समाज

सुर्खेत र सप्तरीमा भएका दुर्घटनामा पाँच जनाको मृत्यु

इकागज |
असोज ३०, २०७८ शनिवार १९:१ बजे

सांकेतिक फोटो

काठमाडौँ - सुर्खेत र सप्तरीमा भएका गाडी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । सुर्खेतमा मिनिबस दुर्घटना हुँदा दुई जना र सप्तरीमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो । दैलेखको बेस्तडाबाट सुर्खेत आउँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख ०१६६ नम्बरको देउती नागरिक यातायातको मिनिबस वीरेन्द्रनगरको लादेमा अनियन्त्रित भएर दुर्घटना हुँदा गम्भीर घाइते दुई जनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार मृत्यु हुनेमा दैलेखको नारायण नगरपालिका ११ का १८ वर्षीय युवा शुशिल राउत र दैलेखकै भगवती गाउँपालिका १ की ३४ वर्षीया शान्ता आचार्य रहेकी छन् । गम्भीर घाइते उनीहरुको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 


सामान्य घाइते भएका ७ जनाको सुर्खेतकै प्रदेश अस्पताल, देउती र माया नर्सिङ होममा उपचार भइरहेको छ । बस दुर्घटनापछि चालक फरार भएका छन् । 

यस्तै सप्तरीमा आज भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । सप्तरीको खडक नगरपालिका–४ अमहास्थित पूर्व–पश्चिम राजमार्गमा भएको दुर्घटनामा दुई र शम्भुनाथ नगरपालिका–८ मिलन चोकस्थित पूर्व–पश्चिम राजमार्गमा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा ५६ प २५१५ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको स ५ प ८४३४ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएर दुवै मोटरसाइकलमा सवार एक÷एक जनाको मृत्यु भएको हो । 

दुर्घटनामा बा ५६ प २५१५ नम्बरको मोटरसाइकल सवार झापाको शिवसतासी नगरपालिका–६ बस्ने २२ वर्षीय विवेक सापकोटा र स ५ प ८४३४ नम्बरको मोटरसाइकल सवार झापाको भद्रपुर नगरपालिका–४ बस्ने वर्ष २१ का दयाराम सिंह राजवंशीको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ । महोत्तरीको मटिहानी नगरपालिका–७ बस्ने ३५ वर्षीय चन्दनकुमार साह गम्भिर घाइते भएका छन् । 

घाइतेलाई उपचारार्थ विराटनगरतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । 

यसैगरी शम्भुनाथ नगरपालिका–८ मिलन चोकमा भएको दुर्घटनामा स. २ प ३३३३ नम्बरको मोटरसाइकल पछाडि सवार सप्तरीको बलान बिहुल गाउँपालिका–६ रौतहटका ४० वर्षीय प्रमोद मण्डलको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मोटरसाइकललाई पछाडिबाट ना. ५ ख ९००० नम्बरको यात्रुवाहक बसले ठक्कर दिएको थियो । बसको ठक्करले गम्भिर घाइते मण्डललाई सप्तऋषि अस्पताल लहानमा उपचार हुन नसकेपछि थप उपचारको लागि न्युरो अस्पताल विराटनगर पठाइएको थियो । उपचारको क्रममा मण्डलको मृत्यु भएको प्रनाउ काफ्लेले बताए । 

मोटरसाईकल चालक बलान बिहुल गाउँपालिका–६ रौतहटका ३२ वर्षीय अमरनाथ यादव सामान्य घाइते भएका छन् । दुर्घटनाग्रस्त बस नियन्त्रणमा लिनुका साथै चालक चितवनको माडी नगरपालिका–४ का ३७ वर्षीय सुरेश रिमाललाई प्रहरीले पक्राउ गरेको छ । 


Author

थप समाचार
x