समाज

धरान-पाथिभरा उडान

सरकारसँग मिलेर ट्राभल एजेन्सीमार्फत सिम्रिक र माउन्टेनको मनपरी भाडा असुली

यात्रुसँग ३२ हजार असुल्ने स्थानीय सरकारसँग ५ सय रुपैयाँ बुझाउने सम्झौता

अतिन आचार्य |
कात्तिक ५, २०७८ शुक्रबार १६:१३ बजे

तस्बिरः धरान होलिडेजको फेसबुकबाट

काठमाडौँप्रदेश-१ को धरानबाट तिर्थयात्रीलाई ताप्लेजुङको पाथिभरा मन्दिर दर्शन गराउन हेलिप्याड नभएको ठाउँबाट सिम्रिक र माउण्टेन हेलिकप्‍टरले हेलिप्याड निर्माण नगरी उडान भरिरहेका छन् । धरान उपमहानगरपालिकाले हेलिप्याड निर्माण नगरेकाले रंगशालाको मैदानमा हेलिकप्‍टरलाई उडान भर्न अनुमति दिएको छ ।

हेलिकप्‍टरको उडान व्यवस्थापन गरिरहेको धरान होलिडेजसँग २५ उडान भरेपछि मात्र शुल्क लिनेगरी उपमहानगरले सम्झौता गरेको छ । ट्राभलले एक यात्रुसँग ३२ हजार शुल्क असुल्ने तर, स्थानीय सरकारलाई ५ सय रुपैयाँ तिर्ने गरी सम्झौता भएको पाइएको छ । धरान क्षेत्रको पर्यटन प्रवर्द्धन गर्ने उदेश्यले उडान अनुमति दिए पनि उपमहानगरले अहिलेसम्म राजश्‍व बापतको रकम पाएको छैन ।


स्थानीय क्षेत्रमा खुलेका विभिन्‍न ट्राभल एजेन्सीहरूले एयरवेज कम्पनीसँग सम्पर्क गरी बिना मापदण्ड उडान भराउने व्यवस्था गरेका हुन् । धरान होलिडेज, एरिना ट्राभल एजेन्सीको र उपमहानगरको संयोजनमा हेलिकोप्‍टर कम्पनीले उडान भरिरहेका छन् । तर, केही दिनयता परेको लगातारको वर्षा तथा खराब मौसमको कारणले उक्त कम्पनीको उडान स्थगित भएको छ ।

व्यवसायिक उडान गर्न हेलिप्याड प्रयोग गर्नुपर्ने हुन्छ । ती दुवै कम्पनीले हेलिप्याडको प्रयोग गरेका छैनन् । व्यवसायिक सिजनल उडान गर्न पनि ती दुवै कम्पनीले उडान अनुमति समेत नलिएको पाइएको छ । सिजनल उडान गर्दा दूर्घटना भएमा सम्बन्धित उडान कम्पनी र पाइलटले जिम्मा लिनुपर्ने हुन्छ ।

नागरिक उड्डयन प्राधिकरणको बिना अनुमति खाली मैदानलाई अस्थायी हेलिप्याडको रुपमा प्रयोग गरिएको पाइएको छ । अस्थायी व्यवसायीक उडान गर्नलाई प्राधिकरणसँग अनुमति लिनुपर्ने व्यवस्था छ ।    

उपमहानगरपालिकाले समयमा हेलिप्याड निर्माण नगर्दा खेलकुद मैदान प्रयोग गर्न अनुमति दिएको छ । विगत वर्षमा पनि ट्राभल एजेन्सीहरूले उडान भरेकाले यसपटक पनि उडान भर्न उपमहानगरले स्थान उपलब्ध गराएको हो ।

सिम्रिकको हेलिकप्‍टरले घटस्थापनादेखि उडान भर्न सुरु गरेको थियो। धरान होलिडेजको व्यवस्थापनमा पाथिभरा दर्शनका लागि सिम्रिक एयरले खेलकुद मैदान रंगशालाबाट उडान भरेको थियो । त्यसको केही सातापछि एरिना होलिडेजको व्यवस्थापनमा माउण्टेन एयरलाई विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्‍ठानको हेलिप्याडलाई प्रयोगको व्यवस्था मिलाएको थियो ।

प्रतिष्‍ठानभित्रबाट रहेको अस्पतालको अस्पताल हेलिप्याडलाई प्रयोग गरी माउण्टेन एयरले उडान भरेको थियो । अस्पताल र शैक्षिक संस्थको ५ किमीको दूरीमा ध्वनी प्रदुषण गर्न नपाइने व्यवस्था छ । अस्पताल जस्तो संवेदनशील क्षेत्रबाट माउण्टेनले व्यवसायिक उडान भरेको थियो ।

अहिले भने दुवै कम्पनीका हेलिकोप्टरले रंगशालाको मैदान प्रयोग गरिरहेका छन् । हेलिप्याडबिना र सरकारी मापदण्ड उल्लघंन गरी निरन्तर व्यवासायिक उडान भरिरहेका छन् । अस्थायी व्यवसायिक उडान भर्नका लागि ती दुवै कम्पनीले प्राधिकरणसँग अनुमति नलिएको पाइएको छ ।

धरानमा विमानस्थल बन्न नसक्दा र हेलिप्याड नभएको अवस्थामा खाली मैदान प्रयोग गरी उडान भर्न अनुमति दिएको धरान उपमहानगरपालिकाका प्रमुख तिलक राई बताउँछन् । 'विगत वर्षमा जस्तै यसपालि पनि उडान अनुमति मागेकाले मैदान उपलब्ध गराएका हौ,' उनले भने ।

उपमहानगर र ट्राभल एजेन्सीको सहकार्यमा धरानको पर्यटन क्षेत्रलाई उजागर गर्न अनुमति प्रदान गरिएको उनको भनाइ छ । 'मापदण्ड विपरीत भए-नभएको यस विषयमा थप अध्ययन गरिन्छ,' उनले भने ।

उपमहानगरले सिम्रिक एयरलाई २५ वटा उडान निशुल्क प्रदान गरेको छ । २५ भन्दा बढी भएमा प्रत्‍येक उडानको ५ सय रुपैयाँ लिने राजश्‍व शाखाले जनाएको छ । उपमहानगर क्षेत्रभित्र परेकाले खाली मैदान उपभोग गर्न दिएको शाखाका एक कर्मचारीले बताए । सिम्रिक एयरवेजलाई मात्र अनुमति प्रदान गरेको छ ।

उपमहानगरपालिकामा सञ्‍चालितत होलिडेज ट्राभलले पाथिभरा दर्शन गर्न जाने यात्रुको व्यवस्थापन गरिरहेको छ । होलिडेजका सञ्‍चालक अमृत मानन्धरका अनुसार एक यात्रु बराबर ३२ हजार रुपैयाँ लिने गरिएको छ । २ घण्टामा यात्रुलाई पाथिभरा मन्दिरबाट धरान ल्याउने व्यवस्था छ ।

प्राधिकरणसँग हेलिकोप्टर कम्पनीले उडानका लागि अनुमति लिएको मानन्धरको दाबी छ । ' उडान भर्नका प्राविधिक कुराहरूको विषयमा भने ट्राभल कम्पनीलाई थाहा छैन,' उनले भने,' अस्थायी रुपमा मैदानको प्रयोग गरिएको हो ।' स्थानका लागि स्थानीय सरकारसँग अनुमति लिएको उनले प्रस्ट पारे ।

एरिना होलिडेज ट्राभलको संयोजकत्त्वमा माउण्टेन एयरले उडान भरिरहेको छ । होलिडेजका सञ्‍चालक समीर कार्कीकाअनुसार असोज ३० गतेसम्म बिपी प्रतिष्‍ठानको हेलिप्याडमा राख्‍ने सम्झौता भएको थियो । त्यहाँको अवधि सकेर अहिले भने रंगशालामा हेलिकप्‍टर राखिएको छ ।

हेलिकप्‍टरलाई रंगशालामा राखेको विषयमा थाहा नभएको कार्कीले बताए । धरानमा रहेका विभिन्‍न ट्राभल एण्ड टुर कम्पनी भएकाले राखेको हुन सक्ने उनले दाबी गरे ।

सिम्रिक एयरले धरान उपमहानगरपालिकाले हेलिप्याड राख्‍न अनुमति प्रदान गरेकाले त्यस क्षेत्रबाट उडान भरिरहको जनाएको छ । स्थानीय तहले सम्पूर्ण व्यवस्थापन गरेकाले उडान भर्ने गरेको एयरले इकागजलाई बताएको छ ।

हेलिकप्टर उडाएको १५ दिनपछिमात्रै सिम्रिकले माग्‍यो अनुमति 

स्थानीय तहले हेलिप्याड बनाउनुपर्ने व्यवस्था भएपनि हेलिप्याड निर्माण नगर्दा खाली मैदानमा हेलिकप्‍टर अवतरण गर्नुपर्ने अवस्था रहेको नागरिक उड्डयन प्राधिकरणक उपप्रबन्धक ज्ञानेन्द्र भुल बताउँछन् । यस अघि स्थानीय तहलाई हेलिप्याड निर्माण गर्न केन्द्र सरकारले बजेट व्यवस्थापन गरिसकेको छ ।

उनका अनुसार कुनै क्षेत्रमा उडान भर्दा स्थानीय विमानस्थलको टावरसँग हेलिकप्‍टरले अनुमति लिनुपर्ने हुन्छ । त्यस क्षेत्रमा उडान भर्न माउण्टेनले विराटनगर विमानस्थलको टावर र सिम्रिकले त्रिभुवन विमानस्थलसँग अनुमति माग गरेको छ ।

हेलिकप्‍टरले व्यवसायिक उडान भर्न पनि अनुमति लिनुपर्ने व्यवस्था रहेको भुलले जानकारी दिए । 'सिम्रिकले आज मात्र फ्लाइट उडानको अनुमति माग गरेको छ,' उनले भने,' प्राधिकरणले दुवै कम्पनी र पाइलटलाई सुरक्षा व्यवस्था तथा अलर्टको विषयमा जानकारी गराइएको छ ।'

हेलिप्याडका लागि के-के हुनुपर्छ ?

हेलिप्याडको सतह पिसीसीले बनेको हुनुपर्छ । १५ सेमी मोटाइ पिसीसीको तलको भाग कम्तीमा २० मिटरको हुनुपर्छ । हेलिप्याड निर्माण गरिएको भाग समथर हुनुपर्छ । समय-समयमा स्थानीय तहले मर्मत गर्नुपर्छ । हेलिप्याडको माझमा पर्नेगरी एच आकारको सेतो मार्किङ गर्नुपर्नेछ । हेलिकप्‍टर अवतर हुने दिशातिर एचको भाग माथिल्लो भागतर्फ फर्केको हुनुपर्नेछ ।


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x