समाज

अनलाइन सपिङ किन गर्ने, किन नगर्ने ?

इकागज |
असोज ५, २०७८ मगलवार १३:१८ बजे

सहरीको जीवनशैली सौखिन छ । मानिसहरू सबै सेवा, सुविधा र सामान घरभित्रै आइदिओस् भन्‍ने चाहन्छन् । त्यसका लागि सहरमा थुप्रै अनलाइन सपिङ सेवाहरू उपलब्ध छन् । जहाँ एक क्लिक वा एक कल फोनको भरमा आफूले चाहेको सामान आफ्नै लोकेसनमा आइपुग्छ । 

आफूलाई चाहिएको सामान लिन बजार चहारिरहन नपर्ने भएकाले पछिल्लो समय अनलाइन सपिङ फस्टाएको छ । अनलाइन सपिङ गर्नका लागि थुप्रै प्लेटफर्महरू खुलेका छन् । धेरैलाई सामान लिन बजार चहारिरहन मन पर्दैन । त्यस्तै, कोही समयको बचत र कोही बार्गेनिङ गर्न झन्झट मानेर अनलाइन सपिङ रोज्छन् । आफूलाई चाहिएको सामान घरसम्मै डेलिभरी हुने भएकाले पनि धेरैको रोजाइमा अनलाइन सपिङ पर्छ । 


तर, कतिपय अनलाइनले विश्वसनीयता कायम गर्न नसकेकाले धेरैको रोजाइमा अनलाइन सपिङ पर्दैन । अनलाइन सपिङ गरेर पछुताएका थुप्रै उदाहरण हाम्रै वरपर भेटिन्छन् । अनलाइनका सामानको गुणस्तरलाई लिएर धेरैले गुनासो पनि गरिरहेका हुन्छन् । अनलाइनमा राख्‍ने र डेलिभरी हुने सामानमा आकाशपातालको फरक भएको चित्तदुखाइ धेरैले गर्छन् । 

त्यसैले, अनलाइन सपिङ गर्दा ध्यान पुर्‍याउनुपर्छ । अनलाइन सपिङ गर्नुभन्दा पहिला आफूले सपिङ गर्ने वेबसाइटबारे जानकारी लिनुपर्छ । अनलाइन सपिङ गरिरहने साथीभाइसँग सल्लाह लिनुपर्छ । उनीहरूको सिफारिसले पनि धेरै सहयोग पुर्‍याउन सक्छ । अनलाइन विश्वसनीयता र कति पुरानो हो त्यसमा पनि ध्यान दिनुपर्छ ।

आफूले अर्डर गरेको सामानको मुल्य थाहा नपाउँदा ठगिन सक्ने संभावना हुन्छ । त्यसकारण, अनलाइनबाट मगाइने समानसँग बजारको मुल्यसँग तुलना गर्नुपर्छ । साथै प्याकिङ वा डेलिभरी चार्ज, वारेन्टी, ग्यारेन्टीबारे पनि सामान अर्डर गर्नेबेला नै बुझ्नुपर्छ । 

चाडपर्व नजिकिदै गर्दा थुप्रै अनलाइन सपिङले अफर, उपहार, छुट भनेर ग्राहक लोभ्याउने गरेको पाइन्छ । पैसाको बचत हुने लोभले धेरैजना यस्ता अफरको पछाडि लाग्छन् । त्यस्ता अफरको पछाडि लाग्नुभन्दा पहिला सोचविचार गर्नुपर्छ । त्यस्ता अफरको पछाडि ग्राहकको सेवाभन्दा पनि बिक्रेताको फाइदा जोडिएको हुन्छ । चाडपर्वलाई बिक्रेताले मौकाको रूपमा लिएका हुन्छन् । बढीभन्दा बढी सामान बिकाउने उद्देश्य उनीहरूको हुन्छ । सेल वा अफरमा राखिएका सामान पुराना र ड्यामेज भएका हुन सक्छन् । यसतर्फ ग्राहक सधैँ सचेत हुनुपर्छ । 


Author

थप समाचार
x