समाज

चाडबाडमा झनै सक्रिय हुनुपर्ने यी चार ‘स’

सृजना खड्का |
असोज २४, २०७८ आइतबार १४:५९ बजे

काठमाडौँ - दसैँ बिदा मिलाएर मानिसहरू सहरबाट गाउँमा जाने चाँजोपाँजो मिलाइरहँदा उनीहरू भने ड्युटीका लागि तम्तयार हुन्छन् । उनीहरू अर्थात् चार ‘स’ । चार ‘स’ अर्थात् स्वास्थ्यकर्मी, सञ्चारकर्मी, सफाइकर्मी र सुरक्षाकर्मी । जसलाई दसैँ आओस् वा तिहार, त्यसको कुनै मतलब हुँदैन । पेसागत जिम्मेवारीभन्दा चाडपर्व ठूलो लाग्दैन । अहिलेसम्म कतिओटा दसैँ सडक, अस्पताल र कार्यालयमा बिते उनीहरूसँग हिसाबकिताब छैन । 

एपीवान टेलिभिजनकी प्रस्तोता रुपा खड्का दसैँमा बिदा नबसेको धेरै भइसक्यो । सञ्चार कर्मको १९ वर्षमा उनले जम्मा तीन वर्षको दसैँ घरमा बसेर मनाएकी छिन् । ‘नेपाल वानमा काम गर्दा एक वर्षको दसैँ मनाउन भारतबाट नेपाल आएको याद छ,’ उनले सुनाइन्, ‘नत्र भने इमेज च्यानलमा काम गर्दा एक र एपीवानमा काम गरेपछि एक वर्ष बिदा बसेँ ।’ अघिल्लो वर्ष पनि सायद कोभिड संक्रमण नभएको भए बिदा बस्ने थिइनन् ।


रुपालाई दसैँ वर्ष दिनमा एकपटक परिवार, आफन्त र साथीभाइसँग बसेर रमाइलो गर्ने चाड लाग्छ । उनी दसैँलाई वर्षभरिका अनुभव साटासाट गर्ने अवसरका रूपमा लिन्छिन् । ‘त्यसैले पनि यस्ता चाडबाड बाहिरी जिल्लाबाट काठमाडौँ आएर सञ्चार कर्म गर्ने सहकर्मीहरूका लागि झन् विशेष हुन्छ,’ उनले भनिन्, ‘हामी त परिवार र साथीभाइसँग अरु बेला पनि समय बिताइहरको हुन्छौँ,’ उनले भनिन्, ‘यो समयमा कार्यालयमा आएर काम गर्नुपर्दा साथीभाइलाई पालो दिन पाउँदा खुसी लाग्छ, नमज्जा लाग्दैन ।’ रुपाले साथीहरू दसैँ मनाएर आइसकेपछि दुई छोराका लागि समय दिन केही दिन छुट्टी लिने विचार गरेकी छिन् । 

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यालय सहयोगीका रूपमा काम गर्ने संगीता केसीको पनि यो दसैँमा बिदा छैन । उनी भक्तपुर, पलासेदेखि टेकु अस्पताल धाउन थालेको २४ वर्ष भयो । यसअघिका दसैँमा उनी र उनका साथी पालैपालो गरेर ड्यटी गर्थे । पूर्णिमाको दिनसम्म आलोपालो गरेर टिका लगाउँथे ।

यो वर्ष भने उनको दसैँको टिकाको दिन पनि ड्युटी छ । दसैँमा परिवारसँग बसेर रमाइलो गर्न उनलाई पनि मन लाग्छ । ‘दसैँमा घर बस्न पाए छोराछोरी पनि खुसी हुन्थे,’ उनले भनिन्, ‘अस्पतालको जागिर खाएपछि आफूलाई मन लागेको बेला बिदा बस्न पाइँदैन । फेरि हामी बिदा बसे अस्पताल अनि बिरामीको हेरविचार र स्याहारसुसार कसले गर्छ ?’

चाडपर्वको दिन मन खल्लो पार्दै ड्युटीतिर गए पनि अस्पताल पुगिसकेपछि उनी उतै भुलिन्छिन् । ‘चाडपर्वको दिन घरबाट काममा निस्किनुपर्दा खल्लो त लाग्छ,’ उनले भनिन्, ‘तर, उता गइसकेपछि साथीभाइसँगै भुलिन्छ । उतै रमाइलो हुन्छ ।’

खोटाङकी बोना ढकालले १५ वर्ष भयो ट्राफिक प्रहरीका रूपमा सेवा दिएको । अरु बेलाभन्दा चाडपर्वका बेला धेरै खटिनुपर्ने जागिर भएकाले उनी पनि दसैँमा विरलै बिदा बस्छिन् । ‘अरु बेलाभन्दा सडकको चाप बढी हुने भएकाले चाडपर्वमा झनै खटिएर काम गर्नुपर्छ,’ उनले भनिन्, ‘केही साथीहरू दसैँ र तिहार आलोपालो गरेर बिदा बस्छन् । त्यही पनि हाम्रो बिदा हप्तौँ, महिनौँ मिल्दैन । धेरै लामो बिदा मिले दुई दिन हो ।’ 

दसैँमा आफू घर जानुभन्दा घर जानेहरूलाई बिदा गर्नु बोनाको मुख्य जिम्मेवारी हुन्छ । अघिल्लो साल ड्युटीमा खटिँदा खटिँदै उनी कोभिड संक्रमित हुन पुगिन । दसैँ खल्लो भयो । भिडियो कलबाट आमाबुवाले टिका लगाइदिए । आशीर्वाद दिए । ‘भिडियो कलमा टिका लगाइदिँदा उता उहाँहरू रुने यता म रुने गर्न थाल्यौँ,’ उनले सुनाइन्, ‘सुरुमा नरमाइलो लागेपछि पछि भिडियो कलमा भए पनि टिका लगाउन पाइयो भनेर चित्त बुझाएँ ।’

टेकु अस्पतालको ग्यास्ट्रो आइसोलेसन वार्डकी इन्चार्ज कमला पौडेलले नर्सिङ पेसामा तीन दशक बिताइसकिन् । इन्चार्ज भएकाले अस्पतालमा स्टाफलाई चिया खुवाउनेदेखि बिरामीको सिरिन्ज सकिएसम्मको ख्याल उनले राख्नुपर्छ । १४ वर्षीय छोराले चाडपर्व आएपछि ‘यो वर्ष त बिदा मिलाउनुस् है मामु’ भन्छन् ।

तर, अरु बेला बसेपछि चाडपर्वको बेला बिदा बस्न उनको मन मान्दैन । दसैँमा टिका लगाउन घर (पर्वत) नगएको उनी पाँच वर्षभन्दा बढी भइसक्यो । ‘स्वास्थ्यकर्मीको जिम्मेवारी लिएपछि घर–परिवार भनेर मात्र हुँदैन,’ उनले भनिन्, ‘रोगले चाडपर्व भन्दैन, बिरामीले दसैँ तिहार भन्दैनन् । अस्पतालमा आएका बिरामीलाई उपचार गरेर पठाउन पाउनु नै हाम्रो लागि चाडपर्व आउनु हो । 


 


Author

सृजना खड्का

सामाजिक विषयमा कलम चलाउने खड्का संवाददाता हुन्।


थप समाचार
x