समाज

विमानस्थलमा प्राधिकरणको मनोमानी: अनधिकृत ढंगले स्‍टल भाडामा

अतिन आचार्य |
असोज २०, २०७८ बुधबार १३:३३ बजे

काठमाडौँ-  त्रिभुवन अन्तर्राष्‍ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल कक्षमा दुईवटा व्यवसाय अनधिकृत रूपमा सञ्‍चालनमा आएका छन् । यसअघि यात्रु आगमन कक्षबाहिर सञ्‍चालनमा रहेका ट्राभल र सिम कार्ड बिक्री गर्ने पसल अनधिकृत रूपमा सञ्चालनमा आएका हुन् ।

नागरिक उड्डयन प्राधिकरणले  दुईवटा पसललाई विमानस्थलबाहिर व्यवसाय सञ्चालन गर्न अनुमति दिएको थियो । विमानस्थलले उनीहरूलाई बिना टेण्डर टर्मिनल कक्षमा व्यवसाय गर्न दिइरहेको छ । सरकारी कार्यालय आफ्नो जग्गा भाडामा लगाउनुपर्दा सार्वजनिक रूपमा टेण्डर आह्‍वान गर्नुपर्छ ।


दुवै पसलले सम्झौता अवधिभन्दा धैरै समयसम्म व्यवसाय सञ्चालन गरिरहेका छन् । मनोमानी ढंगले टर्मिनल कक्षमा व्यवसाय गर्न अनुमति दिएकाे प्राधिकरणसँग ती दुई व्यवासायीले तीन र पाँच वर्षसम्मका सम्झौता गरेका थिए । यसरी अनधिकृत रूपमा पसल सञ्चालन गर्न पाएकाहरु ट्रमिनलमा हाईल्याण्ड नेपाल र इस्ट वेस्ट ट्राभल एण्ड टुर हुन् ।

प्राधिकरणअन्तर्गतको कर्पोरेट महाशाखाले निर्णय गरेर दुई व्यवसायीलाई सम्झौता अवधि सकिए पनि टर्मिनल कक्षमा व्यवसाय गर्न दिएको हो । २०७७ पुस २ गते महाशाखाले निर्णय गरेको थियो ।

यसअघि दुई व्यवसाय यात्रु आगमन कक्षको बाहिरी भागमा सञ्चालन हुने गरेको थियो । यात्रु आगमन हुने टर्मिनल भवनको उत्तरपट्टि भागमा ट्राभल ३ दशमलव ४० वर्ग क्षेत्रफलमा उक्त काउन्टर र भुई तलामा हाइल्यान्डस नेपालको ७ दशमवल ८४ क्षेत्रफलमा सञ्चालनमा थियो ।

भौतिक संरचना निर्माण गर्नुपर्ने भएकाले विमानस्थल बाहिरपट्टि सारेकाले सोही स्थानमा गरेको व्यवसाय हटाइएको थियो । व्यवसायीले सम्झौता भए बमोजिम क्षेत्रफल नपुग्‍ने भएकाले २०७७ मंसिरकाे पहिलो साता क्षेत्रफल बढाई पाउँ भनी माग गरेका थिए ।

हाइल्यान्डस नेपाललाई १३ दशमलव ९४ वर्ग मीटर क्षेत्रफल उपलब्ध गराएको थियो । प्राधिकरणसँग २०७२ मङ्सिर १६ गते भएको थियो । पाँच वर्षका लागि ७७ लाख ७७ हजार ७ सय ७७ रुपैयाँ तिर्ने गरी सम्झौता भएको हो ।

संरचना निर्माण गर्ने भएपछि व्यवसायीलाई उक्त स्थानबाट हटाइएको थियो । सम्झौता अवधि समाप्‍त भएपछि उनीहरूले अदालतमा मुद्दा हालेका थिए । २०७४ वैशाख १३ गते सम्झौता सकिएको थियो ।

अदालतले अन्तरिम आदेश जारी गरेपछि उनीहरूले सोही ठाउँमा व्यवसाय गर्न गाह्रो भएकाले थप स्थान माग गरेका थिए । कर्पोरेट महाशाखाले हाइल्याण्डसलाई आफ्नै खर्चमा व्यवसाय गर्न अनुमति प्रदान गरेको थियो । हाइल्याण्डले विदेशबाट आएका नागरिकलाई नेपाल टेलिकम तथा एन सेलको सीम बिक्री वितरण गर्दै आएको छ ।

त्यसैगरी तीन वर्षाका लागि सम्झाैता गरेकाे इष्ट एण्ड बेष्‍ट इन्टरनेशनलले २०६८ देखि व्यवसाय गर्दै आइरहेको छ । उक्त तीन वर्षको सम्झौता अवधिमा १५ लाख १५ हजार रुपैयाँ भाडा तिर्ने गरी सम्झौता भएको थियो ।

अदालतको आदेश लिएर दुईवटा पसल सञ्चालनमा आइरहेको प्राधिकरणको कर्पोरेट महाशाखाका प्रमुख त्रिलोचन पौडेलले बताए । उनका अनुसार यात्रु बाहिर निस्कने ठाउँमा विदेशीलाई हाइल्याण्डले सिम कार्ड बिक्री गर्ने गरेका छन् ।

अदालतमा मुद्दा विचाराधीन अवस्थामा रहेकाले प्राधिकरणले केही गर्न नसक्ने पौडेलले प्रस्ट पारे । 'सुरुदेखि सोही स्थानमा व्यवसाय गरिरहेका छन,' उनले भने,' स्थान अभाव भएकाले पछि थोरै ठाउँ मात्र उपलब्ध गराएका हौ ।' अदालतले मुद्दा किनारा नलगाएसम्म पसल सञ्चालन गर्नका लागि टेण्डर गर्न नमिल्ने प्राधिकरणले जनाएको छ ।

यात्रुको आगमन कम हुने भएपछि व्यापारीले ठाउँलाई अभाव भएको थियो । व्यापारीले बिक्री वितरणका लागि स्थान बढाउन माग गरेपछि थोरै क्षेत्रफल मात्र उपलब्ध गराएको पौडेलले बताए । 'माग गरिएको भन्दा थोरै मात्र क्षेत्रफल बढाएर दिएका हौ,' उनले भने ।

 

 


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x