय कार्य गरेको भन्दै भदौको सर्वोत्कृष्ठ प्रहरी घोषित गरिएको जनाइएको छ । प्रदेश १ प्रहरी कार्यालय विराटनगरले प्रदेश भरीका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ । सर्वोत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरी उत्कृष्ट कार्यको विवरण सहितको फ्लेक्स प्रिन्ट प्रदेश प्रहरी कार्यालय विराटनगरमा रहेको स्तम्भ र १ नम्बर प्रदेश अन्तरगतका ‘क’ वर्गका इलाका प्रहरी कार्यालयहरुमा एक महिनासम्म राखिंदै आएको छ । 


Author

थप समाचार
x