समाज

मोरङमा सुरक्षा गार्डलाई गोली हानेर बैंक लुट्ने प्रयास

दुई भारतीयसहित तीन जना पक्राउ

इकागज |
असोज २५, २०७८ सोमबार १७:५६ बजे

विराटनगर - मोरङको धनपालथान गाउँपालिका–४ कर्सिया बजारमा रहेको सिटिजन बैंकको शाखामा साेमबार अपरान्ह लुटपाटको प्रयास भएको छ । लुटेरा समुहले बैंकका सुरक्षागार्डमाथि गोलीसमेत प्रहार गरेको जनाइएको छ । गोली प्रहारबाट सुरक्षागार्ड घाइते भएको बैंक स्रोतले जानकारी दिएको छ ।

अपरान्ह करिब ४ बजेको समयमा नकावधारी समुह बैंकमा प्रवेश गरी सुरक्षागार्डमाथि गोली प्रहार गरेको जनाइएको छ । घटनास्थलमा पुगेको प्रहरीले अनुसन्धान अघि बढाइसकेको जानकारी दिएको छ । लुटेरा समुहले बैंकभित्रबाट नगद लुटेको नलुटेको भन्ने यकिन हुन सकेको छैन । 


दशैं विदाको अन्तिम दिन भएका कारण बैंकमा अन्य दिनभन्दा धेरै भिडभाड रहेको मौका छोपेर लुटेरा समुहले लुटपाटको प्रयास गरेको हुनसक्ने जनाइएको छ । त्यहाँ यसअघि सिर्जना फाइनान्सको शाखा थियो । पछि सिटिजन बैंकसँग मर्ज भएर वित्तीय कारोबार सेवा प्रदान गर्दै आएको थियो ।

यसैबीच प्रहरीले लुटपाटमा संलग्न रहेको आरोपमा केही व्यक्ति पक्राउ परेको जनाएको छ । दुई जना भारतीय नागरिकसहित तीनजनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी जनार्दन जिसीले जानकारी दिए ।
 


Author

थप समाचार
x