समाज

सर्पको डसाइबाट एक युवकको मृत्यु

इकागज |
असोज ३०, २०७८ शनिबार १४:४२ बजे

फाइल फोटो

फुङ्लिङ - विषालु सर्पको डसाइबाट आज बिहान ताप्लेजुङको फुङ्लिङ नगरपालिकाका एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा फुङ्लिङ नगरपालिका–९ हाङ्देवाका २५ वर्षीय विष्णुबहादुर घतानीको रहेको छ । 

उपचारका क्रममा उनको जिल्ला अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी राकेश यादवले जानकारी दिए । दसैँको टीकाको दिन शुक्रबार राति ८ बजेतिर घतानीलाई सर्पले डसेको थियो । 


अचानक हातमा सर्पले डसेपछि सुरुमा घरमै झारफुक र घरेलु औषधि गराएका थियो । झारफुक र घरेलु औषधि गरे पनि सर्पको विषले जटिल बनाउँदै लगेपछि आज बिहान उनका आफन्तले घतानीलाई जिल्ला अस्पतालमा लगेर भर्ना गराएको थिए । अस्पताल भर्ना गरेको केही समयमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

यता उपचारका क्रममा मृत्यु भएका घतानीको शव आफन्तले बुझेका पनि प्रहरी निरीक्षक यादवले जानकारी दिए । 
 


Author

थप समाचार
x