समाज

जर्मनीबाट खुलेको पोल

शिक्षित नागरिक नै मानव तस्करको फन्दामा

विज्ञ भन्छन्, ‘हतियार र लागूऔषधसँगै मानव तस्करीको व्यापार फस्टाउदो छ’

अतिन आचार्य |
असोज ८, २०७८ शुक्रबार १८:२६ बजे

फाइल तस्बिर

काठमाडौँ - पाँच दिन अघि जर्मनीको फ्रयाङफर्ट विमानस्थलमा पक्राउ परेका नेपाली नागरिक छुटेका छन् । मस्को हुँदै फ्रयाङ्फर्ट पुगेका १८ जना नेपाली नागरिक प्रहरीको नियन्त्रणबाट छुट्ना साथ उनीहरूले जर्मनी छोडेका छन् । ल्याटिन अमेरिका प्रवेश गर्ने लालसाले उनीहरू त्यहाँ पुगेका थिए ।

पाँच जना नेपाली नागरिक जापानको नक्कली भिसा रहेको आशंकामा आइतबार जर्मनी प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रहरीले उनीहरूलाई फ्रयाङ्फर्ट विमानस्थलमा राखिएको थियो । साथमा उनीहरुसँग पैसा भएकाले टिकट खरिद गरी बिहीबार आ-आफ्‍नो गन्तब्य  तर्फ लागेका छन् ।


जर्मनीस्थित नेपाली दूतावासका कन्सुलर सुरेन्द्रकुमार यादवले विमानस्थलमा रहेका नेपालीहरू आफूले जान चाहेका गन्तव्य मुलुकतर्फ गइसकेका जर्मन प्रहरीले जानकारी दिएकाे बताए । 

'हामीले आधिकारीक रुपमा प्रहरीको भनाइ विश्‍वास गर्छौ, मस्कोबाट जापानको नक्कली भिसा साथमा राखी जर्मनी प्रवेश गरेको आशंकामा उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको थियो,' उनले भने । प्रहरीकाे निगरानीमा रहेका नेपालीहरूको गोपनीयता तथा सुरक्षाको दृष्‍टिकोणले उनीहरूको नाम सार्वजनिक नगरेको दूतावासले जनाएकाे छ ।

प्रहरीसँग उनीहरूले कुन-कुन मुलकु जान चाहेको सम्पूर्ण कुराहरू खुलाएका थिएनन् । कति रकम तिरेर त्यहाँ सम्म पुगेका थिए त्यसको बारेमा पनि जानकारी नगराएको दूतावासले उल्लेख गरेको छ । प्रहरीले नेपाली नागरिक नियन्त्रणमा लिएकाले दूतावासमा जानकारी गराएको हो ।

दूतावासले ती नेपाली नागरिकलाई सम्पर्कमा आउन आग्रह समेत गरेको थियो । तर, आफ्नो परिचय खुल्ने त्रासले उनीहरू दूतावाससमक्ष पुगेनन् । 'अहिले विमानस्थलमा अलपत्र परेका कुनै पनि नेपाली नागरिकहरू छैनन्,' यादवले भने,' दूतावासले प्रहरीको भनाइलाई विश्‍‍वास गर्ने हो । उनीहरुका अनुसार अहिले कुनै पनि नेपाली नागरिक विमानस्थलमा छैनन् ।'

गत असारको अन्तिम साता कोलम्बियाबाट क्यारेबियन सागर हुँदै अमेरिका छिर्न खोज्दा सात नेपाली बेपत्ता भएका थिए । जर्मनीबाट गएका नेपालीहरू पनि कोलम्बियातर्फ गएको स्रोतले उल्लेख गरेका छन् । मानव ओसारपोसार गर्ने दलालहरूले विभिन्‍न मुलुक प्रवेश गराउँदै महिनौसम्मको यात्रा गराएर अमेरिका लगायतका अन्य मुलुक प्रवेश गराइरहेका छन् ।

संगठित मानव तस्करका एजेन्टहरूले पश्‍चिमा मुलुकमा प्रवेश गराउने प्रलोभन र राम्रो काम पाइने आशामा उनीहरूलाई लाने गरेका छन् । केही वर्षयता नेपालबाट भारत हुँदै विभिन्‍न मुलुक प्रवेश गराएर अवैध मार्ग हुँदै अमेरिका र ब्राजिल पुर्‍याउने गरेका छन् । बंगलादेश, श्रीलंका, दुवई हुदै अफ्रिका पुर्‍याएर त्यहाँबाट दक्षिण अमेरिकी मुलुक पुर्‍याउने गरेकाे छ । यस्तो मुलुकको मार्ग प्रयोग गरी मानव तस्करहरूले भारी रकम असुल गरी विदेश पठाएका हुन ।

ठूलो सपनाले तस्करको फन्दामा

मानव तस्करको जालो संसारभर फैलिएकाले नेपाली नागरिकहरू उनीहरूको फन्दामा परिरहेको वैदेशिक रोजगार विभागका पूर्व महानिर्देशक पूर्णचन्द्र भट्टराईले बताए । मानव तस्करीले ठूलो सपनाको लालसा देखाएर आफ्नो पासोमा पार्न तस्कर सफल भइरहेको उनको भनाइ छ ।

अमेरिका र युरोप जस्ता मुलुक जानेहरू शिक्षित मानिसहरू रहेको पनि भट्टराईले जानकारी दिए । 'सम्पत्ति र जीवन जोखिममा राखी उनीहरू विदेश जान निस्केका छन्,' उनले भने,'  धेरैले हण्डर खाएका छन् । तर, तस्करले लालसमा पारी फसाउँछन् ।'

संसारको विभिन्न मुलुकमा तस्करहरू रहेका छन । भट्टराई अनुसार तीनवटा व्यापार फस्टाएको छ । मानव तस्कर, हतियार कारोबार र लागुऔषध बिक्री वितरण पनि रहेको छ । तर प्रहरीले खासै कारबाही गरेकाे भेटिएको छैन् । 

मानव तस्करको अभियोगमा ७५ जना पक्राउ

मानव तस्करहरूले मुख्य गरी नेपाली लान १० वटा मुलुकको मार्ग प्रयोग गर्ने गरेको मानव बेचबिखन अनुसन्धानका ब्युरो प्रवक्ता शारदा प्रसाद चौधरीले जानकारी दिए । उनका अनुसार भारत, दुवई, नाइजेरिया, टर्की, नेदरल्याण्ड र मस्कोलाई प्रयोग गर्ने गरेका छन् । स्थल मार्गको प्रयोग गरी विराटनगर र काकडभिट्टाको मार्गको प्रयोग गर्ने गरेका छन् ।

सबैभन्दा बढी नेपाली भारतमा अलपत्र परेको चौधरीले जानकारी दिए । विभिन्न मुलुकमा पुगेको समयमा उनीहरूले प्रहरीमा उजुरी गर्दैनन जब उनीहरू अलपत्र पर्छन तबमात्र यस्ता कुराहरू लिएर आउने गरेको उनले बताए ।

मानव तस्करको अभियोगमा हालसम्म ७५ जना पक्राउ परिसकेका छन् । ६५ पुरुष र २० जना महिला जना छन् । पूर्पक्षमा ३९ जना पुरुष र महिला ११ जना छन् । धरौटीमा छुटेका १८ पुरुष र महिला ८ जना छन् । पछिल्लो समय नेपालमा मानवतस्करको अभियोगमा महिला र पुरुष दुवै मुछिने गरेका छन् ।

 


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x