समाज

राष्ट्रपति, प्रधानमन्त्री र गृहमन्त्रीसँग न्याय माग्नुपर्ने देशका नागरिकको व्यथा

ननकुन्‍नीलाई न्याय दिलाउन बाँकेबाट पैदल हिडेर काठमाडौँमा

अतिन आचार्य |
असोज २१, २०७८ बिहीबार १८:३० बजे

काठमाडौँ- ननकुन्नी धोबीको विवाह १० वर्ष अगाडि भयो । विवाह गर्दा उनी २१ वर्षकी थिइन् । जुनबेला उनलाई विवाह भनेको केही थाहा थिएन् । मात्र थाहा थियो, लोग्नेको घर भारत जाँदैछु । आफूभन्दा आठ वर्ष बढी उमेर रहेका पुरूषसँग उनको विवाह भएको थियो ।

ननकुन्नी बाँकेस्थित जानकी गाउँपालिका २ मा रहेको आफ्नै घरमा बसेकी थिइन् । सन्तानः नभएपछि लोग्नेको घरबाट फर्केर माइतीमा बसेकी थिइन् ।


परिवारको सल्लाहमा उनले सात वर्ष अघि रामकुमार धोबीसँग विवाह गरिन् । रामकुमारसँग पनि उनका सन्तान भएका थिएनन् । उनीहरूको घरमा बारम्बार झगडा परिरहन्थ्यो । यस्तो बेला घरबाट भागेर माइती गएर बस्थिन ननकुन्नी । घरेलु हिंसाकै कारण उनी बारम्बार माइतीको सहारा लिन पुग्थिन् ।

तर सधैँ माइती बसेर हुन्थेन । झगडा थोरै साम्य भएपछि ननकुन्नी पतिकै घर फर्कन्थिन् । तर गत साउन ५ गते उनले माइत जाने मौकै पाइनन् । त्यो दिन ननकुन्नीको शरीर घरको दलिनमा झुन्डिएको पाइयो । सुख शान्तिको खोजीमा दोस्रो विवाह गरेकी ननकुन्नीको खुशी हैन जीवन नै खोसेको परिवारको आरोप छ । तर आफ्नो छोरीको हत्या भएको आशंकामा प्रहरी प्रशासनले चासो नदिएको भन्दै ननकुन्नीको परिवार न्याय खोज्दै काठमाडौँ आइपुगेको छ ।

  बाँकेमा नपाएको न्याय काठमाडौँले दिन्छ भन्ने आसमा यतिखेर परिवार तातो सडकमा लङ मार्च गर्दै आएका छन्।

'दिदीलाई विवाह गरेपछि भेनाले दाइजोको रुपमा मोटरसाइकल मागिरहेका थिए । यही निहुँमा भेनाले दिदीको हत्या गरे,' नेपालगञ्जबाट पैदल आएका कुर्मीको भाइ माता प्रसाद धोबीले बताए ।

उनीहरूले असोज १ गतेदेखि नेपालगञ्जबाट हिड्न सुरु गरेका थिए । रातभर हिँड्ने र दिनमा आराम गर्ने गर्दै उनीहरु काठमाडौँ आएका हुन् । दिउँसो गर्मी हुने भएकाले रातको समयमा बढी हिडेको उनले बताए ।

उनीहरूले बाँकेमा रहँदा न्याय पाउन सकेनन् । बाँकेमा नपाएको न्याय काठमाडौँमा पाउने आशामा उनी जस्तै १६ जना बिहीबार मध्यान्ह त्रिपुरेश्‍वरको दशरथ  रंगशाला आइपुगेका हुन् । उनीहरु यहीँ बसेका छन् ।

रंगशालाको गेट अगाडि भुईमा छाता र झोला राखेर उनीहरु न्यायको लडाइँ लड्न कस्सिएका छन् । २० दिन लगातार हिडेर आएका उनीहरूले राम्रोसँग थकाइ मार्न पनि पाएका छैनन् । कसैको खुट्टामा चप्पलले घाउ बनाएको छ त लगातारको हिडाइले कसैको जिउ थिलथिलो बनाएको छ। छाता र लठ्ठीको सहारामा उनीहरुले सडक मार्च गरेका थिए । तर रंगशाला अघि प्रहरीले बस्न नदिएपछि उनीहरु नजिकैको पेट्रोल पम्पमा बस्न थालेका छन् ।

'सार्वजनिक स्थानमा बस्न पाइँदैन भनेर बस्न दिएनन्,' माता प्रसादले भने । उनका अनुसार प्रहरीले उनीहरुलाई न्याय माग्नलाई भृकुटीमण्डप वा माइतीघरमा गएर बस्नु भन्दै धपाएको थियो तर उनीहरु नजिकैको पेट्रोल पम्पमा गएर बसे ।

'नेपालगञ्जबाट दिदीको लागि न्याय माग्न आएका हौँ, हामी यहाँ घर बनाउन आएका होइनौँ,' प्रहरीले बस्न नदिने भएपछि उनीहरुले भनेका थिए तर प्रहरीले उनीहरुको कुरा सुनेन ।

कुन्नीका आफन्तले उनलाई श्रीमानले घरमा हत्या गरेको किटानीसहित जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालय बाँकेमा मुद्दा हालेका थिए । तर बाँके प्रहरीले मुद्दामा खासै चासो देखाएन । ' हामीले उल्टै प्रहरीबाट अपमानित हुनुपर्यो । यहाँबाट न्याय पाइँदैन भन्ने लागेपछि हामी काठमाडौँ आउन बाध्य भयौँ,' भाइले भने ।

बिहीबार आज घटस्थापनाका कारण सार्वजनिक बिदा परेकाले सरकारी निकायका अधिकारीलाई भेटन पाएनन् । भोलिदेखि उनीहरूको राष्‍ट्रिय मानव अधिकार आयोग, राष्‍ट्रिय महिला आयोग, राष्‍ट्रपति, गृहमन्त्री तथा प्रहरी अधिकारीलाई भेटने कार्यक्रम छ ।

उनीहरूले गत मङ्सिरदेखि हराइरहेकी निर्मला कुर्मीका लागि पनि न्याय मागिरहेका छन् ।  दुई छोरीकी आमा निर्मलालाई किन र कसले बेपत्ता पार्‍यो ? त्यसका पछाडि के–कस्ता कारण जिम्मेवार छन् भन्नेबारे पनि उनीहरू जान्न चाहन्छन् ।

कुर्मी हराएपछि उनका परिवारले स्थानीय प्रहरीमा किटानी जाहेरी दिए पनि प्रहरीले गरेको अनुसन्धानप्रति सन्तुष्‍ट हुन नसकेको उनीहरूको गुनासो छ । हिन्दु धर्मावलम्बीहरूको महान चाँड दसैं भित्रिएको छ । उनीहरूलाई यतिबेला चाडपर्व भन्दा पनि न्याय ठूलो लागेको छ ।

उनीहरूलाई स्थानीय सहयोगी संस्था राष्‍ट्रिय महिला अधिकार मञ्चले सहयोग गरेको छ । मञ्चकी अध्यक्ष रुबी खान र सदस्य सकिना तेली छिन् । न्याय नपाएसम्म उनीहरूले पनि नकुन्नीको भाइ माताप्रसादको जस्तै अडान दोर्‍याए ।न्याय नपाएसम्म काठमाडौँ नछाडने,  रिले अनसनदेखि अन्य अनसनसमेत योजना रहेको अध्यक्ष खानले बताइन् । 'दुई महिलाले पाएको अन्याय विरुद्ध हामीले लामो दूरी पार गरेर आवाज बुलन्द पार्न खोजेका हौ,' उनले भनिन् ।

प्रदेशको मुख्यमन्त्रीलाई पनि खानले दुवै घटनाबारे जानकारी गराएकी थिइन् तर यहाँ उनले आश्वासन मात्र पाइन् । 'प्रदेश सरकारबाट आश्‍वासन मात्र पाएकाले केन्द्र सरकारलाई ढकढक्याउन आउन परेको छ,' उनले भनिन् ।

स्थानीयको विरोधपछि ननकुन्नीका श्रीमान थुनामा छन् । अहिले रामकुमार थुनामा रहेपनि उनले उन्मुक्ति पाउन सक्ने परिवारलाई आशंका लागेको छ । जिल्लामा प्रहरीले कुन्नीको हत्या अनुसन्धानमा कुनै पनि सहयोग नगरेको उनले आरोप लगाइन् ।


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x