समाज

हेलमेट किन्दा ध्यान दिनुपर्ने कुरा

स्टाइलिस्ट होइन, सर्टिफाइड हेलमेट

इकागज |
असोज ११, २०७८ सोमवार ७:३० बजे

दुईपाङ्ग्रे सवारी (मोटरसाइकल, स्कुटर) चलाउँदा हेलमेट अनिवार्य लगाइन्छ । कतिपयले ट्राफिक नियमको पालना गर्नको लागि मात्रै हेलमेट लगाउँछन् । तर, हेलमेट हाम्रो जीवनसँग जोडिएको वस्तु हो । हेलमेटले चालकको सुरक्षा गर्छ । टाउको हाम्रो शरीरको संवेदनशील अंग हो । हेलमेटमा हेलचेक्र्याइँ गर्दा सडक दुर्घटनामा परेर थुप्रैले आफ्नो ज्यान गुमाउनुपर्छ ।

हेलमेट बिनाको यात्रामा ज्यान जाने जोखिम हुन्छ । दुईपाङ्ग्रे सवारीसाधन अुसरक्षित हुने भएकाले पनि जोखिम न्यूनिकरणका हेलमेट अनिवार्य छ । हेलमेट लगाएर मात्र पनि सडकमा सुरक्षित भइँदैन । हामीले लगाउने हेलमेट कतिको सुरक्षित छ त्यसमा भर पर्छ । गुणस्तरिय हेलमेटको प्रयोगले चालकलाई दुर्घटनाबाट बचाउँछ । त्यसैले, हेलमेट किन्दा सस्तो र हेर्दा राम्रोभन्दा टिकाउ र सर्टिफाइड हेलमेट किन्‍नुपर्छ । यस्ता खालका हेलमेट सुरक्षित हुन्छन् । स्टाइलिस्ट हेलमेट देख्‍नको लागि मात्र राम्रो हुन्छ । धेरैले हेलमेट किन्दा आफ्नो सवारीसाधनको कलरसँग म्याच हुनेखालको किन्छन् । गुणस्तरभन्दा हेलमेटको प्रिन्ट, डिजाइन र लुक्स हेरेर मन पराउँछन् । तर, हेलमेट छान्दा सधैँ ब्रान्डेड र सर्टिफाइड हेलमेट छान्‍नुपर्छ । स्टाइलिस्ट हेलमेटको तुलनामा सर्टिफाइड हेलमेट केही महंगो भने हुन सक्छ । 


हेलमेट किन्दा ध्यान दिनुपर्ने कुरा : 
- हेलमेट किन्दा सधैँ टाउकोको साइजअनुसारको छान्‍नुपर्छ 
- सकेसम्म नाइटभिजन भएको हेलमेट छनोट गर्नुपर्छ 
- लगाउँदा कम्फर्ट र हेल्मेटभित्रको फर्म नरम छ/छैन विचार पुर्‍याउनुपर्छ 
- प्रिन्टेड र लुक्समा भन्दा गुणस्तरमा ध्यान दिनुपर्छ 
- सस्तो हेलमेटको पछाडि लाग्‍नु हुँदैन 
- गर्मीको लागि हेलमेट किन्दा फूलभन्दा हाफ वा ओपन हेलमेट किन्‍नुपर्छ । 
- जाडोमा फूल हेलमेट किन्‍नुपर्छ । तर, सुरक्षाको हिसाबले भने हाफभन्दा फूल हेलमेट सुरक्षित हुन्छ ।

हामीमध्ये धेरैजना आफ्नो बाइक वा स्कुटर समय­समयमा धुन्छौँ, सफा गर्छौँ । तर, हेलमेट सफा गर्ने चलन बिरलै छ । बाइक जस्तै हेलमेटको सरसफाइमा पनि उत्तिकै ध्यान दिनुपर्छ । हेलमेट लामो समयसम्म नधुँदा कपाल झर्ने, टाउको चिलाउने, एलर्जी आउने जस्ता समस्या देखापर्छ । त्यस्तै, धेरै पुरानो हेलमेट पनि सकेसम्म प्रयोग गर्नुहुँदैन । हरेक ६ महिनामा हेलमेटको भाइजर परिवर्तन गर्नुपर्छ भने एक-एक वर्षमा हेलमेट फेर्नुपर्छ । 


Author

थप समाचार
x