समाज

ताप्लेजुङ प्रहरीले दोषी पत्ता नलगाएको भन्दै आफन्तले किशोरीको शव बुझेनन्

इकागज |
असोज ९, २०७८ शनिबार १९:३२ बजे

फुङलिङ – ताप्लेजुङको फुङलिङ नगरपालिका–७ मा एक किशोरीको शव फेला परेको छ । फक्तालुङ गाउँपालिका–३ घर भई फुङलिङ बस्दै आएकी १७ वर्षीय पुष्पा लिम्बुको शव बिहीबार बिहान फेला परेको प्रहरीले पुष्टि गरेको छ । उनको शव जंगल छेउमा शंकास्पद अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

घटनाको अनुसन्धानमा प्रहरीले चासो नदिएको र दोषी पत्ता लगाउन नसकेको भन्दै आफन्तले किशोरीको शव बुझेका छैनन् । स्थानीय भानुजन माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत किशोरीको शंकास्पद मृत्यु भएको र शवमा चोट देखिए पनि प्रहरीले सामान्य रूपमा लिएको मृतकका आफन्तको गुनासो छ । दोषीलाई पक्राउ गरेपछि मात्रै शव बुझ्ने आफन्तको अडान छ । 


जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायक उपरीक्षक (डीएसपी) बालनरसिंह राणाले घटनाबारे गहिरो अनुसन्धान भइरहेकाले चाँडै दोषी पत्ता लगाइने बताए । ‘शवको पोष्टमार्टम हुन बाँकी छ । पोष्टमार्टम भएपछि थप कारण पत्ता लाग्छ,’ उनले भने । शव भेटिएको स्थानदेखि केहीमाथि किशोरीले लगाएको ज्याकेट र त्यसनजिकै मेटासिटको बट्टा पनि भेटिएको डीएसपी राणले बताए । किशोरीको शरीरमा चोटसमेत देखिएकाले पोष्टमार्टमपछि मात्रै सत्यतथ्य बाहिर आउने उनको भनाइ छ ।


Author

थप समाचार
x