समाज

बढी भाडा असुल्न खोज्ने नौ बिचौलिया पक्राउ

इकागज |
असोज २१, २०७८ बिहीबार १९:२५ बजे

काठमाडौँ – चाडपर्वको मौका छोपेर यात्रुसँग बढी भाडा असुल्न खोज्ने नौ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौबाहिर जाने यात्रुसँग तोकिएभन्दा बढी भाडा लिन खोज्ने ती व्यक्तिलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले शुक्रबार पक्राउ गरेको हो ।

दसैं, तिहारको समयमा हुनसक्ने ठगीलाई ध्यानमा राखेर महाशाखाद्वारा परिचालित टोलीले उपत्यकाका विभिन्न क्षेत्रमा गरेको जाँच, अनुसन्धानका क्रममा उनीहरूलाई पक्राउ गरिएको महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराईले जानकारी दिए । पक्राउ पर्नेमा चितवनको भरतपुर घर भएका ३८ वर्षीय समीर श्रेष्ठ, धनकुटाका ३० वर्षीय किरण लिम्बू र सुनसरीका २८ वर्षका सविन राई छन् ।


यस्तै टिकट काउन्टरको कर्मचारी हुँ भन्दै भाडा बार्गेनिङ गर्ने काठमाडौं बस्दै आएका ४६ वर्षीय राज ठकुरी, दाङ घोराहीका २९ वर्षीय विशाल गुरुङ र कैलालीका रमेश कठायतलाई काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरूलाई आवश्यक कारबाहीका लागि प्रहरी प्रभाग नयाँ बसपार्कमा बुझाइएको महाशाखाले जनाएको छ ।यस्तै कलंकीबाट ३९ वर्षीय नवीन केसी, बल्खुबाट शुभयात्री काउण्टरमा काम गर्ने निजगढका अरुण मगर र जाजरकोट घर भई कीर्तिपुर बस्ने नारायणी काउन्टरका विनोद रानालाई पक्राउ गरी कारबाहीका लागि प्रहरी वृत्त कालीमाटीमा बुझाइएको महाशाखाले जनाएको छ ।  

चाडपर्वका समयमा उपत्यकाबाट बाहिरिने यात्रुको चाप अत्यधिक हुने गर्दछ । भिडभाडको मौका छोपी यात्रुलाई ठगी गर्ने, बढी भाडा लिने, दोहोरो टिकट काट्ने समूहलाई नियन्त्रण गर्न ट्राफिक प्रहरीले विशेष निगरानी एवम् अनुगमन गर्न टोली परिचालन गरिएको एसएसपी भट्टराईले बताए । यसका साथै महाशाखाले उपत्यकाका १४ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरी यात्रुका समस्या समाधान गर्दै आएको छ ।


Author

थप समाचार
x