समाज

जहाँ महिलाले शव घाटमा पुर्‍याउँछन्

राजकुमार आले |
कात्तिक ६, २०७८ शनिवार ७:२६ बजे

तनहुँ- नेपाली समाजमा अझै पनि पुरुषले मात्र शवलाई काँधमा बोकेर घाटमा पुर्‍याएर अन्तिम दाहासंस्कार गर्ने चलन छ । तनहुँ सदरमुकाम दमौलीमा महिलाहरूद्धारा सञ्‍चालित व्यास-५,चापाघाटस्थित वेदव्यास जेष्ठ नागरिक आश्रममा ६ वर्षदेखि बस्दै आएका ८६ वर्षीय जगतबहादुर अधिकारीको शुक्रबार बिहान निधन भयो । अधिकारीको शवलाई आश्रममा आबद्ध महिलाहरूले आफै काँध हालेर सेतीमादी घाटमा अन्तिम दाहासंस्कार गरेका छन् । ६ वर्षअघि देखि नै यहाँका महिलाहरूले महिलाले शव बोक्नु हुन्‍न भन्‍ने मान्यतालाई तोड्दै आएका छन् ।

पितृ सत्तात्मक सोचलाई परिवर्तन गर्नका लागि आफुहरूले यो अभियान चलाएको वेदव्यास जेष्ठ नगारिक आश्रमकी सचिव निर्मला मल्लले बताइन् । ‘कुनै कानुनमा पनि महिलाले शव काँध हाल्नु हुन्‍न, घाटमा जानु हुन्‍न भनेर लेखिएको छैन' उनले भनिन्,‘महिला पुरुष समान हुन् भनेर बोलिमा मात्र होइन गरेर देखाउन यो आँट गरिएको हो ।’


मल्लको अनुसार यसअघि पनि आश्रममा आश्रय लिएका मीनबहादुर बस्याल, जेठीमाया बगाले, टोलकुमारी थापा र अर्का एक गुरुङ थरका ज्येष्ठ नागरिक गरी पाँच जनाको मत्युपश्चात् महिलाहरूले नै शव काँधमा हालेर घाटसम्म पुर्‍याएका थिए ।

‘पहिलो पटक महिलाहरूले शवलाई काँध हालेको देख्दा जिब्रो टोक्नेहरू धेरे थिए । अहिले हाम्रो अभियानलाई साथ दिनेहरू बढिरहनु भएको छ । अहिले पनि रोटरी तथा रोट्रयाक क्लबमा आवद्ध महिला दिदीबहिनीहरूले साथ दिनुभयो’आश्रमकी अध्यक्ष साबित्री श्रेष्ठले भनिन् । 
 
शवयात्रामा सहभागी म्याग्दे गाउँपालिकाकी प्रमुख मायादेवी रानाले महिलाहरू मलामी जान हुन्‍न भन्‍ने संस्कार महिलाहरूलाई कमजोर बनाउन गरिएको बताइन् । उनले आश्रममा आबद्ध महिलाहरूले ६ वर्षअघि गरेको आँटले समाजमा सकारात्मक प्रभाव पारेको दाबी गर्छिन् । ‘महिलाहरू मलामी जान हुन्‍न भनिन्थ्यो तर आजभोलि महिलाहरू शव बोकेर घाटसम्मै पुग्‍ने गरेका छन् । दागबत्ती नै दिने गरेका उदाहरणहरू छन् ।’

उनले थपिन्-‘म आफै पनि गाउँपालिका अध्यक्ष भएर आएदेखि गाउँपालिकावासी कसैको मृत्यु भएपछिको शव यात्रामा सामेल भई घाटसम्मै पुग्‍ने गरेको छु ।’ पछिल्लो समय शवको काँध हाल्ने र किरिया बस्‍ने महिलाहरूको अभियानलाई समाजले पनि स्वीकार्दै गएको प्रमुख रानाको भनाई छ ।


Author

थप समाचार
x