समाज

अस्ताए वामपन्थी आन्दोलनका ‘लालटिन बाजे’

इकागज |
असोज ९, २०७८ शनिबार २१:५१ बजे

बैतडी - वामपन्थी आन्दोलनका अग्रणी नेता एवम् समाजसेवी पृथ्वीराज अवस्थीको ८४ वर्षको उमेरमा निधन भएको छ । बैतडीको सुर्नया गाउँपालिका–६ शंकरपुर घर भएका अवस्थी हाल कैलालीको गोदावरीमा बस्दै आएका थिए ।  ‘लालटिन बाजे’ का नामलेसमेत परिचित अवस्थीको शनिबार बिहान निजी निवासमा निधन भएको हो ।

वि.सं. १९९४ मा जन्मिएका समाज परिवर्तनका लागि लामो समयदेखि संघर्ष गर्दै आएका अवस्थी केही वर्षदेखि अस्वथ थिए । बैतडीमा वामपन्थी आन्दोलनलाई अघि बढाउन अवस्थीको ठूलो योगदान रहेको छ । यस्तै जातीय विभेद अन्त्यका लागिसमेत अवस्थीले ठूलो योगदान पुर्‍याएको स्थानीयबासीले बताएका छन् ।


०४६ को परिवर्तनपछि एमालेबाट चुनावसमेत लडेका अवस्थी पराजित भएका थिए । उनले चुनावताका लगाएको एक भोट एक नोटको नारा धेरै चर्चामा रहेको छ । प्रबल जनसेवा (चतुर्थ श्रेणी) मानपदवीबाट विभूषित भएका अवस्थीले गोरखा दक्षिणबाहु पनि पाएका थियो । पृथ्वीराज अवस्थीलाई वैचारिक र निष्ठावान नेताका रूपमा लिने गरिन्छ । उनले लामो समयसम्म नागरिक समाज बैतडीको नेतृत्वसमेत गरेका थिए । 

बैतडी एमालेको पहिलो पुस्ताका थोरै नेतामध्येका एक व्यक्ति अवस्थी पनि थिए । अवस्थीलगायत नेताका कारण एमालेको संगठन गाउँ–गाउँसम्म फैलाएपछि यहाँ कम्युनिष्ट आन्दोलन र संगठनले गति लिएको बताइन्छ । संगठन निर्माण र जनजीविकाको सवालमा अवस्थीले जहिल्यै निमुखाका पक्षमा रहेर काम गरेका थिए ।अवस्थीको निधनमा विभिन्न पार्टीका नेता, व्यक्ति र संघ संस्थाले दुःख व्यक्त गर्दै श्रद्धाञ्जलि अर्पण गरेका छन् ।


Author

थप समाचार
x