समाज

हाइकले जुराएका हितैषी

सृजना खड्का |
असोज ८, २०७८ शुक्रवार १५:१७ बजे

२०७२ सालको भूकम्पको बेला सजना भडेल ब्याचलर्स पढ्दैथिन् । भूकम्पले उनको घर (भक्तपुर, चाँगुनारायण) छेउछाउका थुप्रै संरचना तहसनहस बनायो । यसमा घरसँगै नेपालका सांस्कृतिक सम्पदा पनि परे । तर विपत्तिमा निर्जिवभन्दा पनि सजीवको ज्यान जोगाउनु मानवीय धर्म थियो । उनी विपत्तिले बासस्थान गुमाउनेको गाँस जोहो गर्न सहयोग गर्दै हिँड्थिन् । किनभने, समुदायसँग भिजेर काम गर्न उनलाई असाध्यै मन पथ्र्यो । 

त्यसैताका उनको भेट उनीजस्तै जोस र जाँगरले भरिएका केही युवतीहरूसँग भयो र भेटघाटलाई सम्झनामा समेत कैद गर्ने अभिप्राय राखेर उनीहरू मिलेर ‘हाइक’को आयोजना गरे । चागुँनारायणकै एक ठाउँबाट अर्को ठाउँ पदयात्रा गर्ने उनीहरूको योजना बन्यो । त्यहाँ उनीहरूले एकअर्कासँग प्रतिभा र अनुभव बाँडचुँड गरे । 


यसअघि सजना घुमघामलाई रमाइलोको रूपमा मात्र लिन्थिन् । तर, त्यसदिनदेखि उनले यात्रालाई नेतृत्व विकास र सशक्तीकरणसँग जोडेर हेर्न थालिन् । ‘कुनै क्याफेमा कफी खाएर गफ गर्नु र ट्राभल गरेर आफ्ना कुरा आदानप्रदान गर्नुमा धेरै फरक अनुभव भयो,’ उनले सुनाइन्, ‘धेरै साथीहरूले आफूमा भएका प्रतिभा बाहिर ल्याए । त्यो दिन मलाई यात्राबाट एकअर्काभित्रको विविधता साटेर सशक्त बन्न सकिने रहेछ भन्ने लाग्यो ।’

यो अवधारणालाई विस्तृत स्वरुप दिन उनले सन् २०१७ को सेप्टेम्बरतिर यात्राद्वारा महिला सशक्तीकरण नेपाल (गल्र्स इम्पावर्ड बाई ट्राभल नेपाल) दर्ता गरिन् ।  तर, ट्राभल गर्न पैसा चाहिन्थ्यो । भर्खर कलेज पढ्दै गरेकी उनीसँग पैसा हुने कुरै थिएन । ‘आफ्नो प्रपोजल देखाएर राष्ट्रिय अन्तर्राष्ट्रिय दाताहरूसँग सहयोग मागेँ,’ उनले भनिन्, ‘यात्राले मान्छेलाई इम्पावर गर्र्छ र ? भन्ने प्रश्नको निकै सामना गर्नुपथ्र्यो । तर, मैले कहिल्यै हार मानिनँ ।’

काम गर्दागर्दै सजनाको टिमले ‘हितैषी’ नामक प्रोजेक्ट सुरु गर्‍यो । जसले गाउँ र सहरका युवतीहरूलाई एकअर्कासँग जोड्ने काम ग¥यो । सहरका युवतीले सिकेका कुरा गाउँघरका युवती र गाउँघरका युवतीले आफूले सिकेका कुरा सहरका युवतीलाई सिकाउन थाले । उनीहरूबीचको पुलको काम सजनाको संस्थाले ग¥यो ।

हितैषीसँग जोडिएकी सृष्टिका श्रेष्ठ रौतहट, पर्सा, हेटौँडा, मकवानपुर जस्ता धेरै जिल्ला घुमिसकिन् । ‘सहरबाट गाउँ जाँदा हामीमध्ये धेरैलाई म जस्तो जान्नेसुन्ने कोही छैन जस्तो लाग्छ,’ सृष्टिकाले आफ्नो अनुभव सुनाइन्, ‘तर, ठाउँअनुसार मान्छेको आ–आफ्नै ट्यालेन्ट हुने रहेछ । मैले ग्रामिण क्षेत्रका साथीहरूबाट धेरै कुरा सिकेको छु ।’

हितैषीबाट प्रत्येक वर्ष ग्रामिण क्षेत्रका ६ जना युवतीलाई छनोट गरेर नेतृत्व विकासको ट्रेनिङ दिन सहर ल्याइन्छ । यसरी ग्रामिण भेगका युवतीलाई सहर ल्याउँदा चेलिबेटी बेचबिखन गर्ने संस्था भनेर ट्याग पनि लाग्यो उनीहरूलाई । ‘हाम्रो छोरीबेटी लगेर तिमीहरूले बेचिदिन्छौँ भनेर धेरैले शंका गर्थे,’ सजनाले सुनाइन्, ‘तर, हामीले समुदायको मन जित्दै काम गर्दै गयौँ ।’ 

हितैषीको अहिले छैटौँ ब्याच पुगिसक्यो । हितैषीबाट लिडरसिप ट्रेनिङ लिएका युवतीहरूले आफ्नो समुदायको समस्या समातेर समाधानको बाटो खोज्छन् । चुनौतीबीच अवसर खोज्छन् । ‘घुमघामले नेतृत्व विकास गराउँछ, नेतृत्व विकासले आर्थिक सक्षमता बढाउँछ,’ उनले भनिन्, ‘हामी उनीहरूलाई आफ्नो ठाउँको समस्या समाधान गरेर पर्यटन विकासमा उत्प्रेरित गर्छौँ ।’

पर्यटन क्षेत्रमा माहिलाको सहभागिता बढाउने उद्देश्य सजनाको छ । ‘माउन्टेन इन्स्ट्रक्टर, राफ्टिङ इन्स्ट्रक्टर जस्ता क्षेत्रमा महिलाहरूको धेरै माग छ तर यो क्षेत्रमा पर्याप्त जनशक्ति छैन ,’ उनले भनिन्, ‘टुरिजम एजेन्सीले बाहिरबाट हायर गर्नुपर्ने अवस्था छ । यसको लागि पनि महिलाहरूलाई सक्षम बनाउने हाम्रो योजना छ ।’ 

पछिल्लो समय उनीहरूसँग जोडिएका युवतीहरूले ल्याउने समस्यामध्ये एक हो– बाल विवाह । ‘सोसल मिडियाबाट चिनजान गरेर सानै उमेरमा बिहे गर्नेहरू बढेको देखिएको छ,’ सजनाले सुनाइन्, ‘उनीहरूको लागि ‘डिजिटल लिट्रेसी’को प्रोजेक्ट बनाएर सामाजिक सञ्जालको उपयोग कसरी गर्ने भनेर सिकाउनुपर्ने भएको छ । त्यो हामी छिटै नै गर्दैछौँ ।’

सजनालाई सशक्तीकरण भनेको आफूलाई व्यक्त गर्नु हो जस्तो लाग्छ । ‘आफूले व्यक्त गरेका कथा सुनेर दोस्रो कोही व्यक्ति उत्प्रेरित होस्,’ उनले भनिन्, ‘एउटा समुदायमा एउटा व्यक्तिलाई इम्पावर गर्‍यो भने समाजमा उसले ठूलो प्रभाव पार्छ भन्ने कुरामा हामी विश्वास राख्छौँ ।’

सजनाको संस्थासँग जोडिएर ट्रेनिङ लिएका कोही आफ्नै ठाउँमा 'होमस्टे' खोलेर बसेका छन् । कोहीले गाउँमा प्रौढहरूलाई पढाउने काम गर्छन् । ‘सर्लाहीबाट एकदमै लजालु स्वभावका दुई जना युवती हामीसँग जोडिएका थिए,’ उनले भनिन्, ‘ट्रेनिङमा लजाएर बोल्न नसक्नेहरू अहिले आफ्नै गाउँका ४० जनाभन्दा बढी महिलाहरूलाई पढाइरहेका छन् ।’

सुरुवातका कष्टकर दिनहरू सम्झिदा सजना भावुक हुन्छिन् । ‘झोले तरिकाले हिँडिन्थ्यो,’ उनले भनिन्, ‘अहिले पो बसन्तपुरमा सानो भए पनि अफिस छ । त्यो बेला जुन ठाउँ बस्थ्यौँ, त्यही हाम्रो अफिस हुन्थ्यो ।’

अर्थशास्त्र पढेकी छोरी बैँकको जागिरे होली भन्ने परिवारको सपना थियो । तर, सजनालाई बाआमाको भन्दा आफ्नै सपनाले लोभ्यायो । कहाँ गएर ठक्कर खाइन्छ, उनलाई थाहा थिएन । ‘जतिबेलै केटीहरू बोकेर लुखुरलुखुर हिँडेकी छे, भनेर बाआमा गाली गर्नुहुन्थ्यो,’ उनले भनिन्, ‘तर, मलाई जागिर खानुभन्दा झोले भएरै हिँड्दा सन्तुष्टि मिल्थ्यो । अहिले पनि मलाई यो निर्णय लिएकोमा पछुतो छैन । बरु अझै धेरै काम गर्न बाँकी छ भन्ने चाहिँ लागिरहन्छ ।’

 


Author

सृजना खड्का

सामाजिक विषयमा कलम चलाउने खड्का संवाददाता हुन्।


थप समाचार
x