समाज

झापामा सहुलियत मूल्यको चामल बिक्री

इकागज |
असोज १०, २०७८ आइतबार २०:१ बजे

फाइल फोटो

झापा - खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बिर्तामोड कार्यालयले चाडपर्व लक्षित गरेर सहुलियत मूल्यमा उपभोक्तालाई चामल बिक्री गर्न सुरु गरेको छ । कार्यालयले नौ हजार क्विन्टल चामल सहुलियत मूल्यमा बिक्रीका लागि राखेको कार्यालयमा प्रमुख देवेन्द्र राईले बताए । 

कार्यालयबाट दैनिक १२÷१५ जनाले मात्र खरिद गर्ने गरेको उनले जानकारी दिए । हालसम्म २३ क्विन्टल चालम बिक्री भइसकेको छ । उनका अनुसार सरकारले यसपटक चामलमा प्रतिकेजी पाँच अर्थात आठ प्रतिशत मात्र छुट दिएको छ । कोभिड–१९ का कारण जिल्लामा गरिएको निषेधाज्ञा अवधिभर कार्यालयले २० प्रतिशत छुटमा चामल बिक्री गरेको थियो । सो समयमा दैनिक २०० भन्दा बढी चामल किन्न आउनेको भीड नियन्त्रण गर्न कुपन लागू गर्नुपरेको थियो । 


उनले कार्यालयले सोना मन्सुली, बासमती र स्टिम जिरा मसिनो चामल सहुलियत मूल्यमा बिक्री गरिरहेको बताए । चामल खरिदकर्ताले एक पटकमा तीनै प्रकारका चामल एक÷एक बोरा खरिद गर्न सक्ने तर एउटै प्रकृतिको चामल भने एक बोरा मात्र खरिद गर्ने सकिने उनको भनाइ छ । 

कार्यालय प्रमुख राईले बासमती चामलको बजार मूल्य प्रतिकेजी रु १०६, स्टिम जिरा मसिनोको रु ६५ रहेकामा कार्यालयले प्रतिकेजीमा रु पाँच छुट दिएर बिक्री गरिरहेको बताए । “चाडपर्व आउन अझै निकै दिन बाँकी छ”, उनले भने, “मानिसले पैसा जोहो गर्दै हुनुहुन्छ होला । थोरै भए पनि सहुलियत छ, आइहाल्नुहुन्छ नि १”

असोज १ गतेदेखि दसैँ, तिहार र छठलाई लक्षित गर्दै बिक्री शुरु गरिएको चामल कात्तिक २४ गतेसम्म बिक्री हुने जनाइएको छ । कार्यालयबाट सहुलियत मूल्यको चामल पहाडी जिल्ला इलाम, पाँचथर र ताप्लेजुङ पठाइने उनको भनाइ छ । 

सरकारले उपभोक्तालाई चाडपर्वमा खाद्यवस्तु, चामल, गहुँ, दाल, चिउरा, आटाको पिठो, तोरीको तेल, सनफ्लावर तेल सहुलियत मूल्यमा बिक्रीका लागि अनुमति दिए पनि कार्यालयमा भने चामल मात्र रहेको प्रमुख राईले जानकारी दिए । 


Author

थप समाचार
x