जंगलबाट बाहिरिँदै राउटे
किन बसाइँ सार्न खोज्छन् राउटे महिला ?
सुर्खेत– बास सर्दै गत वर्ष वर्ष दैलेखको गुराँस गाउँपालिकास्थित हिउँपोखरी आएका राउटे समुदाय त्यहाँ मुस्किलले १५ दिन बिताए । बसाईं सरेको दुई सातामै अन्यत्रै बसाइँ सार्न बाध्य भए ।
आफ्नो समुदायका कुनै सदस्यको मृत्यु भएमा मात्र प्रायःजसो बसाईं सर्ने राउटे समुदाय यसपालि भने खानेपानी अभावका कारण बसाई सरे । भदौको महिना भएतापनि उनीहरू बसाइँ सरेको स्थानमा पानी थिएन ।
घन्टौ समय लगाएर पानी लिन जानुपथ्र्याे । तर पनि मुहानमा पानी पाइन छाडेको थियो । खानेपानीको अभाव भएपछि राउटे महिलाहरूको आग्रहमा समुदायका मुखिया महिनबहादुर शाही बसाइँ सार्ने निधोमा पुगे । त्यहाँबाट उक्त समुदाय गुराँस गाउँपालिकाको अर्काे स्थानमा बसाईं सर्यो ।
अघिल्लो वर्ष असोजको महिना गुराँस गाउँपालिकास्थित धरमपोखरा बसाईं सरेका राउटे सुमदाय एक साता पनि बसेनन् । त्यहाँ पानीको मात्र होइन काठको पनि समस्या झेल्नुपर्यो । जंगलको डाँडामा बसाईं सरेका राउटे समुदाय पानीको मुहान त भेट्याए, तर पानी पाएनन् ।
त्यतिमात्र होइन, उनीहरू बस्ने छाप्रो बनाउने काठ समेत पाएनन् । पानी र काठको अभाव भएपछि फेरी अन्यत्रै बसाईं सर्न बाध्य भए उनीहरू । ‘पानी भएन, काठ पनि छैन कसरी बस्ने’ बस्ती सार्नुको विषयमा राउटे मुखिया महिनबहादुर शाहीले भन्छन्, ‘हाम्रा जनताले दुःख भयो भन्यो ।’
राउटे फिरन्ते जीवन बिताउने समुदाय हो । उनीहरू एक ठाउँमा एक महिनादेखि तीन महिनासम्म बस्छन् । त्यही बीचमा उनीहरूका कुनै सदस्यको मृत्यु भएमा भने तुरुन्त बसाइँ सर्छन् ।
तर पछिल्लो समय राउटे समुदाय पानी र काठको अभावमा पटक–पटक बसाईं सार्न बाध्य छन् । यो समुदायमा पानी ल्याउने र खाना बनाउने प्राय महिलाले नै गर्ने गर्छन् । पानीकै अभाव भएपछि राउटे महिलाहरूले आफूहरूलाई दुःख भएको राउटे मुखियासमक्ष कुरा राखेपछि मुखियाले बसाइँ सार्ने निर्णय गर्छन् ।
प्रायःजसो वर्षमा ५ देखि ६ पटकसम्म बसाईं सर्ने राउटे समुदाय पछिल्लो वर्ष भने १२ पटक भन्दा बढी बसाईं सारेका छन् । दशक अघिसम्म राउटे बसाईं सार्ने स्थानमा पानी प्रशस्त हुन्थ्यो तर, सोही ठाउँमा पानी नपाउँदा राउटेहरू अन्यत्रै बसाई सार्न बाध्य भएका छन् ।
राउटे समुदायमा काम गर्दै आएकी दुर्गा खत्रीले पछिल्ला वर्षहरूमा राउटे समुदाय धेरै बसाईं सार्ने गरेको बताउँछिन् । ‘राउटे समुदाय बसाईं सार्दा हामी पनि उनीहरूसँगै रहेर काम गर्नुपर्ने हुँदा बसाईं सार्नुपर्ने हुन्छ’ दुर्गा भन्छिन्, ‘उनीहरूलाई पानी र काठको समस्या छ ।’
राउटे महिला दुर्गी शाहीले बसेको ठाउँमा पानीको समस्या भएमा आफ्ना मुखियालाई समस्या राख्ने गरेको बताइन् । ‘बस्न गयाको बेला पानी हुँदैन’ उनले भनिन्, ‘हामीलाई दुःख भयो मुखियालाई भन्छ ।’
एक बस्तीमा प्रयोग भएको काठ अर्काे बस्तीमा प्रयोग नगर्ने राउटे समुदाय सुर्खेतको गुर्भाकोटबाट सल्यानको सल्लीबजार छेउमा बसाईं सर्दा भने काठ समेत बोकेर लगे । ‘पहिला काठ नलगेर गए । बसाइँ सरेको स्थानमा काठ नपाएपछि गुर्भाकोटबाट पुरानै काठ गाडीमा हालेर लगेका थिए’ दुर्गा भन्छिन्, ‘उनीहरू धुरी खामो मात्र पुरानो लैजाने र बाँकी नयाँ काठ काट्थे तर, यसपाली पुरानो लगेर गए ।’
जंगलबाट बाहिरिँदै छन् राउटे समुदाय
एक दशक अघिसम्म राउटे समुदाय गाउँ भन्दा टाढा जंगलमा हुन्थे । जंगलमै गुना बाँदरको सिकार खेल्थे । काठका विभिन्न सामाग्री बनाएर गाउँमा बेच्न ल्याउँथे । बिरामी भए जंगलका कन्दमूल र जडिबुटी खाएर सन्चो हुन्थे । तर आजभोलि जंगलमा गुना बाँदर पाइनै छाडे । कन्दमूल र जडिबुटी पनि मासिँदै जान थालेपछि जंगलमै रमाउने उनीहरू समुदाय नजिक बस्न थालेका छन् ।
‘जंगलमा जति खोज्या पनि कन्दमूल पाइँदैन, गुना बाँदर खान छाडेको धेरै भयो’, राउटे मुखिया महिनबहादुर शाही भन्छन्, ‘जनतालाई कसरी पाल्ने त भन्ने चिन्ता भयो, त्यसैले हामीलाई भत्ता दिनुपर्यो, चामल छैन, चामल दिन पर्यो ।’
जंगल मासिँदै जान थालेपछि राउटे समुदायको बासस्थान पनि परिवर्तन हुन थाल्यो । जब समुदायको नजिक आउन थाले तबदेखि उनीहरूको रहन–सहन परिवर्तन बन्दै गयो । कन्दमूल, जंगलका जडिबुटी र बाँदर गुनाको सिकार गर्ने राउटे समुदाय विभिन्न मदिरा र पसलका तयारी खानाहरू खान थाले । खानपानमा परिवर्तन हुन थालेपछि विभिन्न रोगका सिकार बन्दै गए र जसका कारण उनीहरूलाई जडिबटीले निको हुन छाड्यो । अत्यधिक मदिरा सेवनका कारण कतिपय राउटे युवाहरू दीर्घ रोगी समेत भएका छन् भने राउटे समुदायको संख्या पनि घट्दैछ ।
जंगलमा फिरन्ते जीवन बिताउने राउटे समुदाय पछिल्लो समय जंगल मासिँदै आधुनिकतातर्फ आउन थालेपछि उनीहरूको अस्तित्वमा समेत संकटमा पर्न थालेको सरोकारवालाहरू बताउँछन् । उहिले समुदायबाट अलग्गै बस्थे । काठका विभिन्न सामाग्रीहरू बनाएर आफ्नो जीविका चलाउथे । जंगलमा कन्दमूल तथा विभिन्न जडिबुटी खान्थे । गुना बाँदरको शिकार गर्ने गर्थे ।
पैसा छोए पाप लाग्छ भन्ने उनीहरू प्रकृतिमै रमाएका थिए । उनीहरू बिरामी परेपनि जडिबुटीले निको भइहाल्थ्यो । उतिबेला बिरामी कम पर्थे । राउटे समुदायका सदस्य पहिलेको तुलनामा बिरामी भएर थलिन पनि थालेका छन् । ‘पहिले जंगलमै औषधिमूलो गथ्र्यौं, सन्चो हुन्थ्यो’, सहायक मुखिया सूर्यनारायणले भने, ‘अहिले धेरै बिरामी हुन्छौं, जंगली औषधिले पनि काम गर्न छोड्यो ।’
राउटे मुखिया महिनबहादुर शाहीका अनुसार पहिले ज्वरो, निमोनिया, आउँ हैजा, पखाला, केही रोग लाग्थेन । पछिल्ला केही दशकयता उनीहरूको स्वास्थ्य निकै कमजोर बनेको छ । रोगले कतिपयको त अकालमै मृत्यु भरहेको छ । घनाजङ्गलमा बस्न रुचाउने राउटेहरू अचेल अन्य समुदाय नजिक र शहरबजार आसपासमा बस्न थालेका छन् ।
बाह्रैमास घलेकको भरमा आधा जीउ ढाक्ने राउटेहरूलाई पछिल्ला केही वर्ष यता गर्मी र जाडो दुवैले उत्तिकै सताउने थालेको छ । राउटेले चिसोमा ह्वात्तै चिसो, गर्मीमा ह्वात्तै गर्मीको महसुस गर्ने गरेका छन् । त्यतिमात्र होइन आफूहरू बस्ने जंगल छेउमा समेत लामखुट्टे देखापर्न थालेको उनीहरू बताउँछन् । जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरका अनुसार, कर्णालीमा पछिल्लो समय तापक्रम वृद्धि हुँदै गएको जानकारी दिएको छ । कार्यालय प्रमुख विनोद पराजुलीले पछिल्लो दशकमा तीव्र रूपमा तापक्रम वृद्धि भइरहेको बताए ।
विभागले गरेका अध्ययन अनुसार कर्णालीको हिमाली भू–भागमा प्रतिवर्ष ०.०७४ सेन्टीग्रेट र दैलेख, सल्यान, जाजरकोट र सुर्खेतका भुभागमा ०.०६ सेन्टीग्रेटका दरले तापक्रम बढेको पराजुलीले जानकारी दिए । ‘कर्णालीमा जति उपल्लो भूभाग उति तापक्रम वृद्धि भइरहेको छ’ पराजुली भन्छन्, ‘तापक्रम वृद्धिसँगै यो क्षेत्रमा अतिवृष्टि र अनावृष्टि पनि भइरहेको छ ।’
पराजुलीले जलवायु परिवर्तनका कारण छोटो समयमा वर्षा आउने र बाढी आउने भएको बताए । ‘वर्षाको मात्रा बढी छ र लामो समय खडेरी पर्ने गरेको छ’ पराजुलीले भने, ‘पछिल्लो समय मुख्य रूपमा खडेरी र बाढीको समस्या देखिएको छ ।’
यसले गर्दा ग्रामीण क्षेत्रमा पानीका मुहान सुक्ने समस्या देखिएको छ । राउटे समुदाय जंगलका पात पतिंगर हागाबिंगा, प्लाष्टिक, त्रिपालहरू प्रयोग गरेर छाप्रो बनाएर बस्छन् । यस्ता छाप्रोहरू बढ्दो तापक्रम, मुसलधारे पानी, हावाहुरी सहन सक्दैनन् । जसका कारण छाप्रा मर्मत गर्ने कार्यबोझ बढ्ने, भएका खाद्यान्नको क्षति हुने र महिला बालबालिका तथा वृद्धहरू थप संकटमा पर्न सक्छन् ।
काठ नपाउँदा हराउँदै परम्परागत पेशा
काठका सामाग्री बनाएर धान र कपडासँग साट्ने राउटे समुदाय आजभोलि काठका सामाग्री बनाउन छाड्दै गएका छन्् । प्राय काठका लागि प्रयोग हुने वनस्पति टुनी, सिमल, खमारी जातका रुख पनि मासिँदै गए । यो जातको काठ कमलो हुनाले उनीहरू यहीबाट विभिन्न भाँडाकुडाँ बनाउँथे । जंगल मासिदै गएपछि यी रुखहरू मासिँदै जाँदा काठको अभावमा यो समुदायको परम्परागत पेशा हराउँदै गएको छ ।
डिभिजन वन कार्यालय सुर्खेतका सहायक वन अधिकृत प्रसान्त श्रेष्ठका अनुसार जंगलमा वर्षेनी डढेलोका कारण वनस्पतिहरू लोप भइरहेको बताए । ‘१० वर्षअघि सुर्खेतको जंगलमा एक सय ९१ वटा आगलागीका घटना भएका थिए तर यो वर्ष चार सय ४८ वटा घटटा भए’ श्रेष्ठले भने, ‘यो तथ्यांक हेर्दा आगलागीका घटना बढ्दोक्रममा रहेको देखिन्छ ।’
आगलागीका कारण यो वर्ष मात्र ११ हजार हेक्टर भन्दा बढी क्षेत्रफलमा क्षति पुगेको जिल्ला वन कार्यालयका प्रमुख गोविन्दप्रसाद दाहालले बताए । आगलागीका कारण धेरैजसो वनस्पतिहरू पाइनै छाडेका छन् । काठको अभाव भएपछि राउटे समुदाय व्यवस्थापन गरिदिन माग गर्दै कार्यालयमा समेत धाउने गरेको कार्यालय प्रमुख दाहालले बताए ।
वन तथा वातावरण मन्त्रालयले प्रकाशन गरेको संकटापन्न र जोखिम विश्लेषण तथा अनुकुलनका उपायको पहिचान सम्बन्धि प्रतिवेदन अनुसार, सुर्खेत जिल्ला खडेरी र डडेलोको उच्च जोखिममा छ ।
त्यसैगरी राउटे समुदाय बस्ने जिल्लाहरू (कालिकोट, दैलेख, सुर्खेत, सल्यान, डडेलधुरा) जलवायु परिवर्तनको असरबाट प्रभावित भएको र यी जिल्लाहरू समग्र रूपमा उच्चदेखि अति उच्च संकटमा रहेको देखाएको छ ।
‘राउटे देख्दा लुक्न जान्थ्यौँ’
केही वर्ष पहिला राउटे समुदायका व्यक्ति विरलै मात्रामा समुदायमा आउने गर्थे । काठका भाँडाकुडाँ ल्याएर धान लैजान्थे कतिपयले काँचो कपडा लैजान्थे । गाउँमा आएको बखत बारीमा साग देखेमा कसैलाई नसोधी टिपेर लैजान्थे ।
राउटेको यस्तै हो चलन भनेर कसैले केही पनि प्रतिक्रिया नदिएको गुर्भाकोटका समाजसेवी किरण वली बताउँछन् । ‘हामी सानो छँदा राउटे आयो भन्ने बित्तिकै लुक्न जान्थ्यौ’ वलीले हाँस्दै भने, ‘खाना नखाएर दुःख दिने केटाकेहटीहरूलाई राउटेले लैजान्छ भन्ने बित्तिकै खाना खाने र अभिभावकले भनेको मान्थे ।’
पहिले राउटे समुदायका व्यक्तिहरू अन्य समुदायमा घुलमिल हुन्थेनन् । ‘आजभोलि उनीहरू होटलमा आएर मदिरा माग्छन् । त्यतिमात्र होइन राउटे समुदायलाई दिएको राहतहरू मदिरासँग साटेर खाने गर्छन् ।’
पछिल्लो समय राउटे समुदाय केही परिवर्तन भए पनि दैनिकी अझै कष्टकर बन्दै गएको देखिन्छ । ‘पहिले गुना बाँदर पाइन्थ्यो र सजिलो थियो’ मुखिया महिनबहादुर भन्छन्, ‘अहिले हामीलाई समस्या छ ।’ त्यतिमात्र होइन राउटे समुदाय बस्ने खानेपानीका मुहान सुक्न थालेपछि उनीहरूको दैनिकी कष्टकर बन्दै गएको छ ।
घट्दै राउटेको संख्या
गएको असार महिना अघि राउटे समुदायका सात महिने बच्चा मयो शाहीको निधन भयो । आफ्नो समुदायका कुनै सदस्यको मृत्यु भएमा बसाईं सर्ने राउटे समुदाय बच्चाको मृत्यु हुँदा भने बसिरहेको ठाउँ छाडेनन् । बच्चाको निधन भएको एक सातापछि ३४ वर्षीय दलबहादुर शाहीको निधन भयो ।
बच्चा भएकाले बस्ती नसरेको राउटे समुदाय युवा दलबहादुरको निधन भएपछि राउटे समूदाय बसाई सर्ने तर्खरमा थियो । बसाईं सर्ने तयारी गरिरहेकै बेला २१ वर्षीय मानसिंङ शाहीको पनि मृत्यु भयो । लगातार राउटेहरूको निधन भएपछि राउटेहरू सुर्खेतको गुर्भाकोट नगरपालिका वडा नम्बर एकबाट बसाईं सरेर सल्यानको वनगाढ कुपिण्डे नगरपालिकामा आएका छन् ।
राउटे युवा दलबहादुरको मृगौलामा समस्या थियो । गलत खानपान र हेरचाहको कमीका कारण राउटे समुदायमा संख्या घटिरहेको उक्त बस्तीमा काम गर्दै आएकी दुर्गा खत्रीले बताइन् । ‘राउटे समुदायमा बाहिरकाले भनेको मान्दैनन्’ उनले भनिन्, ‘उनीहरूको गलत व्यवहारले गर्दा नै राउटे समुदाय संकटमा परिरहेको छ ।’
विगत एक दशकअघि राउटे उत्थान प्रतिष्ठानका अध्यक्ष एंव राउटेहहरूकी भान्जी सत्यदेवी अधिकारी राउटे बस्तीमा पुग्दा राउटेहरूको संख्या दुई सय ६८ थियो । त्यो संख्या घटेर एक सय ३७ पुगेको छ ।
वर्षेनी राउटेहरूको संख्या घट्दै गइरहेको प्रतिष्ठानका अध्यक्ष अधिकारीले बताइन् । एक दशकको अवधिमा मात्र एक सय ३१ जना राउटेहरूको संख्या घटेको देखिन्छ । ‘राउटे समुदायमा कार्यक्रम लगेर मात्र हुँदैन उनीहरूले स्वीकार गर्ने खालका कार्यक्रम लैजानुपर्छ’ अधिकारीले भनिन्, ‘यसमा सरोकारवाला निकाय सबैले ध्यान दिन आवश्यक छ ।’
राउटे बस्तीमै बसेर उनीहरूको छाप्रोमा बसेर संख्या गनेको उनले बताइन् । ‘म राउटेहरूका भान्सामा बसेर उनीहरूसँगै रहेर उनीहरूको संख्या लिएको हो’ उनले भनिन् ‘तर अहिले आधा संख्यामा घटेका छन् उनीहरू ।’यसरी राउटेहरूको संख्या घट्दै जाने हो भने राउटे समुदायको अस्तित्व नै हराएर जाने सम्भावना रहेको अधिकारीले बताइन् ।
राउटेहरू रूपान्तरणको क्रममा रहेकाले पनि यो अवस्थामा उनीहरू संकटमा रहने सामाजिक विकास मन्त्रालयका महिला विकास अधिकृत अनिता ज्ञवालीले बताइन् । ‘पहिला उनीहरू प्रकृतिमै रमाएका थिए विस्तारै परिवर्तन हुन थालेका छन् । परिवर्तनको अवस्थामा रहेकाले पनि संकटमा रहेका हुन्’ ज्ञवाली भन्छिन् ‘उनीहरूले पाएको भत्ता मदिरा खाने भएको कारण भत्ताको सट्टा आवश्यक सामाग्रीहरू नै दिएमा प्रभावकारी हुन सक्छ । यस विषयमा छलफल गर्नु आवश्यक छ ।’अत्यधिक मदिरा सेवन गर्न थालेपछि उनको मदिराकै कारण ज्यान गएको हुन सक्ने राउटे बस्तीमा काम गर्दै आएका स्वास्थ्यकर्मी तिलक बिसीले बताए ।
विसीका अनुसार, राउटे समुदायमा बालवालिकाहरू कुपोषण र स्याहारका कमी र युवाहरू मदिरा सेवनका कारण ज्यान जाने गरेको छ । यही गतिमा राउटेको संख्या घट्दै गएमा राउटे समुदायको अस्तित्व संकटमा पर्ने सम्भावना रहेको उनको भनाइ थियो ।
यता आन्तरिक मामिला तथा कानुन मन्त्री सीता नेपालीले राउटे नीति ल्याउन लागेकाले यसबाट उनीहरूको अधिकारलाई संरक्षण हुने बताइन् । सरकारले ल्याउन लागेको राउटे नीतिमा उनीहरूको सुरक्षा र संरक्षणका विषयलाई जोड दिइएको नेपालीको भनाइ छ ।
मानवअधिकारकर्मी गीता कोइरालाले नेपालकै पहिचानको रूपमा रहेको राउटे समुदाय लोप हुन लागेकामा चिन्ता व्यक्त गर्छिन् । ‘हिजोका त्यति धेरै संख्यामा हुने राउटे समुदाय उनीहरूको संख्या वर्षेनी घटिरहेको छ’ उनी भन्छिन्, ‘जंगलबाट टाढा मानव वस्तीको नजिक जान थालेपछि उनीहरू संकटमा परेका छन् ।’
यही क्रमले राउटेको संख्या घट्दै गएमा राउटे समुदाय पनि एकादेशको कथामा सीमित हुने अधिकारकर्मीहरुको भनाइ छ । यसका लागि राज्यले समयमै राउटेको सुरक्षा र संरक्षणको लागि विशेष कार्यक्रम ल्याउन जरुरी रहेको छ ।
राउटेको अस्तित्व जंगल संरक्षणमा
झट्ट हेर्दा राउटे र जंगल फरक रूपमा रहेतापनि राउटेको जंगलसँग नजिकको सम्बन्ध छ । जंगल मासिँदै गर्दा राउटेको अस्तित्व संकटमा परेको सरोकारवालाहरू बताउँछन् । पछिल्लो समय जंगल छोडेर मानव वस्ती नजिक राउटे समुदाय बसोबास गर्न थालेपछि यिनीहरूको अस्तित्व संकटमा परेको राउटे संरक्षणका अभियन्ता एव अधिकारकर्मी हिरासिंह थापा बताउँछन् । ‘पछिल्लो समय बस्तीमा आएपछि विस्तारै मदिरा खान थालेका छन्’ उनी भन्छिन्, ‘जसले गर्दा यिनीहरूको संख्या घट्दै गइरहेको छ ।’
पछिल्लो समय दिनानुदिन जंगल मासिँदै छ । आगलागी होस् या अन्य कारण वन जोगाउनुको साटो फडानीतर्फ मानवीय क्रियाकलापहरू अघि बढेका छन् । त्यतिमात्र होइन बाढी–पीडित होस् या आगलागी पीडित उनीहरूलाई स्थापित गर्दा जंगल नै रोज्ने प्रवृत्ति बढेको छ । यसले गर्दा जंगल फडानी हुने गरेको छ ।
यतिमात्र होइन, राउटे समुदाय पनि नयाँ वस्ती सरेमा जंगल फडानी गर्छन् । हाल राउटे समुदाय ४६ परिवार संख्यामा छन् । बसाइँसराईं गरी प्रत्येक नयाँ ठाउँमा जाने बित्तिकै यिनीहरूले नयाँ नयाँ झुप्रो बनाइहाल्छन् । जङ्गलबाट काठ काट्दा पनि ठूलो रुख काट्ने नभई स–साना पोथ्राहरू काट्छन् ।
एक ठाउँबाट अर्को ठाउँमा वस्ती सरेर जाँदा जंगलका पोथ्राहरू काटेर नयाँ संरचना निर्माण गर्छन् । यसले गर्दा उनीहरू जति ठाउँमा बसाई सर्छन् उति धेरै वन फडानी हुन्छ । यसरी जंगल मासिँदै जाँदा जंगलमा आश्रित रहँदै आएका राउटेहरूको अस्तित्व नै संकटमा पर्दै जान थालेको छ । त्यसकारण राउटेको अस्तित्व संरक्षणको लागि जंगल जोगाउनु अपरिहार्य देखिन्छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया