समाज

गाड्न लागेको युवतीको शव प्रहरीको नियन्त्रणमा

इकागज |
असोज २२, २०७८ शुक्रबार १६:३९ बजे

वीरगन्ज - गाड्न लागेकै अवस्थामा पर्सामा एक किशोरीको शव प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । वीरगन्जको मुर्ली स्थित आफनो दिदिको घरमा बस्दै आएकी भारतको बिहार पश्चिमी चम्पारण जिल्लाको इनर्वाकी एक १४ वर्षिया किशोरीको शव शंकास्पद अवस्थामा नियन्त्रणमा लिएको प्रहरीले जनाएको हो । 

शंकास्पद मृत्यु भएकी जयुनत खातुनको शव अभिभावक र आफन्तले प्रहरीलाइ थाहै नदिइ कब्रस्तानमा विहीबार साँझ लगेर गाड्न लागेकै अवस्थामा प्रहरीले नियन्त्रणमा लिएर शव वीरगन्जको नारायणी अस्पतालको शवगृहमा राखेको छ ।


हतार हतार गरेर शव कब्रस्तानमा लगेर गाड्न लागेको जानकारी प्रहरीलाई प्राप्त भएपछि प्रहरीको टोली कब्रस्थानमै पुगेर शव गाड्न लागेका ९ जनालाई नियन्त्रणमा लिएर आवश्यक छानबिन गरिरहेको  पर्साका प्रहरी उपरीक्ष्राक बेल बहादुर पाण्डेले बताए । 

प्रहरी उपरीक्षक पाण्डेका अनुसार मृतक किशोरीको घाटीमा नील डाम पनि देखिएको छ । तर प्रहरीलाई प्राप्त सूचना अनुसार किशोरीमाथि जबरजस्ती करणीको घटना भएको तथा र त्यस क्रममा अत्याधिक रक्तश्राव भएर उपचारको क्रममा खातुनको मृत्यु भएको भन्ने खबर प्राप्त भएकोले मृत्युको कारण आत्महत्या हो वा जबरजस्ती करणीले भन्ने विषय शवको पोष्टमार्टम पछि मात्रै थाहा हुने उनले बताए । 

प्रहरी नियन्त्रणमा रहेका मृतक किशोरीका अभिभावकले भने किशोरीको शरीरमा देखिएको दादको समस्याको उपचार गर्ने क्रममा सेवन गरेको औषधिका कारण अत्याधिक रक्तस्राव भएको तर्क गरेका छन् । प्रहरीले नियन्त्रणमा लिएका मध्ये पर्साको जगरनाथपुर गाँउपालिकाका अध्यक्ष जालीम मियाका नाती, मृतक किशोरीका आमा, बुबा समेत गरी ९ जना रहेको प्रहरी उपरीक्षक पाण्डेले जानकारी दिए ।

मृतक किशोरी जगरनाथपुर गाँउपालिकाका अध्यक्ष जालीम मियाका कान्छा छोरा जाकीर मियाकी साली रहेको बुझिएको छ ।
 


Author

थप समाचार
x